भगवान भरोसे बाजा संग्रहालय
नेपाल सरकारले बाजा संग्रहालय बनाउन ध्यान दिएको छैन। नेपाल प्रज्ञा प्रतिष्ठानमा लाखौ पर्ने कतिपय बाजा खिइएर मक्किन थालेका छन्। रामप्रसाद कँडेल विगत अढाइ दशकदेखि बाजा संग्रहमा जुटेका छन्। उनी २०५२ सालदेखि लोकबाजा खोज्न गाउँगाउँ चहारिरहेका छन्। उनले केही साथीसँग मिलेर २०५४ सालमा ‘नेपाली लोकबाजा संग्रहालय’ स्थापना गरे। त्रिपुरेश्वरमा रहेको यो संग्रहालयमा नेपालका ६ सय ५० थरीका बाजा संकलित छन्। जबकि नेपालमा एक हजार तीन सय ५० थरीका लोकबाजा प्रयोगमा रहेको विभिन्न अध्ययनले देखाउँछ।
पुरानो मधुकर बाजादेखि शीतम्बर, ढोलक, तबला, मादल, ठूलो सारंगी, सहनाई, नरसिंगा र पन्चैबाजाका सेट संग्रहालयमा छ। भद्रकाली गुठी संस्थानको भवनको माथिल्लो तला भाडा तिरेर संग्रहालय चलाइरहेका छन् कँडेल। गुठी संस्थानले काठमाडौं विश्वविद्यालयलाई अहिले यो संग्रहालय भएको भवन र ठाउँ भाडामा दिने सम्झौता गरिसकेको छ। कँडेललाई अब लोकबाजा संग्रहालय कहाँ राख्ने, कसरी जोगाउने भन्ने चिन्ता छ।
लोकबाजा संग्रहालयमा करिब ४० हजार अडियो भिडियो पनि संगृहीत छन्। भीमशमशेर जबराको पालामा खिचिएको दुर्लभ भिडियो पनि रहेको छ। संग्रहालयमा रहेका बाजाहरू चार हजारदेखि ३५ लाखसम्म मूल्यका छन्।