जसले उठायो, उही नै पछारियो
काठमाडौं : ‘राघव तिमीलाई थाहा छ, मानिसको सफलता केले निर्धारण गर्छ ? उसले प्राप्त गरेको नतिजाभन्दा पनि कामका आधारमा मानिसको मूल्यांकन गरिन्छ। संसारमा अर्बौं मानिस छन्। तीमध्ये निकै थोरैको मात्र प्राप्तांक अब्बल आउँछ। जिन्दगीसँग जो लड्न सक्छ, ऊ नै खास हो’, बलिउड फिल्म ‘छिचोरे’मा नायक सुशान्त सिंह राजपुतले छोराको भूमिकामा रहेका राघवलाई भनेको संवाद हो यो।
हुन त सुशान्त सिंह अब यो दुनियाँमा छैनन्। उनले जिन्दगीसँग हार माने र आफैंलाई हत्या गरिदिए। उनी किन बाँच्न चाहेनन् ? आफैंलाई मार्ने निर्णय लिन उनलाई कुन कुराले प्रेरित गर्यो ? वा जिन्दगीमा मृत्युभन्दा अर्को उत्तम विकल्प किन देखेनन् ? यो विषय भविष्यले बताउला। जे होस्, उनले केही दिनअघि जीवन त्यागे। तर अभिनय गरेका धेरैजसो फिल्ममा उनले वजनदार भूमिका निर्वाह गरेका छन्। एकता कपुरले निर्माण गरेको टेली सिरियल ‘पवित्र रिस्ता’मा मानव पात्रको भूमिका होस् या चलचित्र ‘एम एस धोनी’का धोनी किन नहुन् वा ‘छिचोरे’को अनिरुद्ध, हरेक भूमिकामा सुशान्त आशावादी र बोल्ड चरित्रमा देखिएका थिए। पटक पटक लडेर सफल भएको पात्र, तमाम समस्याबीच जुधेर हौसला प्रदान गर्ने व्यक्ति बनिरहेको देखिन्थ्यो उनलाई। उनी अभिनीत फिल्म हेर्दा जोकोहीलाई हिम्मत मिल्थ्यो।
फिल्म ‘छिचोरे’मा आशाअनुरूपको नम्बर नआउँदा उनको छोरा राघवमा अत्यन्तै आघात पर्छ। बाबुआमाको उत्कृष्ट नतिजा आएको र सफल बनेको कहानी सुनेर हुर्किएको राघवमा पढाइमा टप हुँदा मात्रै जिन्दगी बन्न सक्छ भन्ने मानसिकता पलाएको छ। ऊ जसरी पनि टप हुन चाहन्छ। स्कुलको अन्तिम वर्षको रिजल्टमा कम नम्बर आएपछि उसले रोजेको कलेजमा भर्ना पाउँदैन। उसले सहन सक्दैन। कलेजमा होस्टलमा बस्दै आएको ऊ छतबाट हामफालेर आत्महत्याको कोसिस गर्छ। अत्यन्त सिरियस अवस्थामा अस्पतालमा पुर्याइएको राघवको उपचारमा जटिलता थपिँदै गएको छ। ऊ बाँच्नै चाहन्न। डाक्टरले उसको उपचारमा भरमग्दुर कोसिस गरेका छन् तर उसको शरीरले नै जिउन नचाहेको प्रतिक्रिया दिइरहेको छ। अस्पतालको आईसीयूमा जीवनसँग लडिरहेको छोरालाई जिन्दगीको उज्यालो पाटो सुनाउने क्रममा फिल्मको पूरा कथा सकिन्छ। अन्ततः राघवले पुनर्जीवन पाउँछ। अस्पतालमा आफ्नै बुवाबाट सिकेको जीवन दर्शनले जिन्दगीको नयाँ लय समाउँछ।
अभिभावकले पूरा गर्न नसकेको काम बच्चालाई जबर्जस्ती थोपरिदिने काम हाम्रो समाजको नियतिजस्तै भएको छ। तिमीले टप गर्यौ भने यो किनिदिन्छु। परीक्षामा यति प्रतिशत ल्यायौ भने अर्को कुनै माग पूरा गरिदिन्छु। यस्तै आशा, विश्वास र भरोसा थुपारेर हामीले बालबालिकालाई कसरी विष पिलाइरहेका छौं, चलचित्रले छर्लंग बनाएको छ।
‘आईआईटीको प्रवेश परीक्षामा नाम निस्किएपछि बाबुछोरा मिलेर स्याम्पेन पिउनुपर्छ भनेर उसलाई नाम निकाल्न मानसिक रूपमा दबाब दिने मै हुँ। नाम निस्कियो भने त यो गरांैला, ऊ दिऊँला तर नाम निस्किएन भने के गर्ने त भनेर कहिल्यै विकल्प बताउन सकिनँ। जिन्दगीको एक पाटोका बारेमा मात्रै सपना देखाउने म गलत बाबु हुँ’, उसको निष्कर्ष छ।
फिल्ममा सुशान्त सिंह र श्रद्धा कपुर पति–पत्नीको भूमिकामा छन्। उनीहरूको छोरा हो, राघव। सम्बन्धविच्छेद गरेका उनीहरू एकअर्कालाई दोष दिएर उम्किन्छन्। तर गल्ती स्वीकार गर्दैनन्। राघवको आत्महत्या प्रयास, उसले पढाइमा गरेको मेहनत, छोरालाई जीवनप्रति आशावादी बनाउन सुशान्तले आफ्नो कलेज लाइफ सम्झिएको दृश्यसँगै फिल्म अघि बढ्छ।
फिल्म अवधिभर आत्महत्या नगर्न उक्साउने सुशान्त छोरोको असल बाबु बनेर सहयोगी बनेको छ। आफूलाई लुजर ठानेर आत्महत्या कोसिस गरेको राघवलाई उसले आफू पनि कलेजमा लुजर थिएँ भनेर बताइरहेको छ। स्टोरी टेलिङमा राम्रो भूमिका बाँधिएको छ। घटनासँगै प्रभावकारी दृश्य चित्रण गरिएको छ। जिन्दगीमा जित्नु भनेको काममा खट्नु हो, कामको आधारमा मानिसको सफलता मापन गरिने तथ्यलाई बुझाउन सफल देखिन्छ। यो फिल्म हेर्दा फिल्मको चरित्र सुशान्तले रियल लाइफमै किन आत्महत्या गरे होलान् भन्ने प्रश्नले घोचिरहन्छ। यति धेरै बोल्ड भूमिका निर्वाह गर्ने कलाकार आफंै कसरी कमजोर हुन सक्छ भन्ने शंकाले ठाउँ लिन्छ। फिल्मका अन्य पाटाले भन्दा पनि सुशान्त र श्रद्धाको अभिनयले दर्शकलाई छुन्छ। फिल्म अवधिभर छोरालाई सुन्दर जीवनको सपना देखाउन हरसम्भव कोसिस गरेको सुशान्त अन्ततः सफल हुन्छ। राघवले अर्को वर्ष उसको सपना पूरा गर्छ।
यो त फिल्मको कथाको कुरा भयो। तर सुशान्त रियल लाइफमा भने कमजोर देखिए। नितेश तिवारीले निर्माण गरेको यो फिल्मले समीक्षकबीच राम्रै प्रशंसा कमायो। बक्स अफिसमा पनि सफल नै रह्यो। दर्शकलाई ऊर्जाशील बनाउने, जीवनप्रति सकारात्मक सोच छाड्न सफल फिल्मका नायकले भने जीवनसँग हार माने।
फिल्मले उठाएको मुद्दा
फिल्मको मुख्य कथावस्तु नै जीवनप्रतिको सकारात्मक सोच हो। सफल जीवनको मूल्यांकन केका आधारमा गर्ने ? उसले प्राप्त गरेको पढाइको नतिजा वा जीवनमा अपनाएको कामको बाटो ? यही प्रश्नबीच जीवन दर्शन प्रस्ट्याइएको छ। आफ्ना सपना, रहर र चाहना पूरा गर्न छोराछोरीमाथि दबाब दिने अभिभावकलाई फिल्मको कथावस्तुले व्यंग्य गरेको छ। फिल्म हेर्दै गर्दा हरेक आमाबुवाले सोच्ने गर्छन्, ‘कतै म पनि बच्चाहरूको रुचिविरुद्ध त गएको छैन ? उसलाई राम्रो गरेमा पुरस्कार दिएर हौसला प्रदान गर्छु भन्ने बहानामा जीवन जिउने अनेक बाटामाथि बन्देज त लगाएको छैन ? ’
सन्तानलाई सही मार्ग देखाउने बहानामा आसपासका अनेक मार्ग थुनिदिने अहिलेका अभिभावक बच्चाहरूको सफलताको बाधक हुन्। सय प्रतिशत नै ल्याउन नसके पनि अरू काम गर्न सकिन्छ। सबै सफल मानिस स्कुल कलेजका टपर पक्कै छैनन्। काम गर्ने तरिका र कामको प्रकृतिका आधारमा मानिस विजेता बन्न सक्छ। सन्तान हुर्काउने क्रममा जीवनका वास्तविकता बताउनु जरुरी छ। जिन्दगीमा जसले जे चाहन्छ, उसले त्यो गर्न पाउनुपर्छ। समाजमा हरेक पेसा र काम जरुरी छ। अतः कुनै पनि काममा उसले अपनाएको तरिका, मेहनत, लगाव र क्षमताका आधारमा मानिसको सफलता मापन गर्नुपर्छ भन्ने सन्देश दिन ‘छिचोरे’ सफल छ।