कर्णाली प्रदेश : १० औं राष्ट्रिय खेलकुदको पूर्वाधारमा केन्द्रित

कर्णाली प्रदेश : १० औं राष्ट्रिय खेलकुदको पूर्वाधारमा केन्द्रित

सुर्खेत : कर्णालीमा प्रदेश सरकारले खेलकुद क्षेत्रका लागि अघिल्लो वर्षभन्दा धेरै बजेट विनियोजन गरेको छ। सोमबार सार्वजनिक गरिएको बजेटमा खेलकुदको पूर्वाधार विकासमा केन्द्रित रहेर बजेट विनियोजन गरिएको हो। यद्यपि यो बजेट पर्याप्त नभएको खेलकर्मीको गुनासो छ।

प्रदेश सरकारले कर्णालीमा बृहत् १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने तयारी गरेको छ। खेल पूर्वाधारको अभावमा हालसम्म कर्णालीमा बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुन सकेको छैन। तर, आवश्यक पूर्वाधार तयार गरेर कर्णालीमा १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न प्रदेश सरकारले आवश्यक तयारी अगाडि बढाएको छ।

त्यसैको पूर्वतयारीस्वरूप यसपटक खेलकुदको पूर्वाधार निर्माणमा मात्र १५ करोड ४० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। विनियोजन भएको बजेटबाट सुर्खेतमा प्रदेशस्तरीय रंगशाला निर्माण गरिनेछ। यो रंगशाला निर्माणमा केन्द्र सरकारको पनि बजेट परेको छ। यसैमा प्रदेश सरकारले पनि बजेट विनियोजन गरेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

कर्णाली प्रदेशमा हाल एउटा पनि गतिलो रंगशाला छैन। प्रदेश र जिल्ला स्तरका प्रतियोगिता पनि धुले मैदानमै आयोजना हुने गरेका छन्। खेलाडीहरूले पनि खुला चौर र धुलोमै अभ्यास गर्नुपर्ने बाध्यता छ। यही समस्या समाधान गर्न र १०औं राष्ट्रिय खेलकुद आयोजन गर्न पूर्वाधार निर्माणमा बजेट केन्द्रित रहेको प्रदेश सरकारले जनाएको छ।

कोरोना महामारीमा पनि खेलकुद पूर्वाधार निर्माण गर्न बजेट विनियोजन भएको सामाजिक विकासमन्त्री दल रावलले बताए। ‘हामी १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको तयारीमा छौं’, मन्त्री रावलले भने, ‘त्यसका लागि धेरै पूर्वाधार चाहिन्छ। बजेट पनि त्यसैमा खर्च हुनेछ।’

कोरोना महामारीका कारण खेलकुदमा बजेट पर्याप्त नभएको उनको भनाइ छ। यद्यपि विगतभन्दा यसपालि धेरै नै भएको उनले बताए। यो बजेटबाट सुर्खेतमा प्रदेश स्तरको रंगशाला, हुम्लामा हाई अल्टिच्युड रंगशाला, जुम्लामा हाई अल्टिच्युड तालिम केन्द्र र प्रदेशका सबै जिल्लामा सम्भावनाअनुसार आवश्यक पूर्वाधार निर्माण गरिने मन्त्री रावलले जानकारी दिए।

उनले यस पटक बजेटमा खेलकुदका अन्य संरचना निर्माण गर्न र नियमित प्रतियोगिता सञ्चालनका लागि पनि दुई करोड रुपैयाँ छुट्ट्याइएको बताए। आगामी आर्थिक वर्षभित्रै प्रदेश खेलकुद परिषद् र जिल्ला खेलकुद परिषद् गठन गरिने जानकारी उनले दिए।

प्रदेश सरकारले खेलकुदमा विनियोजन गरेको बजेटमा खेलाडी, प्रशिक्षक र खेलप्रेमी भने सन्तुष्ट छैनन्। सुर्खेत जिल्ला फुटबल संघका महासचिव गणेशकुमार कार्कीले भने, ‘प्रदेश सरकारले विनियोजन गरेको बजेट पर्याप्त छैन। त्यो बजेटले एउटा रंगशाला पनि निर्माण हुँदैन। राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न हामीले सबै पूर्वाधार बनाउनु पर्छ, तर यसपालिको बजेट कनिका छरेजस्तो दखियो।’

उसु खेलका प्रशिक्षक प्रदीप राईले पनि चालू आर्थिक वर्षको तुलनामा बजेट धेरै विनियोजन भए पनि पूर्वाधार निर्माणमा कम रहेको बताए। उनले भने, ‘आजको दिनमा पनि हामीले धुलोमा खेल्नुपर्ने अवस्था छ। राष्ट्रिय प्रतियोगिताका लागि निकै पूर्वाधार चाहिन्छ। त्यसैले अहिलेबाटै पर्याप्त बजेट छुट्ट्याउनु पर्छ। अब स्थानीय तहले पनि खेल पूर्वाधारमा बजेट विनियोजन गर्नुपर्‍यो।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.