दश वर्षअघि बसमा बम विस्फोटन गराएको आरोपमा दुईजना पक्राउ
रौतहट : दश वर्षअघि गुडिरहेको बसमा बम विस्फोट गराएर फरार रहेको आरोपमा रौतहटमा प्रहरीले दुईजनालाई बुधवार पक्राउ गरेको छ । प्रहरीले इशनाथ नगरपालिकाका रामपुरखाप टोलका शेख गुलाम सरवर र दिलिपकुमार साहलाई पक्राउ गरेको हो ।
दुवैजना विरुद्ध ज्यान मार्ने उद्योग तथा विष्फोटक पदार्थ सम्बन्धी मुद्दा दर्ता गरेरको अनुशन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी भरत श्रेष्ठले जानकारी दिएका छन् । घटनाका अन्य ५ फरार व्यक्तिको समेत खोजी भइरहेको प्रहरीले जनाएको छ ।
२०६७ साल चैत्र ११ गते गौरबाट चन्द्रनिगाहपुरतर्फ आउँदै गरेको ना २ ख ५७२१ नम्बरको बसमा बम विष्फोट हुँदा १३ जना घाइते भएका थिए । विष्फोटको जिम्मा तत्कालीन भूमिगत समूह तराई जनतान्त्रिक मुक्ति मोर्चाले लिएको थियो । विष्फोट बिरेन्द्र राजमार्गको हजमुनिया चौक नजिकै भएको थियो ।