६ जुवाडे पक्राउ
काभ्रे : काभ्रेको बनेपा नगरपालिका–६, २८ किलोमा ६ लाख नगदसहित ६ जना जुवाडे पक्राउ परेका छन् । जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख (एसपी) रबिकुमार पौडेललाई ठूलो रकममा जुवा खेलिरहेको सूचना आएपछि त्यसतर्फ प्रहरी परिचालन गरिएको थियो ।
पक्राउ पर्नेमा पाँचकुमारी पेट्रोल पम्पका मालिक जनक तिमल्सिना, विश्वराज तामाङ, रामेश्वर केसी, अनिल थापा, भोला राय र किरण रञ्जितकार छन् । प्रहरीका अनुसार उनीहरुलाई बनेपा नगरपालिका ६ स्थित पाँचकुमारी पेट्रोल पम्प नजिक रहेको पम्प मालिक जनक तिमल्सिनाको घरमा जुवातास खेल्दै गरेको अवस्थामा शुक्रबार राति पक्राउ गरिएको थियो ।
उनीहरुलाई जिल्ला प्रशासन कार्यालय काभ्रेबाट ७ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको काभ्रेका एसपी पौडेलले जानकारी दिए । पक्राउ परेका जुवाडेबाट ६ लाख ५४ हजार ५ सय रुपैयाँ नगद, ४ बुक तास र जुवा खालमा प्रयोग भएको १ थान तन्नासमेत बरामद गरिएको छ ।