तियानयुआनबाट खोसियो ठेक्का
काठमाडौं : पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको कमला–कञ्चनपुर सडक खण्डको विस्तारको जिम्मा चाइना रेल्वे नम्बर २ ग्रुपले प्राप्त गरेको छ। सडक विस्तारका लागि आर्थिक प्रस्ताव खोल्दा न्यून रकम कबुल गर्ने कम्पनीले पेस गरेको अनुभव दस्तावेज फर्जी भेटिएकाले चाइना रेल्वे नम्बर २ ग्रुपसँग ठेक्का सम्झौता गर्न लागिएको सडक विभाग आयोजना निर्देशनालय (एडीबी) ले जानकारी दिएको छ। बोलपत्रको सर्तानुसार ठेक्का प्रक्रियामा सहभागी हुने कम्पनीले विगत ५ वर्षभित्र आयोजनाको कुल लागतको ४० प्रतिशत रकम बराबरका दुई वटा सडक बनाएको हुनुपर्छ।
निर्देशनालयले ८६.८२ किलोमिटर यो सडकखण्डलाई दुई प्याकेजमा विभाजन गरी ठेक्का आह्वान गरेको थियो। यो सडक विस्तारका दुई प्याकेज कञ्चनपुर–कुशाहा खण्डको ४० किलोमिटर र कुशाहा–कमला खण्ड ४७ किलोमिटरका लागि २०७५ भदौ २७ गते बोलपत्र आह्वान गरिएको थियो। यी दुवै प्याकेजमा तियानयुआनले न्यून रकम कबुल गरेको थियो। तर, तियानयुआनले पेस गरेको अनुभव दस्तावेज फर्जी भेटिएकाले उक्त कम्पनी पछि थोरै रकम प्रस्ताव गर्ने चाइना रेल्वेसँग सम्झौता अघि बढाउन लागिएको निर्देशनालयका उपनिर्देशक सुरेश पौडेलले बताए। ‘अब कमला–कञ्चनपुर सडक विस्तारका लागि चाइना रेल्वेसँग सम्झौता हुनेछ’, पौडलले भने, ‘एक साताभित्रमा सम्झौता गरिनेछ। चाइना रेल्वेले दुवै प्याकेजका लागि करिब १६ अर्ब रुपैयाँ बराबरको ठेक्का रकम प्रस्ताव गरेको छ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गतको कमला–कञ्चनपुर सडक खण्ड एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा विस्तार गरिनेछ। एडीबीले १८ करोड ५० लाख अमेरिकी डलर उपलब्ध गराएको छ। एडीबी र नेपालबीच ३२ वर्षका लागि १.५ प्रतिशत ब्याजमा ऋण उपलब्ध गराउने सम्झौता भइसकेको छ।
बोलपत्र दस्तावेज अनुसार निर्माण कम्पनीले साढे तीन वर्षभित्रमा विस्तार प्रक्रिया सम्पन्न गर्नुपर्ने हुन्छ। सडक निर्माण गर्ने कम्पनीले पाँच वर्षसम्म सडकको मर्मत पनि गर्नुपर्नेछ। ठेकेदार कम्पनीलाई नै मर्मतको जिम्मा दिँदा निर्माणको समयमा हुने त्रुटि न्यूनीकरण गर्न सहयोगी हुन्छ। यसले गर्दा ठेकेदार स्तरीय काम गर्न बाध्य हुन्छन्। पूर्व–पश्चिम राजमार्ग नेपालको प्रमुख यातायात सडक हो। बढ्दो सवारीसँगै सडक आसपासका क्षेत्रमा सवारी दुर्घटना बढ्दो छ। २०१९ सालमा निर्माण गरिएको सडक मर्मतसम्भार नहुँदा जीर्ण हुँदै गएको छ। यसले सवारीको इन्धन र पाटपुर्जाको लागत बढाइरहेको विज्ञको भनाइ छ। राजमार्गलाई एसियाली राजमार्ग स्तरमा विस्तार गरिनेछ। नयाँ बन्ने सडक चार लेनको हुनेछ।
दायाँ र बायाँ भागलाई एक अर्काबाट छुट्याउन तीन मिटरको मेडियन (सडकको बिचमा छाडिने खाली भाग) बनाइनेछ। विस्तारित सडक दुईतर्फ सात÷सात मिटरको हुनेछ। एउटा लेन साढे तीन मिटर चौडा हुनेछ।
निर्देशनालयका अनुसार घना बस्ती क्षेत्रमा सडक ५० मिटरसम्म फराकिलो हुनेछ। सडकखण्डको छेउमा रहेका बस्तीका लागि ‘सर्भिस लेन’ निर्माण गरिनेछ। १९.१ किलोमिटर सडकमा सर्भिस लेन रहने र यो सडकको दायाँ र बायाँ साढे ६ मिटरको हुनेछ। बिग्रेका सवारी रोक्न साढे दुई मिटरको पक्की बाटो पनि निर्माण गरिनेछ। मुख्य सडकको दुईतर्फ चार/चार मिटर ठाउँ हरियालीका लागि छुट्टयाइनेछ उक्त भागमा बिरुवा रोपेर सडकलाई हरियो बनाउने निर्देशनालयको योजना छ। साथै, सडकको दायाँ र बायाँ तीन/तीन मिटरको फुटपाथ निर्माण गरिनेछ। स्थानीय पैदलयात्रीको सहजताका लागि फुटपाथ बनाइने भएको हो।
निर्देशनालयका अनुसार पातलो बस्ती भएका स्थानमा २४ मिटर चौडाइको सडक हुनेछ। उक्त खण्ड ६७.७ किलोमिटर लामो छ। सडक दायाँ र बायाँ दुई/दुई लेन गरी चार लेनको हुनेछ। दायाँ र बायाँ भागलाई एक अर्काबाट छुट्याउन तीन मिटरको मेडियन बनाइनेछ। बिग्रेका सवारी रोक्न साढे दुई मिटरको पक्की बाटो पनि निर्माण गरिनेछ। उक्त खण्डमा सर्भिस लेन निर्माण गरिने निर्देशनालयले जनाएको छ।
विस्तारित सडकमा विशेष ट्राफिक नियन्त्रण प्रणाली पनि प्रयोगमा ल्याइनेछ। त्यसका लागि निर्देशनालयले लहान, रुपनी, गोलबजार र मिर्चिया तोकेको छ। सडकमा आठ अन्डरपास, दुई ओभरपास, दुई पैदल यात्री पुल निर्माण गरिनेछ। अन्य स्थानको तुलनामा घना बस्ती भएकोे लहान र मिर्चिया ओभरपास बनाइनेछ। राजमार्गमा चल्ने गाडी ओभरपासबाट गुड्नेछन्। भने स्थानीय सवारी ओभरपासको तलबाट चल्नेछन्। यसरी ओभरपास निर्माण गर्दा स्थानीय सवारीले राजमार्गका सवारी आगमनलाई बाधा नपुग्ने निर्देशनालयको ठम्याइ छ। बस स्टप पनि मुख्य सडकबाट अलिक दुरीमा बनाइनेछ। यसरी बस स्टप निर्माण ट्राफिक जाम र सवारी जुध्ने जोखिम न्यूनीकरण हुने निर्देशनालयको अनुमान छ।