स्थानीय तहले ल्याए बजेट : कृषि प्राथमिकतामा

स्थानीय तहले ल्याए बजेट : कृषि प्राथमिकतामा

बैतडी : बैतडीका स्थानीय तहले कृषिलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् । बुधबार सार्वजनिक गरिएको नीति तथा कार्यक्रम र बजेटमा सबै जसो स्थानीय तहले कृषिलाई प्राथमिकतामा राखेर युवालाई स्वरोजगार बनाउने दाबी गरेका छन् । यस्तै कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि पनि स्थानीय तहले बजेट विनियोजन गरेका छन् ।  

जिल्लाको सुर्नया गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ३९ करोड १३ लाख बराबरको बजेट सार्वजनिक गर्दै कृषि, स्वास्थ्य, पशुपालन, धार्मिक पर्यटनलाई प्राथमिकतामा राखेको छ । गाउँसभामा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै उपाध्यक्ष लीला बिष्टले कोरोना भाइरसबाट उत्पन्न समस्या सम्बोधनका लागि गाउँपालिकाले नीति लिएको बताइन् । उनले भनिन्, ‘विदेशबाट फर्केका नागरिकलाई स्वदेशमै कृषिमार्फत आत्मनिर्भर बनाउनका लागि कृषिलाई प्राथमिकता दिएका छौं ।’

क्वारेन्टाइनमा व्यवस्थापनदेखि लिएर आइसोलेसन निर्माणका कुरा नीति कार्यक्रममा समेटिएको गाउँपालिकाका अध्यक्ष बीरबहादुर बिष्टले बताए । उनले भने, ‘अहिलेको महामारीसँग जुध्न र युवालाई स्वरोजगार उन्मुख बनाउने हिसाबले नीति, कार्यक्रम र बजेट ल्याएका छौं ।’यस्तै दोगडाकेदार गाउँपालिकाले ५५ करोड ४२ लाख ४३ हजार बराबरको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाले आर्थिक क्षेत्रमा ३० प्रतिशत, सामाजिक क्षेत्रमा ३० प्रतिशत, पूर्वाधार विकासमा ३० प्रतिशत, विपद् व्यवस्थापन ६ प्रतिशत, संस्थागत विकासमा २ प्रतिशत र बित्तीय सुशासनमा २ प्रतिशत बजेट विनियोजन गरेको गाउँपालिका अध्यक्ष चक्र कार्कीले बताए । ‘लघु उद्यम, तरकारीखेतीमा जोड दिंदै युवाहरुलाई कृषितर्फ आकर्षित गर्न बजेट विनियोजन गरेका छौं ।’

यस्तै पुर्चौंडी नगरपालिकाले ५९ करोड ९६ लाख ९१ हजार बराबरको बजेट सार्वजनिक गरेको छ । कृषि, स्वास्थ्य, स्वरोजगार लगायतका कुरालाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरिएको नगर प्रवक्ता दलबहादुर धामीले जानकारी दिए  । यस्तै सिगास गाउँपालिकाले ४७ करोड बराबरको बजेट सार्वजनिक गरेको छ । कोभीड १९ ले निम्त्याएको संकट समाधानका साथै पूर्वाधार निर्माणमा बजेटले प्राथमिकता दिएको गाउँपालिका उपाध्यक्ष द्रोपती चन्दले जानकारी दिइन् । उनले भनिन्, ‘हामीले दुर्गम ठाउँमा सडकको पहुँच र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेका छौं । यस्तै कोभीड १९ नियन्त्रण र रोकथाम गर्न पनि बजेट विनियोजन गरेका छौं ।’

यस्तै शिवनाथ गाउँपालिकाले ३५ करोड ८१ लाख ७५ हजार बराबरको बजेट सार्वजनिक गरेको छ । युवा स्वरोजगारी र कृषिलाई प्राथमिकतामा राखेर बजेट ल्याइएको गाउँपालिका उपाध्यक्ष कुस्मा चन्दले जानकारी दिइन् । यस्तै मेलौली नगरपालिकाले ५९ करोड ४२ लाख ७२ हजार बराबरको बजेट सार्वजनिक गरेको नगर उपप्रमुख राधा ओझाले जानकारी दिइन् । कृषिलाई प्राथमिकता दिएर बजेट आएको र कृषिमा यूवालाई जोड्ने हिसाबले नीति कार्यक्रम ल्याइएको उनले बताइन् । 

पाटन नगरपालिकाले बुधबार नगरसभामा नीति तथा कार्यक्रम मात्रै पेश गरेको छ । समुन्नत नगर बनाउने हिसाबले नीति तथा कार्यक्रम ल्याइएको र केही दिनभित्रै बजेट ल्याउने नगरप्रमुख केशवबहादुर चन्दले जानकारी दिए । यस्तै डिलाशैनी गाउँपालिकाले पनि नीति तथा कार्यक्रम मात्रै सार्वजनिक गरेको छ । 
जिल्लाको दशरथचन्द नगरपालिकाले नगरपालिका क्षेत्र सिल गरिएकाले नीति कार्यक्रम र बजेट ल्याउन नसकेको जनाएको छ । नगर क्षेत्र सिल गरिएकाले असार १६ गतेपछि नीति कार्यक्रम र बजेट ल्याइने नगर प्रवक्ता चक्रप्रसाद शर्माले जानकारी दिए  । यस्तै वर्षातका कारण पञ्चेश्वर गाउँपालिकाले पनि बुधबार बजेट सार्वजनिक गर्न नसकेको बताइएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.