पहिरोले साँफे-मार्तडी सडक अवरुद्ध
बाजुरा : लगातारको वर्षाले साँफे-मार्तडी सडकखण्डको ठाउँ ठाउँमा पहिरो आएपछि मंगलबार रातीबाट सडक अवरोध भएको छ । सडकको ठाउँठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएसँगै यातायातका साधन तथा स्थानीयलाई समेत आवतजावतमा समस्या भएको छ ।
बडिमालिका नगरपालिकाको पानी नाउला, बल्दे, अम्कोट, तिपाडालगायतका ठाउँमा सडकको माथि र तलबाट पहिरो गएर सडक भाँसिएपछि यातायात अवरुद्ध बनेको हो। मंगलबारदेखि आएको वर्षाले बुढीगंगा नगरपालिकाको द्वारीमा पहिरो गएपछि बुधबार बिहानबाट यातायातका साधन बन्द भएको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ ।
सडक अवरोध भएपनि खुलाउनका लागि कुनै पहल हुन भएको छैन् । ठाउँठाउँमा गएको पहिरोले आवतजावतमा समेत निकै समस्या भएको स्थानीय शुशिल थापाले बताए।त्यस्तै बल्धे नजिकै भाँसिएको सडकमा यातायत संचालन गर्न एलामेन्ट बदल्नु पर्ने अवस्था भएपनि सरकारको वेवास्ताले यो वर्ष पनि जोखिम हुने देखिएको व्यापारी बताउँछन्।
वर्खा सुरू भएसँगै दुई वर्षदेखि साँफे -मार्तडी सडक अवरुद्ध हुँदै आएको छ। सडक जोखिम रहेको सम्बन्धित निकायलाई जानकारी भए पनि कसैले वास्ता नगरेको नागरिक समाजका अगुवा शेरबहादुर शाहीले बताए।गएको वर्ष ३ महिना उक्त सडक अवरुद्ध भएको थियो ।
विगतका वर्षमा वर्षातको समयमा एकै ठाउँमा पटकपटक पहिरो खसेपछि सडक अवरोध हुँदै आएको थियो । सडक जोखिममा हुँदा सदरमुकाम मार्तडी, बाजुराको उत्तरी क्षेत्रका चारओटा स्थानीय तह र कर्णाली प्रदेशका हुम्ला र मुगु कालिकोट जिल्लाका केही स्थानीय तहको आगमनमा समस्या हुने भएको छ ।गत वर्षमा सडक अवरोध हुँदा यी क्षेत्रमा दैनिक उपभोग्य वस्तुका साथसाथै औषधिको चरम अभाव भएको थियो ।