कर्णालीमा कोरोना संक्रमितको संख्या १३ सय नाघ्यो
सुर्खेत : कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १३ सय नाघेको छ । मंगलबार थप २६ जनामा कोरोना संक्रमण पृष्टी भएपछि संक्रमितको संख्या १३ सय ७ पुगेको हो ।
मंगलबार प्रदेश अस्पताल तथा पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षण रिपोर्ट अनुसार थप ५ र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको पीसीआर परीक्षण रिपोर्ट अनुसार थप २० जनामा कोरोना संक्रमण पृष्टी भएको छ । जसमा सुर्खेतका थप ५, दैलेखका १९ र कालिकोटका १ जनामा कोरोना संक्रमण पृष्टी भएको हो ।
यस्तै कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका अनुसार मंगलबार थप ९ जनाले कोरोना जितेर घर फर्किएका छन् । कर्णालीमा कोरोनाबाट निको हुनेको संख्या ५ सय ६० पुगेको छ । मंगलबार कोरोना जीतेर घर फर्किनेमा लेकवेशी आइसोलेसन सेन्टर सुर्खेतबाट ५ जना पुरुष र १ जना महिला तथा बारेकोट आइसोलेसन सेन्टर जाजरकोटबाट २ जना पुरुष र १ जना महिला छन् । कर्णाली प्रदेशमा हालसम्म करिब १८ हजारको कोरोना परीक्षण गरिएको छ । कोरोना पृष्टी भइ मृत्यु हुनेको संख्या ४ पुगेको छ ।
सबैभन्दा बढि दैलेखमा ७ सय ३३ र सबैभन्दा कम डोल्पामा १ तथा मुगु र हुम्लाका २-२ जनामा कोरोना पृष्टी भएको छ । यस्तै सल्यानका १ सय ७३, सुर्खेतका ३ सय २, जाजरकोट १०, कालिकोट ४३, जुम्ला २४ र अन्य प्रदेशका १६ जनामा कोरोना पृष्टी भएको स्वास्थ्य माहाशाखाको रिपोर्टमा उल्लेख छ ।