अर्घाखाँचीमा एकै दिन ३० जनाले जिते कोरोना
अर्घाखाँची : सन्धिखर्क नगरपालिका १ हटारीनेटाको आइसोलेसनमा रहेका ३० जनाले कोरोना जितेका छन्। सन्धिखर्क नगरपालिका ६ नरपानीका १३, ७ खाँचीकोटका १५, पाणिनि गाउँपालिका ७ का एकजना र शितगंगा नगरपालिका १० का एकजना गरी ३० जनाले कोरोना संक्रमण जितेको अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले बताए।
उनीहरुमा एकैदिन कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुलाई आइसोलेसनमा राखिएको थियो । उनीहरु सबैलाई सेल्फ क्वारेन्टाइनमा बस्ने गरी घर पठाइएको हो । जसमा २ जना महिला र २८ जना पुरुष रहेका छन् उनीहरु सबै भारतबाट फर्किएका थिए।
गत जेठ १० गते भूमिकास्थान नगरपालिका-९ का ३४ वर्षीय कृष्णबहादुर गैरेसँग सम्पर्कमा आएका व्यक्ति हुन् । गैरेको नेपाल आउने क्रममा बाटोमा मृत्यु भएको थियो । गत जेठ १८ गते उनको सम्पर्कमा आएका र उनीसँगै आएकाहरुको स्वाब परीक्षण गरिएको थियो।
जिल्लामा कोरोना संक्रमितको संख्या २ सय ३९ पुगेको छ । कोरोनाबाट २ जनाको मृत्यु भइसकेको छ । जिल्लामा एक हजार ६ सय ३० जनाको स्वाब संकलन गरिएको छ । नौ सय ४४ जनाको रिपोर्ट आएको जिल्ला स्वास्थ्य कार्यलयका जन स्वास्थ्य निरीक्षक गणेशराज पौडेलले बताए । जसमध्ये २ सय ३९ जनाको कोरोना पोजिटिभ देखिएको हो ।