विनम्रतापूर्वक भन्छु- यति बुझिदिनुस्, प्लिज !

विनम्रतापूर्वक भन्छु- यति बुझिदिनुस्, प्लिज !

एक महिना पुग्न लाग्यो, मेरो मेसेन्जरमा ‘के छ खबर ? सन्चै छौ ?’ भन्ने खालका मेसेज देखिन छाडेको छ। कारण गैरदलित साथीहरूबाट आएका केही मेसेज हेर्नुहोस् : ‘कति जातको कुरा गरेको ? जातभन्दा माथि उठ्ने कहिले ? जातको कुरा गर्न थालेपछि पछाडि परिन्छ नि। फेरि तिमीलाई त्यस्तो विभेद कसले गर्छ र ? तिमी त दलितजस्तो पनि देखिँदैनौ। विभेद भन्ने अचेल त्यस्तो खासै छैन। अलिअलि भएको बिस्तारै हटिहाल्छ नि।’

यस्ता मेसेजहरूले मेरो इनबक्स भरिएको छ। यति मात्र कहाँ हो र ? ‘जातीय कुरा गरेर समाज भाँड्न खोज्ने तँलाई ठेगान लाउन परेको हो ?’ जस्ता धम्की पनि आउन थालेका छन्। 
अन्तर्जातीय प्रेम गरेकै कारण ६ जना युवालाई मारेर भेरीमा बगाइयो। दलित भएकै कारण १३ वर्षीया बालिका अंगिरा पासीलाई बलात्कार गरी मारेर रुखमा झुन्ड्याइयो। चार वर्षदेखि अजित मिजारको शवले टिचिङ अस्पतालमा न्याय कुरिरहेको छ। धारा छोएको निहँुमा वडा सदस्यलाई कुटीकुटी मारिन्छ। बोक्सीको आरोपमा दलित महिलालाई टाउको फुट्ने गरी कुटिन्छ। यस्ता कैयौँ घटनाले छर्लंग पारिदएको छ कि नेपाली समाजमा जात व्यवस्थाको पराकाष्ठाले कुन हद पार गेरेको छ भनेर। र पनि तिमी भन्छौ, अचेल विभेद छैन। 

विभेद छैन भन्ने साथी, आऊ एकैछिन कुरा गरौँ। म भन्छु नि- तिमीलाई विभेद कहाँ, कहिलेदेखि र कसरी हुँदै आएको छ। अब कुरा सुरु गरौँ, रुकुममा भएको सामूहिक नरसंहारबाट।
अन्तर्जातीय प्रेम गरेकै कारण ६ जना युवालाई लखेटी लखेटी मारेर भेरीमा फालेको खबर आएपछि सिंगो दलित समुदाय आजसम्म निदाउन सकेको छैन। घटनालगत्तै दोषीलाई कारबाहीको माग गर्दै संसद्मा आवाज उठाउने दलित सांसदहरू मात्रै भए र ताली बजाउने पनि दलित सांसद मात्रै। प्रधानमन्त्रीको चुट्किलामा संसद् भवन थर्किने गरी टेबुल ठटाउने गैरदलित सांसदहरूलाई दलितको समस्या समस्या लागेन। सिंगो दलित समुदाय शोकमा पर्दा उनीहरूलाई कहीँ कतै अलिकति पनि छोएन। देशका सञ्चालकहरू जम्मा भएको ठाउँबाट सुरु भएको छ, विभेद। 

रुकुम नरसंहारपछि विभेदको पराकाष्ठा छताछुल्ल भएर पोखिएको अर्को स्थान हो, सामाजिक सञ्जाल। रुकुमको घटनालाई जातीयकरण नगरौँ, यो जातीय विभेद होइन भन्दै अनेक कुतर्क गर्नेको एउटा ठूलो जमात छ। यो घटना जातीय विभेदका कारण भएको हो कि होइन ? हो भने किन हो ? र होइन भने किन होइन भन्ने विषयमा त्यो जमातले बुझ्नै खोज्दैन। उनीहरूलाई समस्याको जडसम्म पुग्नु नै छैन। बुझ्नु नै छैन। उनीहरूलाई त जसरी हुन्छ, नदेखेजस्तो गरी विभेद कायम नै राख्नु छ र एउटा सिंगो समुदायलाई मान्छे बन्नबाट रोकिरहनु छ। अनि त्यसको भरपूर फाइदा आफूले लिनु छ। 

अरूलाई मान्छे बन्न नदिएर त्यसको फाइदामा मज्जा लिएर रमाउनेको तर्क सुनेर विभेद छैन भन्छौ तिमी। हुन त यी सबै कुरा तिमीले सजिलै कसरी बुझ्छौ र ? तिमी पढेको युनिभर्सिटीले डिग्रीको सर्टिफिकेट त तिम्रो हातमा थमाइदियो तर समाज पढाउन सकेन, न त कहिल्यै पढाउने कोसिस नै गर्‍यो। फलस्वरूप ‘इनफ इज इनफ’ भन्दै सडकदेखि सामाजिक सञ्जालसम्म उर्लिने तिमीलाई जातीय विभेदको घटनाले कहिल्यै छुन सकेन। विभेदविरुद्ध तिमीलाई कहिल्यै बोल्न मन लागेन।

न्याय माग्दै हिँडिरहेका म र मजस्ता धेरैलाई ‘जातीय राजनीति बन्दा गर, जातलाई डलर कमाउने भाँडो बनाउन छोड’जस्ता वाक्यले प्रहार गर्न तम्सिन्छौ। सदियौँदेखि अन्यायमा परेका हामीले न्याय माग्दा पनि तिमीलाई यति साह्रो टाउको किन दुख्छ हँ ? मान्छेको दर्जा पाउनकै लागि अझै हामीले के के गर्नुपर्छ भन त ? घाउमा मल्हम लगाउन नसक्ने तिमी, घाउमा नुन नछरी बस्नचाहिँ किन सक्दैनौ ? यसरी आत्तिन जरुरी छैन साथी, डराउन पनि जरुरी छैन। हामीले तिम्रो हाँसो खोस्न खोजेको होइनौ, तिमीसँगै हाँस्न देऊ न मात्र भनेका हौँ। हामीले तिम्रो भाग खोस्न खोजेका होइनाँै, हामीलाई पनि तिमीले जति नै खान देऊ न मात्र भनेका हौँ। तिमीले विगत लामो समयदेखि गर्दै आएको सबै अन्यायलाई सजिलै माफ गरेर यसरी नम्र भएर माग्दा तिमी दिन तयार भएनौ भने हामी जबर्जस्ती लिन बाध्य हुनेछौँ। 

नामको पछाडि जोडिएको जातकै कारण समाजमा आफूलाई सबैभन्दा उपल्लो दर्जाको नागरिक सम्झेर गर्वले छाती फुलाउँदै हिँड्ने तिमी जातकै कारण पाइला पाइलामा विभेद भोग्दै म पनि मान्छे हुँ भनेर प्रमाणित गर्न हिँडेको मान्छेलाई विभेद छैन भनेर पाठ सिकाउन खोज्नु, विभेदको विरुद्धमा बोल्यो कि मुख थुन्न खोज्नु झन् अर्को ठूलो अन्याय हो भन्ने कुरा तिमीले कहिले बुझ्ने ? बिना कुनै गल्ती जातकै कारण पलपल हेपिएर, चेपिएर, कुटिएर बाँच्नुपर्ने पीडाको महसुस तिमीले कहिले गर्ने ? सम्झना भएको दिनदेखि आजको दिनसम्म हरेक दिन मैले भोगेको विभेदको दुःखदायी कथा सुन्यौ भने एक दिनको कुरा छोडौँ, एक घण्टा पनि तिमीलाई मेरोजस्तो जिन्दगी जिउने आँट आउँदैन सायद। घण्टौँसम्म गफिएको व्यक्ति नाम सोध्दा मैले ‘रूपा सुनार’ भनेपछि नाक खुम्च्याउँदै बाटो लाग्दा मन अमिलो पारेर बस्नुपरेका सयौँ घटना काँडाजस्तै मनमा बिझेर बसेका छन्। 

यी तमाम कष्टबाट मुक्ति दिलाउन मद्दत गर्नुको साटो दलित भन्ने शब्दै हटाइदिए आनन्दै हुन्छ, टन्न पैसा कमाएर नाम कमाउन थाले कसैले पनि भेदभाव गर्दैन नि भन्ने खालका सुझाव दिनमै व्यस्त हुने साथीले दलित शब्द हटाउँदैमा विभेद हट्ने होइन, विभेद हट्न विभेदकारी जात व्यवस्था पो हटाउन आवश्यक छ त भन्ने कुरा कहिले बुझ्ने ? बलिउडका नायक सुशान्त सिंह राजपुतको मृत्युपछि नायिका आलिया भट्टलाई इन्स्टाग्राममा लाखौँले अनफलो गरे र लाखौँले विभिन्न ट्रोल बनाएर तथानाम गाली गरेका छन्। के अब आलिया भट्टले आफ्नो नाम फेरेर अरू कुनै नाम राख्दा मानिसहरू उनलाई गाली गर्न छोड्छन् त ? छोड्दैनन् नि। फेरि यतिका वर्ष दुःख गरेर स्थापित भएको नाम फेर्ने कुरा पनि त भएन। केही राम्रो काम गरेर सबैको मन जित्न सके मात्रै न उनले फेरि माया पाउने हो। 

जरामा भएको खराबी फाल्न हाँगा काटेर त हुने कुरै भएन। अनि अर्को कुरा, पैसा र नाम कमाउँदैमा विभेद हट्थ्यो भने सानो विवादमा पर्दैमा शङ्कर बीसी, प्रकाश सपुतजस्ता चर्चित कलाकारलाई जातकै नाममा तथानाम गाली गरिँदैनथ्यो होला नि त। फेरि विशेष क्षमताका कारण दुई-चारजना अगाडि आउँदैमा व्यवस्थाले समाजको पिँधमा छोडिदिएको ६० लाख दलितको मुक्ति सम्भव छ त ? त्यो त छैन नि, त्यसैले अब जरामा भएको खराबीलाई बेवास्ता गरेर हाँगा काट्ने उपाय दिने काम बन्द गर साथी। 

आजसम्म दलितको मुद्दा राष्ट्रिय मुद्दा बन्न सकेको छैन। दलितको समस्यालाई मूल मुद्दा बनाएर राजनीति गर्नेहरू आज सत्तामा पुगेपछि जातकै आधारमा यस्ता नरसंहार हुदाँसमेत कानमा तेल हालेर बसेका छन्। कति त यो घटनालाई विभिन्न तरिकाले तोडमोड गर्न मरिमेटेका छन्। देशको कुल जनसंख्याको ठूलो हिस्सा ओगटेको एउटा सिंगो समुदायले मान्छे भएर बाँच्न पलपल मर्नु परेको छ। फेरि पनि तिम्रो आँखाको ज्योतिले किन देख्न सक्दैन यो विभेद ? संसार देख्न सक्ने तिम्रो आँखामा विभेद देख्ने बेलाचाहिँ मोतीबिन्दु लागेको देख्दा अचम्म लाग्छ। 
भएको कुरालाई छ भन्न तिमीलाई एकदमै गाह्रो भएको देख्छु। अझ होइन भनेर प्रमाणित गर्न-मरिमेट्न तिम्रो मन सजिलै मानेको देख्छु। अनि सोच्छु- सिनेमामा कसैले कुटाइ खाँदा झर्न हतार गरिहाल्ने तिम्रा आँसु साँच्चिकै कुटाइ खाएर मान्छे मारिँदा कहाँ चहार्न जान्छ होला ? मलाई भन त, कुकुर मर्दा कैयौँ दिन खाना नखाई रुने तिमीलाई मान्छे मर्दा रुन केले छेक्छ ? (कुकुर मर्दा रुनु हुँदैन भनेकी चाहिँ हैन है मैले।)

यसरी निदाएजस्तो गरेर कतिन्जेल बस्न सक्छु भन्ने लागेको होला ? पीडितका पीडालाई यसरी बेवास्ता गरेर निदाएजस्तो गरिरहेकाहरूलाई राम्रैसँग बिउँझाउने सामथ्र्य बोकेर एउटा ठूलो शक्ति मैदानमा उत्रिन तयार भइसकेको छ। त्यसैले अब तिमीले विभेदको विषयमा नबुझेर सुखै छैन। न त अहिलेसम्म दलित समुदायमाथि गर्दै आएको अन्याय र जात व्यवस्थाका कारण तिमी र तिम्रो पुर्खाले प्राप्त गरेको प्रत्यक्ष अप्रत्यक्ष फाइदाको मूल्य नचुकाई धर पाउनेवाला छौ। 

रोग पत्ता नलागेसम्म त्यसको उपचार सम्भव छैन। जातका आधारमा हुने गरेको सबै खाले विभेदको मूल कारण जात व्यवस्था हो भन्ने कुरा स्पष्ट नभएसम्म विभेदमुक्त समाजको परिकल्पना गर्न सकिँदैन। सबैभन्दा पहिला नेपाली समाजको संरचना पूर्णतया जात व्यवस्थामा आधारित छ र समाजको सबैभन्दा महत्वपूर्ण पक्ष मानिने राजनीतिक, आर्थिक र सांस्कृतिक पक्ष पनि जात व्यवस्थामा आधारित भएको हुनाले यहाँ हुने गरेका सबै खाले विभेद स्वतः जातीय आधारमा हुँदै आएको छ। त्यसैले जात व्यवस्था उन्मूलन आजको विभेद अन्त्यको उत्तम उपाय हो भन्ने बुझ्न र बुझाउन आवश्यक छ। 

भन्नेले डलरे भनून्, दलित शब्दलाई गरिखाने भाँडो बनाइस् भनून्, जातीय राजनीति गरिस् भनून् अथवा भएजति सबै आरोप किन नलगाऊन्- अब म सदियौँदेखि मेरो पुर्खालाई र मलाई मान्छे बन्न नदिने व्यवस्थाविरुद्ध लड्न छोड्नेछैन। म पनि मान्छे भएर बाँच्नु छ र भावी पुस्तालाई पनि मान्छे भएर बाँच्ने व्यवस्था निर्माण गर्नु छ। यसका लागि ज्यानको बलिदान नै दिन किन नपरोस्। 
आऊ साथी हातेमालो गरौँ। यो व्यवस्थासँग लड्न तिम्रो साथको ठूलो खाँचो छ हामीलाई। पहिला मलाई पनि तिमीजस्तै बन्न सहयोग गर। समाजमा हामी सबैको उस्तै हैसियत बनाऊँ। त्यसपछि मिलेर देश बनाऊँला अनि शान्तिसँग बसौँला नि हुँदैन ?
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.