‘भान्छा’ छुट्टाछुट्टै

‘भान्छा’ छुट्टाछुट्टै

हाम्रो भेग (उत्तरी गोरखा) मा छेवर (व्रतबन्ध) धूमधामका साथ तीन दिनसम्म मनाउने प्रचलन छ। विशेषतः यो जनजाति समुदायको प्रचलन हो। गुरुङ र मगर समुदायमा छेवरमा मामाको भूमिका विशेष हुन्छ। छेवर विशेषगरी जोर वर्षमा गर्नुहुन्न भन्ने मान्यता छ र बिजोर वर्षमा गर्र्ने गरिन्छ। 

अर्कोतर्फ मामाले कपाल काट्दा छेवर गर्ने व्यक्तिको आमा-बाबुले हेर्नु हुँदैन भन्ने सांस्कृतिक मान्यता पनि उत्तिकै छ। छेवर गर्नुभन्दा अघिल्लै दिन मावली आउने, एक रात आफ्ना दिदीबहिनीको घरमा बास बसेर मात्रै भोलिपल्ट आफ्नो भान्जाको कपाल काट्न पाइन्छ। 

भोलिपल्ट लगनको समय गाउँघरकै जैसीबाट निर्धारण हुन्छ। कपाल काट्नका लागि फलफूलको बिरुवाको फेद वा मठ-मन्दिरलाई नै मुख्य स्थानका रूपमा लिइन्छ। लगनको समयभन्दा केही समयअघि मामाले भान्जा र गाउँघरका कन्याहरूले सगुन बोकेर अघि-अघि हिँड्छन्। दमाई जातिले पञ्चेबाजा ठोक्दै बाटो देखाउँछन्। यदि पञ्चेबाजा नभए त्यसको प्रतिनिधित्व गर्ने कुनै एउटा बाजा र त्यस बाजा बजाउने व्यक्तिको भूमिका गौण हुन्छ। जसलाई गाउँघरको भाषामा ‘सगुने दमाई’ भन्ने प्रचलन छ। 

मामाले कपाल काटेपछि नयाँ कपडासमेत आफ्नो घरका (विष्ट) दमाईले सिलाएको कपडा लगाउने र थैली लिनुपर्ने हुन्छ। त्यसपछि मात्र मामाले आफ्नोतर्फबाट लुगा-फाटा, सुन-चाँदी र सकेको दान-दक्षिणा दिने गर्दछन्। हामी सानो छँदा गाउँघरको भोजभतेरमा दुई किसिमको भान्छा बनाइन्थ्यो। एउटा भान्छा समाजले भन्ने गरेको उपल्लो जातको र अर्काे दलितका लागि। त्यसमा पनि ब्राह्मणलगायतका उच्च जातिका लागि जनजातिको भोजभतेरमा सेल, फलफूल र चिया÷दूध मात्र राखिन्थ्यो। 

भतिजको छेवरमा मावली भएर आएको युवाको मस्तिष्कमा मात्र होइन, अधिकांश युवा मस्तिष्कमा छुवाछूत प्रथाले डेरा जमाइरहेको छ।

१० वर्षे माओवादी आन्दोलनको प्रभाव हाम्रो क्षेत्रमा राम्रै पर्‍यो। माओवादी स्कुलिङको प्रभावका कारण देखिने गरी जातप्रथाको अन्त्य हाम्रो क्षेत्रमा उतिबेलै लगभग अन्त्य भइसकेको थियो। देशमा गणतन्त्रको उदयपश्चात् हाम्रो भेगमा सबैका लागि समान भान्छा र हिजोको जस्तो टाढैबाट खाना, पानी राख्ने जमानाको अन्त्य लगभग भयो। 
गत पुसमा गाउँको एक जना भाइले आफ्नो छोराको छेवरको निम्तो दियो। गाउँमा भएपछि भान्छे-पँधेरीका साथै चुले निम्तो आउनु स्वाभाविक थियो। सहभागी बन्नु मात्रै भन्दा पनि छेवरमा आएका पाहुनालाई राम्रो खुवाउने भन्ने मुख्य ध्यान हुन्छ हाम्रो। त्यही अनुसारको कार्य विभाजनअनुसार मेरो काम खाना पकाउने थियो। 

जनजाति समुदायमा त्यस्तो अवस्थामा मावलीको महत्व ज्यादा हुन्छ। उच्च सम्मानका साथ राखिन्छ। सम्मानमा कुनै कमी हुन दिइँदैन। अर्कोतर्फ कहिलेकाहीँ भान्जाले भनेको नमाने छेवरको प्रसङ्ग राम्रोसँग निस्कने गर्छ। यदि व्रतबन्ध गरिसकेको भए ‘अब त के भनेको मान्थ्यो र छेवर गरिदिइहाल्यो’ भन्ने र गरेको छैन भने ‘छेवर गर्न बाँकी छ नि !’ भनेर आफू माथि पर्ने गरिन्छ। 

गुरुङको मृत्यु संस्कारमा समेत मावलीको भूमिका उल्लेख्य हुन्छ। मरिसकेको मानिसलाई मावलीले पिउरी (कपास¬) दिने चलन छ। त्यसकारण अर्को शब्दमा मावलीलाई पिउरीको धनी पनि भनिन्छ। कुनै कारणले चेलीबेटी र मावली पक्षको बीचमा झैँझगडा भए यस्ता कुरा छेवर र मृत्यु संस्कारको समयमा निस्कने गर्छ। 

छेवरमा कपाल काट्ने कार्यक्रम सकिएपछि मुख्य कार्य मावलीलाई खाना खुवाउने हो। घरबाट भान्छा (बारीको पाटासम्म) अघि-अघि पञ्चेबाजा बजाउने टोलीको समूह र पछि-पछि मावली टोलीको लर्को हुन्छ। बाजा बजाउने टोलीले मावली टोलीलाई खाना खानका लागि प्राथमिकता दिने प्रक्रिया स्वभाविक हो। त्यसपछि पालो आउँछ पञ्चेबाजा समूहको। हामीभन्दा अघिल्लो पुस्तासम्म बाजा बजाउने समूहलाई छुट्टै खाना खुवाउने प्रचलन थियो। तर, हाम्रो पुस्ताले एउटै भान्छा चलाउन थालेको करिब एक दशक भयो। 

त्यस दिन बाजा बजाउने समूहको मुल्केले थाल मात्र समातेको के थियो, उमेरले भर्खर तीन दशक काटेको मावली पक्षको एक युवाले धर्म र संस्कृतिको नाममा प्रवचन दिन थाले। रिसले चुर बनेका ती युवाले ‘सानो जातलाई भान्छा छुन दिने ? कुल के हो तिमीहरूलाई थाहा छैन ? यस्तो कम्निस्ट भान्छा÷शासन हामीलाई चल्दैन !’ भने। प्रश्न कुनै पनि कोणबाट पच्ने, युग सुहाउँदो र तार्किक थिएन। तर, हामी भान्छेमा एउटै कुराको धैर्य थियो- मावलीलाई सम्मान गर्नुपर्छ। सहभागीमध्ये कसैको मुखबाट पनि कुनै शब्द निस्केन। रमाइलो माहोलमा एकाएक सन्नाटा छायो। नशामा लिप्त भएका ती युवा धेरै समयसम्म बरबराए। त्यसपछि बाजा समूहको मुल्केले मुख खोले- ‘खै हामी त वर्षौँदेखि एउटै भान्छामा खाने गरेका छौँ, यदि तपाईंहरूलाई रमाइलो चाहिँदैन भने हामी जान्छौँ।’ त्यसपछि ती युवालाई मावली पक्षले सम्झाउन थाले। 

माथिको घटना एउटा प्रतिनिधिमूलक घटना मात्र हो। समाजमा जातप्रथाको जरा निकै गहिरो छ। देशले १३औँ गणतन्त्र दिवस मनाउँदासमेत छुवाछूत प्रथाको उन्मूलन भएको छैन। आमजनताले गणतन्त्रमा समावेशिता हुन्छ भनेरै उत्तम व्यवस्थाका रूपमा यसलाई लिएका हुन्। 

केही समय अगाडिको रुकुम घटनाले समेत २१औँ शताब्दीमा जात व्यवस्थाको अन्त्य भएको छैन भन्ने कुरा स्पष्ट गराउँछ। १० वर्षसम्म पहिचान र समावेशिताको नारालाई आत्मसात् गर्दै बन्दुक बोक्नेहरू आज सत्ता र सदनमा छन्। उनीहरूले नै रुकुम घटनाका सम्बन्धमा सदनमा कुरा चपाएर प्रस्तुत हुनुले राम्रो सन्देश दिएको छैन। के हामीले खोजेको पहिचान र समावेशिता यही हो त ? भेरी नदी आसपासको स्थानलाई १० वर्षे युद्धको समयमा सबैभन्दा उर्वरभूमि मानिन्थ्यो। भेरी नदीको पानी पिउँदै रुकुम, रोल्पाबाट परिर्वतनको सन्देश दिनेहरू आज सदनमा गुपचुप बस्दा सत्ताको प्रकृति सामन्ती स्वभावको हुन्छ भन्ने सन्देश राम्रै दिएको छ। नवराज विकलगायतका मानिस दिनदहाडै कथित जातको नाममा कुटी-कुटी भेरीमा बग्नुमा सत्ताको दोष कि परिवर्तनको नाममा सत्तामा बस्नेको ? आखिर परिवर्तन के रहेछ ? 

अर्कोतर्फ हिजो गणतन्त्र र समावेशिताको मुद्दा बोक्नेहरू आज कमजोर कित्तामा छन्। जसको नतिजा चुनावमा समेत देखिइसकेको छ। यतिबेला जातीयताको मुद्दा बोक्नेको राजनीतिक भविष्य उज्ज्वल देखिँदैन। 

कोरोना भाइरसका कारण मुलुक आज लकडाउनमा छ। ७५ दिन अर्थात् साढे दुई महिना हामीलाई भौतिक दूरी कायम गर्न कति गाह्रो भो ? अब सोचौँ- आज हामीले भन्दा धेरै कडा खालको सामाजिक दूरी र विभेद यो समाजमा शताब्दीयौँदेखि भोग्दै आएका दलितलाई कस्तो भयो होला ?

आजको भारतमा करिब ३५ सय वर्षअघि नै वर्णव्यवस्थाको जग हालिएको थियो। इ.पू. ६०० को आसपासमा पुग्दा वर्ण व्यवस्थाभित्र छुवाछूतसमेत थपिएको छ। नेपालमा लिच्छवी कालबाट छुवाछूतको सुरुवात भएको हो। लिच्छवी शासकले चार वर्ण अठार जातको स्थिति कायम गरे। त्यसका साथै मल्ल वंशले पनि छुवाछूतलाई कठोर ढङ्गले नै लाद्दै आए। मल्ल शासकले पनि चार वर्ण चौसट्ठी जातमा समाजलाई विभक्त पारे। गोरखाका राजा राम शाहले पनि वर्णव्यवस्थालाई बलियो पार्न ‘चार वर्ण छत्तीस जात’को व्यवस्था भने।

 पृथ्वीनारायण शाहले सिङ्गो आधुनिक नेपालको शासक बन्न हिन्दु सामन्तवादी राज्यले छुवाछूतयुक्त वर्णव्यवस्था नभएका जनजातिलाई समेत हिन्दु सामन्तवादी समाजभित्रका दलितप्रति छुवाछूत-भेदभाव गर्न सिकाए र विगत २३७ वर्षमा जनजातिसमेत यसबाट प्रशिक्षित हुन पुगे। जङ्गबहादुर राणाले सत्ता हातमा लिएपछि १९१० सालमा मुलुकी ऐन जारी गरी पहिलेदेखि अछूत बनाइएका दलितलाई पानी नचल्ने जातका रूपमा कानुनी छाप लगाइदिए र त्यही अनुसारको दण्डसजायको व्यवस्था गरे। उनले छुवाछूतयुक्त वर्णव्यवस्थालाई लिखित रूपमै संस्थागत गरे। आहुतिले यस्तै लेखेका छन्। 

यसरी हेर्दा छुवाछूतले लामो कालखण्ड पार गर्दै आएको पाइन्छ। इतिहासको सिंहावलोकन गर्दा सबै खाले शासकले छुवाछूतलाई कुनै न कुनै ढंगबाट संरक्षण गर्ने काम गरे। न्यूनीकरण गर्ने प्रयास सबैले गरेको देखिन्छ तर अन्त्यको बाटो कसैले रोजेनन्। 

आजको समाजले पृथ्वीनारायण शाहको इतिहास खोज्दै गर्दा उनलाई राज्य एकीकरणमा सहयोग गर्नेहरू बिसे नगर्ची (दमाई), बाङ्गे सार्की र धार्ने कामीको पनि इतिहास आजको आधुनिक समाजले खोज्नुपर्छ। यदि बिसे दमाईले पृथ्वीनारायणलाई कर उठाउने सल्लाह नदिएको भए सायद उनी आजको पृथ्वीनारायण हुँदैनथे होला। तर, आज हेरौँ बिसेका पुस्ता हिजोभन्दा आज झन् दयनीय अवस्थामा छन्। आफूलाई परिवर्तनको ठेकेदार ठान्नेहरूले संघीय संरचनामा स्थानीय तहहरूको नामकरण गर्दा भीमसेन थापा, लखन थापा नाम राख्न भ्याउँदा बिसे गाउँ÷नगरपालिका राख्न किन सकेनन् ? 

जातकै कारण पृथ्वीनारायणको सप्रेका त कुरा छाडौँ सबैभन्दा बिग्रेका पुस्तालाई हेर्दा पनि उसको सामाजिक, आर्थिकलगायत हैसियत कस्तो छ ? त्यति मात्र होइन, कालु पाण्डेलाई बिसेले काजी तोक्नसमेत पृथ्वीनारायणलाई सल्लाह दिएका थिए। त्यसैको फलस्वरूप आजको पुस्तासम्म पनि पाण्डेहरू जन्मनसाथ नामका अगाडि काजी पद बोक्न योग्य भएका छन्। तर, बिसेको पुस्ता भने आजसम्म पनि दलितै रहिरहनुपर्ने, छुवाछूत नै सहिरहनुपर्ने यो कस्तो व्यवस्था हो ? आजको आधुनिक समाजले इतिहासको सूक्ष्म पक्षको अध्ययन कहिले गर्ला ? होइन भने, इतिहास जित्नेका लागि मात्र हो भन्ने भनाइले अझै केही शताब्दीसम्म राज गर्ने निश्चित छ।

विशेषतः नेपाली समाजभित्र तीन समुदायमा छुवाछूत प्रथा रहेको छ। खस-आर्य, मधेसी र नेवार समुदाय। शासकहरूले आफ्नो शासन व्यवस्था बलियो बनाउनका लागि प्रत्येक जातभित्र तह निर्धारण गरिदिए। जस्तो, ब्राह्मणभित्र पनि उपाध्याय र जैसी, क्षेत्रीभित्र झर्रो, खस यस्तैयस्तै, जनजातिभित्र मासिने र नमासिने, दलितभित्र पानी चल्ने र नचल्ने। 

यसरी शासकले एक जातिलाई अर्को जातसँग प्रतिस्पर्धा र बराबर हो भन्ने मौका नै दिएनन्। त्यसैको फलस्वरूप शासकले वर्षौंसम्म राज्यसत्ता आफ्नो हातमा लिन सफल भए। त्यसको मारमा नेपाली समाज पर्नु कुनै नौलो कुरा रहेन तर पिँधमा सधैँ एउटै जात मात्र पर्नु आफैँमा दुःखद पक्ष हो। आज गणतन्त्रात्मक व्यवस्थासम्म आइपुग्दा पनि यसको हरक नमेटिनुले गणतन्त्रको खिल्ली उडिरहेको छ। हाम्रो गणतन्त्र छुवाछूतयुक्त गणतन्त्र बन्न पुगेको छ। 

हालसम्मको अवस्थालाई हेर्दा नेपाली शासक जातजातिलाई श्रेणीमा राख्दै शासन सत्ता सञ्चालनमा सफल देखिए। देशमा राजतन्त्र, जहानियाँ शासन, प्रजातन्त्र, बहुदल र गणतन्त्रको स्थापना हुँदासमेत छुवाछूत प्रथाको अन्त्य कुनै पनि शासन व्यवस्थाले गर्न सकेन। 

संघीय गणतन्त्रले समेत दलितको अवस्थालाई वडा सदस्यभन्दा माथि बन्ने हैसियत दिएन। सामान्य रूपमा हामी गणतन्त्रकै अवस्थामा भएका चुनावी प्रक्रियालाई हेर्दा पार्टीको वर्चश्व भएको स्थानमा समेत जातकै कारण अपवादबाहेक धेरै दलित उम्मेदवार पराजित हुन पुगे। 

आज पनि वर्षभरि कामीलाई फलाम पिटाएर, दमाईलाई लुगा सिउन लगाएर वर्ष दिनमा एक डोको मकै र दसैँमा बलि दिएको बाख्रा, खसी, सुँगुरको पुच्छर दिने चलनको अन्त्य आजको गणतान्त्रिक समाजले समेत गर्न सकेको छैन। बाटोमा हिँड्दै गर्दा दलित भेटियो भन्दै मुन्टो बटारेर थुक्दै हिँड्ने गणतान्त्रिक समाजका मान्छे हामी नै हौँ। 

राज्यले चाहेमा छुवाछूतको अन्त्य गर्न सक्छ। उदाहरणका रूपमा राणा शासनअघि काठमाडौँका नेवार समुदायको मानन्धरलाई दलितका रूपमा व्यवहार गरिन्थ्यो तर राणाले विभिन्न स्वार्थपूर्तिको बहानामा मानन्धरलाई छुवाछूतबाट मुक्त गराइदिए। तर, हाम्रो गणतन्त्रले त्यसो गर्न सकेको छैन। 

त्यसैले भतिजको छेवरमा मावली भएर आएको युवाको मस्तिष्कमा मात्र होइन, अधिकांश युवा मस्तिष्कमा छुवाछूत प्रथाले डेरा जमाइरहेको छ। यसको अन्त्य गर्नका लागि आफूलाई गणतन्त्र र परिवर्तनका हिमायती भन्ने र भनाउनेहरू अग्रसर हुनुपर्छ। होइन भने हामी जातप्रथामै अल्झिरहँदा हाम्रो देशको समृद्धि पनि गफमा मात्रै अल्झिइरहन्छ त भन्नै नपर्ला। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.