बन्दै गरेको पुल भत्कियो : दुई इन्जिनियर घाइते
बुटवल : रुपन्देहीको सियारी गाउँपालिकास्थित दानव नदीमाथि बन्दै गरेको पुल भत्किएको छ । सियारी र मायादेवी गाउँपालिका जोडिने पुल शनिबार साँझ भत्किएको हो ।
पुल ढलान भएको १३ औ दिनमा भत्किएको सडक डिभिजन बुटवलका इन्जिनियर मेघराज मरासिनीले जानकारी दिए । प्रिस्ट्रेसिङ प्रविधिबाट बनाइएको पुल दानव नदिमा आएको बाढीले खल्बल्याउँदा भत्किएको उनले बताए ।
पुल भत्किंदा फिल्डमै रहेका इन्जिनियरसहित तीन जना घाइते भएका छन् । सबइन्जिनियर महेश्वर लम्साल, मुम पल्ली घाइते भएका छन् ।
८ करोड ५० लाख रुपैयाँ लागतमा बन्दै गरेको पुल ३० मिटर लामो र ११ मिटर चौडाइको छ । यो पुल बैशाख १५ गतेभित्रै सक्नुपर्ने सम्झौता भए पनि लकडाउनका कारण काम हुन नसक्दा ढिलाइ भएको निर्माण कम्पनी निलगिरी नेशनल जेभीले जनाएको छ । कम्पनीले पुल निर्माणमा त्रुटी भएर नभइ बाढीका कारण भत्किएको जनाएको छ ।
दानव नदीमा शनिबार पानीको सतह बढेको थियो । पुल निर्माणका लागि अड्याउनुपर्ने टेका भएको ड्याम भरपर्दो नहुँदा पुल भत्किएको स्थानीयले बताएका छन् । ‘पुलको टेका बलियो जमिनमा राखिएको थिएन, त्यसैले सामान्य पानीले पनि जमिन गल्यो अनि भत्कियो', स्थानीयले भने ।
सडक डिभिजन प्रमुख मरासिनीले ढिस्को नै बाढीले बगाउँदा पुल भत्किएको बताए । निर्माण कम्पनीले पुल निर्माण गरेर हस्तान्तरण गर्नुपर्ने दायित्व रहेको छ ।