नागरिकता विधेयकविरुद्ध भैरहवामा प्रदर्शन
भैरहवा : सरकारले अघि बढाएको नागरिकता विधेयकको विरुद्धमा भैरहवा प्रर्दशन भएको छ । जनता समाजवादी पार्टी रुपन्देहीले विधेयकप्रति असहमति जनाउँदै भैरहवामा विरोध प्रर्दशन गरेको हो । प्रदर्शनमा सहभागीले केपी ओली सरकार राजनीमा देऊ, ७ वर्षपछि दिइने अंगीकृत नागरिकता विधेयक खारेज गर लगायतका नारा लगाएका थिए ।
मिलनचोकमा आयोजित विरोध सभामा बोल्दै जसपाका नेताले नेकपा सरकारले प्रस्ताव गरेको नागरिकता संशोधन विधेयक जनतालाई दुःख दिने नियतले ल्याएको बताए । उनीहरुले विधेयकले विदेशी बुहारीका परिवारको नैसर्गिक अधिकारमाथि सरकारले दमन गर्न खोजेको आरोप लगाए ।
सभालाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सदस्य तथा पूर्र्ववनमन्त्री मोहम्मद वकिल मुसलमानले प्रधानमन्त्री केपी ओलीले सत्ता टिकाउन जनतालाई अल्झाउन खोजेको बताए । उनले नक्सामात्र नेपालको भुभाग समेटेर नहुने भएकोले भूमी फिर्ता तर्फ पहल गर्नुको सट्टा सरकारले नागरिक संशोधन विधेयक ल्याएर सरकारले सत्ता लम्ब्याउने खेलमा लागेको आरोप लगाए।
प्रदेशसभा सांसद सन्तोष पाण्डेयले सरकारले नागरिकलाई नागरिकबाट वञ्चित गर्न खोजेको बताए । उनले सरकारले एकपछि अर्को गलत निर्णय गरेकोले त्यो निर्णयलाई सर्वाेच्च अदालतले उल्टाएको बताए । तत्कालीन समाजवादी पार्टीबाट प्रदेश ५ संसदीय दलका प्रमुख सचेतक समेत रहेका पाण्डेयले नेकपा सचिवालयको गरेको निर्णय जनताको सचिवालयले खारेज गर्ने चेतावनी समेत दिए ।
कार्यक्रममा जसपाका केन्द्रीय सदस्य देवेन्द्र पाण्डे (सागर), राजेन्द्र गुप्ता, पूर्वसांसद ओमप्रकाश यादव, पार्टीका सिद्धार्थनगर अध्यक्ष अर्जुनप्रसाद जयसवाल, युवा नेता उज्जवल पोखरेल, महिला नेतृ धनेश्वरी चौधरी, रुपा मल्ल, रीता यादव, निलम यादव, सिद्धार्थनगर नगरपालिका– ४ का वडा अध्यक्ष मुक्तिनाथ यादव लगायतले बोल्दै सरकारले नागरिकता विधेयक ल्याएर नागरिकबीच लडाउन खोजेको आरोप लगाए ।