चम्किँदै १२ वर्षीय अश्वेत गायक
हलिउड : अमेरिकाको प्रमुख रेकर्ड लेभल वार्नर रेकर्डस्ले १२ वर्षीय अश्वेत गायक किड्रन ब्रायन्टसँग अनुबन्धन सम्झौता गरेको छ।
गत मे २५ मा अमेरिकाको मिनेसोटाको मिनियापोलसमा प्रहरीको ज्यादतीबाट अश्वेत व्यक्ति जर्ज फ्लोइडको निधन भएको थियो। त्यसको अर्को बिहान किड्रनले आई जस्ट वान लिभ बोलको गीत गाएर इन्स्टाग्राममा पोस्ट गरेका थिए। उक्त गीत किड्रनकी आमा जोनेटा ब्रायन्टले रचना गरेकी हुन्।
ज्याक्सनभिला फ्लोरिडाका किड्रनले गाएको सो गीत प्रहरी ज्यादती तथा रंगभेद विरोधी प्रदर्शनको प्रमुख गीत बनेको छ। वार्नरले जुनटिन अर्थात् जुन १९ को अवसर पारेर गीत सार्वजनिक गरेको हो। जुनटिनलाई अमेरिकामा शताब्दियौंदेखिको दासत्व अन्त्य भएको दिनको रूपमा मनाइन्छ।
वार्नर कम्पनीका अनुसार किड्रनको गीतबाट भएको मुनाफा नेसनल एसोसिएसन फर द एड्भान्सेमेन्ट अफ कलर्ड पिपुललाई दिइनेछ। किड्रनको गीतलाई अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा, बास्केटबल लेजेन्ड लिब्रोन जेम्स, गायिका ज्यानेट ज्याक्सन, अभिनेत्री लुपिता न्योगंगोसहीलगायतले प्रशंसा गरेका छन्।