पानी परेको मौकामा क्वारेन्टाइनबाटै कोरोना संक्रमित फरार
राजविराज : सप्तरीमा कोरोना संक्रमित भएका एक पुरुष सोमबार क्वारेन्टाइनबाट फरार भएका छन्। हनुमाननगर कंकालिनी नगरपालिका-१ स्थित बीपी मावि भारदहको क्वारेन्टाइनबाट सोही वडाका २४ वर्षीय पुरुष फरार भएका हुन्। कोरोना संक्रमितको रिपोर्ट आएपछि उनलाई अरुबाट अलग्याएर छुट्टै कोठामा राखिएको थियो। पानी पर्न थालेपछि सुनसान भएको मौका छोपेर उनी फरार भएका हुन्।
फरार संक्रमितको खोजीका लागि प्रहरी र सशस्त्र प्रहरी व्यापक रुपमा परिचालित भएका छन्। दुई वटा विवाह गरेका फरार संक्रमित गाउँमा फेला नपरेपछि सीमावर्ती भारत विहार कुनौलीमा रहेको ससुराली घरमा लुकेको आशंका गरिएको छ। भारतको छत्तिसगढबाट जेठ २२ गते आएका उनको स्वाब परीक्षणका लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर पठाइएको थियो। उनी र हनुमाननगर कंकालिनी नगरपालिका–७ का २९ वर्षीय एक सरसफाई कर्मचारीमा सोमबार कोरोना संक्रमण देखिएको हो।
आइतबार पनि हनुमाननगर कंकालिनी-५ का १७ वर्षीय र वडा नम्बर-४ का ३० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको थियो। जसलाई पत्रकार सम्मेलनमार्फत स्वास्थ्य मन्त्रालयले सोमबार सार्वजनिक गरेको छ। सोमबार हनुमाननगर कंकालिनी नगरपालिकाका २ जनासहित सप्तरीमा १३ जना थप भएका छन्। राजगढ गाउँपालिकामा ५, बलान विहुल गाउँपालिकामा ४ र राजविराज नगरपालिकामा २ जना थप भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ। सोमबार थप भएका सप्तरीका १३ जनाको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्ने तयारी गरिरहेको छ। संक्रमित थप हुनेहरुमा राजगढ गाउँपालिका-२ का २४ र ३५ वर्षीय, वडा नम्बर ६ का २३, २७ र ३१ वर्षीय पुरुष, बलान बिहुल गाउँपालिका-१ का १६ वर्षीय, वडा नम्बर ३ का ३८, ३८ र ४२ वर्षीय पुरुष तथा राजविराज नगरपालिका-१० का ३८, ३८ र ४२ वर्षीय पुरुष रहेका छन्। योसँगै सप्तरीमा संक्रमित हुनेको सङ्ख्या १ सय ७३ पुगेको छ। सबै संक्रमतिलाई राति अबेलासम्ममा राजविराज-२ स्थित साइकृष्ण मेडिकल कलेज एण्ड हस्पिटलको आइसोलेशन केन्द्रमा ल्याइने जनाइएको छ।
स्वास्थ्य कार्यालय सप्तरीका अनुसार हालसम्म सप्तरीको १५ वटा स्थानीय तहमा कोरोना संक्रमण फैलिएको छ। हनुमाननगर कंकालिनी नगरपालिकामा १ महिलासहित ३५ जना, बोदे बर्साइन नगरपालिकामा २ महिलासहित ३२ जना, बलान बिहुल गाउँपालिकामा ४ महिलासहित ३१ जना, राजगढ गाउँपालिकामा १८ पुरुष, छिन्नमस्ता गाउँपालिकामा २ महिलासहित १६ जना, राजविराज नगरपालिकामा २ महिलासहित १५ जना र डाकनेश्वरी नगरपालिकामा १ महिलासहित १२ जना, खडक, सुरुङ्गा र कञ्चनरुप नगरपालिकाका ३/३ जना, शम्भुनाथ नगरपालिका तथा बिष्णुपुर, तिरहुत, महादेवा र तिलाठी कोइलाठी गाउँपालिकामा १/१ जना संक्रमित पुष्टि भएको स्वास्थ्य कार्यालय, सप्तरीले जनाएको छ। यसैगरी हालसम्म कोरोनालाई जितेर ७६ जना घर फर्किएका छन्।