चारदिनदेखि गोरुसिंगे सन्धिखर्क सडक अवरुद्ध, २१ घर पहिरोको जोखिममा
सन्धिखर्क : चार दिनदेखि गोरुसिंगे सन्धिखर्कसडक अवरुद्ध भएको छ। शुक्रबार राती नरपानीमा गएको पहिरो खस्ने क्रम नरोकिएपछि चार दिनदेखि गोरुसिंगे सन्धिखर्कसडक अवरुद्ध बनेको हो । लगातार परेको अविरल वर्षाका कारण गोरुसिंगे सनिधखकै सडकको नरपानी र खाँचीखोलाको बीचमा पहिरो गएको हो ।
चार दिनदेखि २ वटा डोजरले पहिरो पन्छाउने काम भइरहे पनि पहिरो खस्ने क्रम नरोकिएकाले सडक खुलाउन नसकिएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिए । पहिरो हटाउने प्रयास भएपनि पानी परिरहेको र पहिरो खसिरहेकाले बाटो खुलाउन समस्या भएको हो ।
सडक बन्द हुँदा बिरामी बोकेका एम्बुलेस ,अन्य सवारीसाधन आवतजावत गर्न नपाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधब बुढाथोकीले बताए । वर्षाका कारण अर्घाखाँचीमा अधिकांश ग्रामिण सडक पनि अवरुद्ध भएका छन् ।अर्घाखाँचीका विभिन्न ठाउँका बस्ती उच्च पनि जोखिममा परेका छन् ।
लगातारको वर्षाले सन्धिखर्क नगरपालिका र पाणिनि गाउँपालिकामा २ घर बगाएको छ । जिल्ला भर २१ घर पहिरोको उच्च जोखिममा परेका छन्। जोखिममा परेकाहरु छिमेकीको घरमा आश्रय लिएर बसेका छन्। सन्धिखर्क नगरपालिका-६ को नरपानीका १० घर , वडा नम्बर-७ को भुजुङ्गे गाउँमा पाँच घर पहिरोको उच्च जोखिममा परेको छ । यस्तै शितंगंगा नगरपालिका र मालारानीका विभिन्न बस्तीहरु पनि उच्च छन् ।
पहिरोको उच्च जाखिममा परेका मालारानी गाउँपालिका वडा नम्बर-४, खनका दुई घरपरिवारलाई स्थान्तरण गरिएको छ भने शितगंगा नगरपालिका वडा नम्बर-४, ठाडाका तीन घर परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ।
त्यस्तै भुमिकास्थान नगरपालिका वडा नम्बर-९, ढिकुराको एक घरलाई पनी सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ । वर्षाका कारण पाणिनि गाउँपालिकाको दुर्गाखोलामा निर्माण हुन लागेको पुलमा क्षति पुगेको छ।
सालझण्डी-सन्धिखर्क ढोरपाटन सडकअन्तर्गत दुर्गाखोलामा निर्माण हुन लागेको पुलमा बाढी आएपछि सामान खोलाले बगाउँदा ५० लाख बढीको क्षति भएको पुष्पाजेभिका सञ्चालक नारायणप्रसाद बन्जाडेले जानकारी दिए ।
मालारानी र सन्धिखर्क जोड्न निर्माण गरिएको पुलमा पनि क्षति भएको छ । मालारानी र सन्धिखर्कको सिमाना नौलापानीमा पीटिआर कन्स्ट्रक्सनले करिब ३ करोडको लागतमा निर्माण गर्न लागेको पुल बगाएको कन्स्ट्रक्सनका सञ्चालक ऋषी अधिकारीले बताए ।