सीमामा सशस्त्रको गस्ती, पाँच पिल्लरको अनुगमन सकियो
जोमसोम : उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको हिमाली जिल्ला मुस्ताङको उत्तरी कोरला नाकालगायतका स्थानमा सशस्त्र प्रहरी युनिटले नियमित गस्तीलाई तिब्रता दिएको छ। सरकारले सिमित श्रोत साधनका बाबजुत गत जेठ १५ गते मुस्ताङको लोमान्थाङ-१ नेचुङमा सशस्त्र बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरेको हो। अहिले यहाँ सीमा सुरक्षाका लागि खटिएका करिब २५ जना सशस्त्र प्रहरी जवानले सीमा क्षेत्र गस्ती गर्ने कार्यलाई अघि बढाएका हुन्।
सशस्त्र बलको टोलीले कोरला नाकामा खटिएका चिनियाँ सुरक्षा अधिकारीको द्विपक्षीय समन्वयमा हतियार र पोषाकसहित गस्ती गर्ने कामलाई अघि बढाएको नेचुङस्थित बीओपीका कमाण्डर सशस्त्र प्रहरी निरीक्षक डम्बरबहादुर श्रेष्ठले अन्नपूर्ण अनलाइनलाई जानकारी दिए। बीओपी स्थापनाको एक महिना पुग्न लाग्दा ५ वटा पिल्लरको अनुगमन सम्पन्न भएको उनले बताए। उनले डोल्पातर्फको क्षेत्रमा सिमाना जोडिएको २०, २१, २२, २३ र मुस्ताङतर्फको २४ नम्बर पिल्लर गरी कुल ५ वटा जंगे पिल्लरको अनुगमन भइसकेको जानकारी दिए। उनले अब छिट्टै डोल्पातर्फ बाँकी रहेको १८ र १९ र मनाङतर्फको २५, २६, २७, २८, २९, ३०, ३१, ३२ र ३३ नम्बर पिल्लरको अनुगमन तथा निरीक्षण गर्ने योजना रहेको सशस्त्र प्रहरी निरीक्षक श्रेष्ठले बताए।
समुन्द्री सतहदेखि करिब ५ हजार मिटर अग्लो उचाईमा अवस्थित उत्तरी कोरला नाकाको सीमा सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरी बलको उपस्थितीले विगतमा हुने अवैध गतिविधि तथा तस्करी रोकथाममा टेवा पुगेको जनाइएको छ। उत्तरी चीनको कोरलापासँग सीमा जोडिएको डोल्पातर्फ ६ वटा र मनाङतर्फ ९ वटा पिल्लर छन्। २४ नम्बर पिल्लर भने नेपाल-चीनको मुख्य आधार प्वाइन्टको पिल्लर मानिएको छ। यी १६ वटै पिल्लर मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकासँग जोडिएको छ। चीनपक्षसँग समन्वय गर्दै सबै पिल्लरको गस्ती गरिने निरीक्षक श्रेष्ठले जानकारी दिए।
सुख्खा पठार क्षेत्र, कठिन र चुनौतिपूर्ण भौगोलिक अवस्थाका कारण कोरला क्षेत्रमा पैदल गस्ती गर्नुपर्ने बाध्यता रहेको श्रेष्ठले उल्लेख गरे। यसअघि मुस्ताङको उत्तरी कोरला नाकामा पर्ने १६ वटै पिल्लरको सरकारी तवरबाट अनुगमन तथा निरीक्षण गर्ने योजना रहेपनि विश्व व्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरस ( कोभिड-१९) का कारण स्थगित भएको थियो।
मुस्ताङको उत्तरी सीमा रक्षाका लागि सरकारले नेचुङस्थित भन्सार कार्यालयको नवनिर्मित भवनमा सशस्त्र क्याम्प खडा गरेको छ। त्यहाँ ईलाका प्रहरी कार्यालयको टोलीसमेत बसेको छ। नेचुङमा सशस्त्रको क्याम्प स्थापना गर्न त्यसको नजिकै थुम्कोमा ३३ रोपनी जग्गा प्राप्त भइसकेको छ। बीओपी स्थापनाका क्रममा सशस्त्रका एआईजी नारायण बाबु थापाले छिट्टै सशस्त्र क्याम्पको सम्पूर्ण पूर्वाधार निर्माण लगायतका काम सुरु हुने बताएका थिए। लोमान्थाङ-१ को उत्तरी कोरला नाकाको दशगजा यता भन्सार, अध्यागमन तथा सुरक्षा पूर्वाधार निर्माणका लागि मुख्य सडकको दायाँबायाँ एक हजार रोपनी जग्गा भन्सारका नाममा लालपूर्जा प्राप्त भइसकेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रकाश अर्यालले जानकारी दिए। नेचुङमा रहेको सशस्त्र प्रहरीको बीओपी क्याम्पदेखि यता २० किमी फेरो लुङ्खु फाँटमा नेपाली सेनाको टोलीले बसेको छ। त्यहाँ सशस्त्रको व्याकअफमा नेपाली सेनालाई खटाइएको हो।