‘आर्या’ लिएर आइन् सुस्मिता
मुम्बई : बलिउड अभिनेत्री सुस्मिता सेनले एक दशकपछि ‘एक्टिङ करिअर’मा कमब्याक गरेकी छन्। १९ जुनमा प्रदर्शनमा आएको वेब सिरिज ‘आर्या’बाट सुस्मिता अभिनयमा फर्किएकी हुन्। आर्यामा सुस्मिताको सिरिजलाई राम्रो प्रतिक्रिया प्राप्त भइरहेको छ। उनको अभिनयको पनि तारिफ भइरहेको छ। उनले आफूलाई अभिनयको इच्छा हुँदाहुँदै पनि राम्रो स्क्रिप्ट नपाएकाले १० वर्षसम्म बलिउडबाट टाढिनु परेको प्रतिक्रिया दिएकी छन्।
‘मलाई प्रौढ उमेरको रोल मात्र अफर आइरहेको थियो, त्यस्तोमा मलाई अभिनय गर्न मन थिएन। राम्रो स्क्रिप्टको खोजीमा थिएँ। आर्याको स्क्रिप्ट मलाई निकै राम्रो लाग्यो र अभिनय गर्ने निर्णय गरेँ’, उनले यस सिरिजमा आफ्नो अभिनय दर्शकले मन पराएकोमा प्रफुल्लित हुँदै आगामी दिनमा समेत यस्तै सहयोग मिल्ने अपेक्षा गरेकी छन्।
आर्या प्रदर्शन हुनुअघि नै यसैको पाँचवटा सिरिज लेखन सकिइसकेको बताइएको छ। सन् १९९४ की मिस युनिभर्स सुस्मिता सन् १९९६ मा फिल्म ‘दस्तक’मार्फत बलिउडमा डेब्यु गरेकी हुन्। सन् २०१० मा रिलिज भएको फिल्म ‘दुल्हा मिल गया’पछि उनी बलिउडबाट गुमनामसरह थिइन्।