‘संगीतले आत्मालाई छुनुपर्छ’
काठमाडौं : ‘हुन त म पनि मोफसलमै सपना देख्ने मानिस हुँ । लगाव हुनुपर्छ सफल भइन्छ भन्ने विश्वास लिने । तर केन्द्रले मोफसललाई कहिल्यै देख्दैन । केन्द्रको नजरमा मोफसल सधैं अधुरो अपुरो’, गायक तथा संगीतकार सुरेश सेन्चुरी केन्द्र र मोफसलको सम्बन्ध बताउँदै थिए । बुटवलमा बसेर साधनामा लागिपरेका सुरेश विगत २५ वर्षदेखि नेपाली संगीत क्षेत्रमै छन् । उनी कुशल गायक हुन् । सफल संगीतकार तथा एरेन्जर पनि । बुटवलमा रहेको बागेश्वरी संगीतालयका सस्थापक तथा संगीत गुरु सेन्चुरीले सयौं विद्यार्थीलाई संगीतको आकाशमा उडान भरिदिएका छन् । बागेश्वरी संगीतालयमा शास्त्रीय संगीतको पढाइ हुन्छ ।
नृत्यको सिकाइ हुन्छ । सुर, ताल र संगीतको औपचारिक पढाइ पनि हुन्छ ।उनकै विद्यार्थी हुन् तेरिया मगर । जो डीआईडी लिटिल मास्टर इन्डिया सिजन ९ की विजेता हुन् । भारतीय चर्चित रियालिटी सोमा पुगेर विजेता बनेकी तेरियामा सुरेशले सिकाएको नृत्यको चाल अझै भेटिन्छ । यस्तै उनका विद्यार्थीहरू सुजाता पाण्डे, अफतर अली, अर्जुन कौशल, चिरञ्जीवी भण्डारी, मञ्जु पौडेललगायत दर्जनौं गायकगायिका अहिले यही क्षेत्रमा नाम कमाइरहेका छन् ।
सबैको नजरमा दोषी बनायौ, बाँधी राखन मायाले, कहाँ राखुँ कता छेकँु, मलाई हराउँछु भन्थ्यौ, झस्केर ब्युँझन्छु, सालको पात बजाउँदै, के पिएछु हिजो मैलेलगायत सयौ गीतका संगीतकार हुन् उनी । सेन्चुरीले पागल भएछु म, तिनाउ खोला बटौलीको छेउ, पलपल सपनीमा, तिमी मेरो जीवनको खुसीलगायत केही गीतमा आवाजसमेत दिएका छन् ।
सुरेशको पारिवारिक पेसा नै गहना निर्माण गर्ने हो । उनले पनि यही पेसालाई केही वर्ष अपनाए । तर सुनका गहना बनाउँदा निस्कने टिकटिक आवाजमा पनि उनी संगीतको मधुरम धुन भेट्थे । व्यापार व्यवसायकै सिलसिलामा निकै ठाउँ पुगे । कमाइ पनि मनग्य नै थियो । तर उनीभित्रको सांगीतिक मनले भने पैसामा रमाउन पटक्कै दिएन । उनलाई संगीतमा डुब्ने रहर हुन्थ्यो । फुर्सद भयो त हार्मोनियमका लयमा झुलिहाल्थे । मादल, तबला र बाँसुरीको धुनमा डुबिहाल्थे ।
सुरेशकै विद्यार्थी हुन् तेरिया मगर । जो डीआईडी लिटिल मास्टर इन्डिया सिजन ९ की विजेता हुन् । भारतीय चर्चित रियालिटी सोमा पुगेर विजेता बनेकी तेरियामा सुरेशले सिकाएको नृत्यको चाल अझै भेटिन्छ
बच्चाबेला कहिले पानी भर्ने जर्किनलाई मादल बनाए त कहिले तामाको गाग्रीलाई तबला बनाए उनले । जे जे बजाउँदा आवाज निस्कन्थ्यो बाजा बनाएर गीत गुनगुनाउथे । पारिवारिक माहोल नै संगीतमय । बुटवल जानकीनगरका रैथाने सेन्चुरीका दाजु पनि गीत गाउँथे ।
उनी हुर्कंदाको समयमा बुटवलका केही अग्रज कलाकार मिलेर संगीत कला केन्द्रको स्थापना गरेका थिए । उनले त्यही भारतीय संगीत शिक्षक विश्वनाथ शर्मासँग केही महिना संगीत सिके । पछि यो केन्द्र नै बन्द भयो । उनी सांगीतिक तिर्खाले भौतारिँदै गोरखपुरमा रहेको राग श्री संगीत विद्यालयमा पुगे । त्यहीबाट उनले ६ वर्षको संगीत प्रभाकर कोर्स पूरा गरे ।
सबै प्याट्रनका गीत जान्नुपर्ने तर्क गर्ने सेन्चुरी विशेषत आत्मालाई छुने गीतमा रमाउने गर्छन् । गीतले मनको कुरा गर्नुपर्छ, मर्मलाई बोल्नुपर्छ भन्ने उनले लोकगीतदेखि पप, रक आधुनिक, भोजपुरी फिल्मी गीतमा संगीत भरिसकेका छन् ।
संगीतमा लाग्छु भन्ने कुनै योजना थिएन उनको । तर पनि गायन र वाद्यवादनमा औधी रुचि थियो । उनले गोरखपुर गएर संगीत सिकेर आएको भनेपछि सबै साथीले गीत गाउन हौसला दिए । कोही गितार सिक्न आउँथे, कोही मादल बजाउन र तबला सिक्न । व्यवसायबाट फुर्सद निकालेर उनी सांगीतिक कार्यक्रममा व्यस्त हुन्थे ।
केही विशेष गर्नुपर्छ भनेर काठमाडांै पनि आए । थप अध्ययन गर्ने, एल्बम निकाल्ने, गजल गाउने गरेर केही समय यतै अल्मलिए । तर यहाँको वातावरणले उनको क्षमतालाई चिनेन, निराश भएर बुटवल फर्किए । मोफसलमै केही गर्नुपर्छ भनेर कस्सिए । व्यवसाय छाडेरै तिनाउ संगीत सरगम हँुदै बागेश्वरी संगीतालयको स्थापना गरी संगीत साधनामै लागिपरे ।
सधैंभरि मोफसलकै माया गर्ने सेन्चुरी अहिले भने त्यति खुसी छैनन् । केन्द्रको नजरमा मोफसल कहिल्यै पहिलो प्राथमिकतामा नपर्ने उनले अनुभव गरेका छन् ।