कोरोनो पुष्टि भएपछि छैरो तिब्बतीय क्याम्प सिल
जोमसोम : हिमाली जिल्ला मुस्ताङमा ८३ वर्षीय एक वृद्ध पुरुषमा कोरोना पोजिटिभ पुष्टि भएको छ। प्रादेशिक जनस्वास्थ्य कार्यालय पोखराले शनिबार मुस्ताङमा एक व्यक्तिलाई कोरोना पुष्टि भएको जानकारी गराएको हो।
काठमाडौं जोरपाटीस्थित तिब्बतीयन शरणार्थी क्याम्पबाट २० जनाको टोलीसहित मुस्ताङ आएका संक्रमित ८३ वर्षीय वृद्ध गत जेष्ठ ३१ गते मुस्ताङ आएका थिए। उनीहरु मध्ये ८३ वर्षीय वृद्धसहित जोमसोम अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरिएको थियो। उनका ज्वाईंको आरडिटी रिपाेर्ट भने नेगेटिभ देखिएको छ । सक्रमित व्यक्तिसँगै आएका बाँकी १८ जनालाई मुस्ताङको घरपझोङ गाउँपालिका-१ छैरो तिब्बतीयन क्याम्पमा होम क्वारेन्टाइनमा बस्न लगाएको थियो।
संक्रमित व्यक्ति र उनका ज्वाईंको मुस्ताङ आउने क्रममा आरडिटी पोजिटिभ देखिएपछि असार २ गते उनीहरुको नमूना स्वाब संकलन गरी जिल्ला अस्पताल जोमसोमले पोखराको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पठाईएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी बेदप्रकाश अर्यालले जानकारी दिए।
मुस्ताङको छैरो तिब्बतीयन क्याम्प सिल
शनिबार साझ मुस्ताङको छैरो तिब्बतीयन क्याम्प आएका ८३ वर्षीय एक वृद्धमा कोरोना पोजिटिभ देखिएपछि मुस्ताङमा त्रास बढेको छ। जिल्ला कोभिड-१९ संकट व्यवस्थापन समितिले शनिबार साझनै क्याम्प सिल गरेको प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिए। संक्रमित व्यक्तिसँगै बसमा आएका १८ जना क्याम्पभित्रै रहेकाले सिल गर्नु परेको उनले बताए। उनका अनुसार आइतबार बिहान संक्रमित व्यक्तिसँगै आएका १८ जनाको कन्ट्रयाक ट्रेसिङ तथा स्वाब संकलन गरी पोखरा पठाइने प्रजिअ अर्यालले उल्लेख गरे।