बच्चाहरू भनेर वास्ता नगर्ने कस्ता कच्चाहरू !
अवस्था सामान्य हुन्थ्यो भने सहरमा बस्ने बालबालिकालाई बिहानै उठेर तयार भई स्कुल बसको पर्खाइमा आफ्नो शरीरको तौल बराबर भारी बोकेर सडक छेउमा पुग्न हतार हुन्थ्यो। गाउँतिर भए बिहान उठेर बिस्तारै दैनिकीको सुरुवातसँगै स्कुलसम्मको दूरी पाइलाहरूले नापिरहेका हुन्थे। तर, अहिले अवस्था सामान्य छैन।
विगत तीन महिनादेखि बालबालिकाहरू घरभित्रै छन्। कतिपयको इन्टरनेटको माध्यमबाट कक्षा सञ्चालन भइरहेको होला। नहुनेहरू टेलिभिजन वा मोबाइलबाटै दैनिकीको सुरुवात र अन्त्य गरिरहेका होलान्। ग्रामीण भेगमा केटाकेटीहरू भुइँमा धुलोमाटो र सुपारीको पत्तामा बसी ‘गाडी कुदाइ’ खेल्नमा व्यस्त होलान्।
समय आफैँमा महत्वपूर्ण हुन्छ। कतिपयले यो समयलाई रचनात्मक बनाएर बिताइरहेका होलान्, कतिपयले यसलाई कटाइ मात्रै रहेका होलान्। तर, महामारीले भोलि बालबालिकालाई कस्तो दिशानिर्देश गर्छ भन्नेबारे बालबालिकाको अवचेनताले पक्कै सोचेको छैन। यो लेख त्यही बालबालिकाको अवचेतनालाई चियाउने प्रयासको उपज हो।
कोभिड १९ को यो महामारी आउनुअघि जुन व्यस्त विश्वमा हामी बाँचिरहेका थियौँ, त्यसले व्यस्तताको बीचमा बालबालिकाका लागि समयानुकूल अवस्थाको सिर्जना त्यति गरेको थिएन। ग्रामीण परिवेशमा यो तर्क लागू नहोला, तर सहरहरूमा यो पर्याप्त मात्रामा अनुसरित बानी थियो। तर, महामारीले बीचमा पारदर्शी पर्दाले छुट्याएका अभिभावक र बालबालिकालाई जोड्ने पुलजस्तो काम गरेको एक हदसम्म मान्न सकिन्छ। एकातिर, यो महामारीकै कारण अभिभावकसँग घरमा पर्याप्त समय व्यतीत गर्ने मौका बालबालिकालाई मिलेको छ भने आफ्ना बुबाआमाले गर्ने हरेक कामकाजमा आफ्नो पनि प्रत्यक्ष उपस्थितिको बोध उनीहरूले गरिरहेका छन्।
अर्कातिर, भयानक पक्ष उत्तिकै स्थापित छ। सन् २०१९ मा युनिसेफले प्रकाशन गरेको तथ्यांंकअनुसार प्रत्येक ५ सेकेन्डमा पन्ध्र वर्षमुनिका एक जना बालबालिकाको मृत्यु हुने गर्छ। प्रत्येक ५ जनामध्ये एक जना बालबालिकाले कुपोषणको सिकारले ज्यान गुमाउँदै आएका छन्। बहुसंख्यक निम्न र मध्यम आय भएका देशमा १० वर्षभन्दा कम उमेरका कुल बालबालिकामध्ये ५३ प्रतिशत बालबालिकाले विद्यालयमा पढाइने सामान्य कथा र प्राथमिक सिकाइका अन्य सामग्री बुझ्न सक्दैनन् भन्ने तथ्यांक छ। यसको कारणका रुपमा बालबालिकाको मस्तिष्क विकास र उनीहरूमा हुनुपर्ने चेतनाको विकासलाई औँल्याइएको छ।
लाग्छ, उसै पनि बालबालिकामाथि खासै ध्यान नदिने हाम्रो समाज र समयमा यो कोभिडले घिउ थपिदिएको छ।
विद्यालय शिक्षा सुरु भएपछि यति लामो समयसम्म विद्यालय बन्द भएको यो पहिलो पटक भएको शिक्षाविद्हरु बताउँछन्। युनेस्कोअनुसार अहिले विश्वभरिका १८८ देशका विद्यालयको नियमित पठनपाठन ठप्प छ। जसमा संसारभरिका १ अर्ब ५० करोडभन्दा धेरै बालबालिका प्रभावित भएका छन्, जो मुख्य गरी शैक्षिक रुपमा विद्यालय जाने उमेर समूहका छन्।
शैक्षिक क्षेत्रमा परेको यो असर भयावह हो। कतिपय देशहरूमा अहिले वैकल्पिक शिक्षाको प्रयोग भइरहेको छ। सञ्चार र प्रविधिको प्रयोगबाट बालबालिकालाई शिक्षा दिने कामको थालनी नेपालमै पनि सुरु भएको देखिन्छ। तर, सञ्चार र प्रविधिमा कम विकसित, इन्टरनेटमा सर्वव्यापी पहुँच नभएको अवस्थामा नेपाल र नेपालजस्ता देशमा यो विधिले झन् समस्या सिर्जना गर्ने देखिएको छ। योजनाबिना सञ्चालन गरिने अनलाइन शिक्षा प्रणालीले नेपालमा वर्गकै कारण विभेदको सुरुवात हुनसक्ने आकलन गरिन्छ।
युनेस्कोअनुसार विद्यालय जाने पुरुषभन्दा महिलाको जनसंख्या ५५ करोड कम छ। इन्टरनेटमा पहुँचकै कुरा गर्दा महिला र पुरुषमा पनि धेरै अन्तर देखिन्छ। अझै पनि धेरै ठाउँमा छोरी र छोरामा घरको काम लगायतका कुरामा फरकपन छ। यसले पनि अनलाइन शिक्षा, इन्टरनेटबाट हुने पढाइलाई प्रत्यक्ष र अप्रत्यक्ष दुवै स्वरुपमा प्रभावित गरिरहेको हुन्छ। शैक्षिक पहुँचको कमीले बालविवाह, बीचैमा पढाइ छाड्ने लगायतका समस्या भविष्यमा थपिन सक्छन्।
नेपालको तथ्यांकलाई हेर्दा हाल २५.२ प्रतिशत जनसख्या गरिबीको रेखामुनि छ। यो समूहमा शैक्षिक चेतना छ, तर प्रमुख आवश्यकताका रुपमा उनीहरूले शिक्षालाई राख्न सक्ने अवस्था छैन। हालसम्म विश्वभर फैलिएको कोभिड १९ को महामारीको अन्त्य वा नियन्त्रण कहिले हुन्छ भनेर आकलन गर्न सकिएको छैन। महामारीले बालबालिकाको शिक्षामा प्रभाव नपरोस् भनेर सरकारको पक्षबाट पनि प्रयास भएका छन्। तर, माध्यमिक शिक्षा निःशुल्क भएपछि ग्रामीण क्षेत्रमा छोराछोरीलाई जेनतेन भए पनि विद्यालय पठाउनु पर्छ भन्ने चेतना आएका अभिभावकले सरकारले सुरु गरेको अनलाइन र भर्चुअल कक्षाले यसलाई सम्बोधन गर्न सक्दैन।
निजी विद्यालयले अनलाइनबाट कक्षा सञ्चालन गरिरहेका छन्। पाठ्यक्रम पनि अघि बढिरहेको छ। तर, देशभरिका प्रायः सरकारी र सामुदायिक विद्यालयमा क्वारेन्टिन सञ्चालित छन्। यी चाँडै खुल्ने सम्भावना निकै न्यून छ। पहिला नै जकडिएर रहेको निजी र सरकारी शिक्षा प्रणालीको विभेद अहिले झन् विकराल बनेको छ। मुठ्ठीभरका धनी वर्गका बालबालिकालाई शिक्षाको पहुँच पुगिरहेको छ। तर, निम्न र मध्यम वर्गका बालबालिकामा अहिले अनुसरण गरिएको शैक्षिक प्रयासले खास प्रभाव पार्ने अवस्था निकै कम छ।
विद्यालय बन्द हुँदा विश्वव्यापी फैलिन सक्ने भय कुपोषण पनि हो। अविकसित र अल्पविकसित देशहरूमा विद्यालयमा खाजा खुवाउने परम्परा अनुदानको आधारमा विद्यालयमा रहिआएको छ। नेपालमै पनि कतिपय विद्यालयमा यो परम्परा छ। र यस्ता विद्यालयमा पढ्नेहरू प्रायः निम्न र मध्यम वर्गका परिवारका बालबालिका रहेका छन्। अहिले महामारीको बीचमा काम सञ्चालन नहुँदा आयस्रोत बन्द छ भने विद्यालय नखुलिदिँदा नियमित पाइने खाजा पनि बन्द छ। डब्लुएचओका अनुसार अफ्रिकाको सिरा लियोन क्षेत्रमा इबोला संक्रमण भएर विद्यालय बन्द हुँदा बाल कुपोषणको दर २ प्रतिशतले बढेको थियो। सन् २०१३ ताका अफ्रिकन महादेशका बालबालिकाले भोग्नुपरेको जस्तो कुपोषण समस्या अन्य देशले अहिले भोग्न सक्छन्। नेपालमै पनि कतिपय ठाउँमा यो समस्या देखिन सक्ने प्रबल सम्भावना छ।
बालबालिकामा नकारात्मक सोच आउने अनुमान गरिन्छ। बाल मस्तिष्कका स्नायुहरूको विकास पर्याप्त हुन उमेरअनुसार सक्रिय हुनुपर्ने हुन्छ। अहिले नेपालमा ठूलो संख्यामा बालबालिका रचनात्मक रुपमा सक्रिय छैनन्। कतिपय दिनभर खेलेर बिताउँछन्, अलि हुने खाने वर्ग भएमा टेलिभिजन वा मोबाइलमा बिताउँछन्। ८÷१० वर्षमुनिका बालबालिकालाई अनलाइन र टेलिभिजन कक्षामार्फत शिक्षा दिने प्रयास भए तापनि सञ्चार आदानप्रदानमा हुने अन्तरालका कारण उचित स्वरुपमा शैक्षिक ज्ञान वा सीपको आदानप्रदान यो किसिमले हुन सक्दैन। शिक्षामा पहुँच कम हुने र यसले अन्य समस्या सिर्जना गर्ने अर्को बृहत् समस्या उत्पन्न हुन्छ।
महामारीले व्यावहारिक रुपमा बालबालिकामा सकारात्मक जागरण ल्याएको भए तापनि त्योभन्दा बृहत् मात्रामा शैक्षिक रुपमा र अन्य प्रकारमा नकारात्मक प्रभाव पारिरहेको छ। परिवारसँग समय बिताउँदा घर र समाजको कुरा बुझ्न सकिने, रचनात्मक हुनसक्ने लगायतका अनुमान गरिएको छ। तर, परिवारमा समय कटाइरहेका बालबालिका रचनात्मक हुनलाई त्यही किसिमको माहोल पनि आवश्यक पर्छ। कतिपय अवस्थामा परिवारबाटै अभिभावकले बालबालिकालाई अनौपचारिक रुपमा पढाउने कुरा उठिरहेको छ। तर, बालबालिकाका अभिभावकमा शिक्षाको पहुँच छ त भन्ने प्रश्नको पनि सम्बोधन हुनुपर्छ।
कोरोना कहरले विश्वका बालबालिकामा निम्त्याएको यो अभूतपूर्व संकटलाई परास्त गर्न के गर्ने त ? प्रमुख कुरा त राज्यस्तरबाट हुने प्रयासहरूले निश्चित समूह वा समुदायलाई मात्रै सम्बोधन गरिनु हुँदैन। राज्यतर्फबाट वर्गीय होस् वा लैगिंक वा अन्य कुनै किसिमका पनि विभेदको सिर्जना हुन सक्ने प्रयास गरिँदा मारमा पर्ने समूहले आफूलाई झन् कमजोर अनुभूत गर्न पुग्छ। अहिले इन्टरनेट र टेलिभिजनमार्फत पढाइको कुरा चल्दा निम्न परिवार, जोसँग टेलिभिजन वा इन्टरनेटको पहुँच छैन, उसले आफूलाई तिरस्कृत सम्झन पुग्छ। आफूलाई शिक्षाको अधिकार नभएको महसुस गर्न सक्ने अवस्था रहन्छ।
यो समस्यालाई पनि राज्यले उचित सम्बोधन गर्न आवश्यक हुन्छ। सँगै महामारीले बालबालिकाको शिक्षामा मात्रै नभएर सम्पूर्ण शैक्षिक प्रणालीमा असर गरेको छ। यसलाई उचित सम्बोधन गरिनुपर्छ। महामारीले कतै अप्रत्यक्ष रुपमा नै आफ्नो शैक्षिक प्रणालीको परिवर्तन आवश्यक हो भन्ने बताइरहेको छ कि भन्ने कुरामा पनि ध्यान दिनु आवश्यक छ। लाग्छ, उसै पनि बालबालिकामाथि खासै ध्यान नदिने हाम्रो समाज र समयमा यो कोभिडले घिउ थपिदिएको छ।
एलएलबी, पाँचौँ सेमेस्टर।