असारे विकासको हतारो : कर्भड हल निर्माणमा ५० वर्ष पुरानो इँटा
महोत्तरी : महोत्तरीको गौशालामा निर्माण भइरहेको कर्भड हलमा गुणस्तरहीन इँटा प्रयोग गरिएको छ। विपद्को बेला पीडितले आश्रय लिन सक्ने हलको निर्माणमा घर भत्काएर जम्मा गरिएको पचास वर्ष पुरानो कमसल इँटा प्रयोग गरिएको हो ।
महोत्तरी क्षेत्र नम्बर–१(ख) का प्रदेश सभा सदस्य भरतप्रसाद साहको निर्वाचन क्षेत्र विकास कार्यक्रमको ९० लाख लागतमा कर्भड हल बनिरहेको छ । राधेश्याम सापकोटाको अध्यक्षतामा गठित उपभोक्ता समितिबाट सो निर्माण कार्य भइरहेको छ । तत्कालीन एकीकृत नेकपाबाट टिकट पाएर जितेका प्रदेश सभा सदस्य साहले आफ्नै पार्टी समर्थितलाई निर्माण समितिको अध्यक्ष बनाएर काम गरिरहेका छन् ।
भवन निर्माणार्थ जनशक्ति खटाउने ठेक्का स्थानीय रतनबहादुर मगरले लिएका छन् भने निर्माण समाग्री उपभोक्ता समितिले उपलब्ध गराइरहेको छ ।‘पुरानो घर भत्काएको पुराना इँटा सफा गरेर हालिरहेका छौं,’ उनले भने, ‘ कर्भड हलको जग ६ फिट गहिरो खनिएको छ । जगैदेखि पुरानो इट्टा हालेका छौं । नयाँ र पुरानो इँट्टामा गुणस्तर त फरक भइ नै हाल्छ ।’समितले दिएको निर्माण समाग्रीले काम गरिरहेको उनले बताए ।
जनप्रतिनिधिले नै गुणस्तरहीन काम गराइरहँदा बर्दिबासमा रहेको अख्तियार कार्यालयका कर्मचारी कानमा तेल हालेर सुतेका छन् । ‘वर्षभरि सुतेर बस्ने अनि असार लागेपछि विकासको नौटंकी गर्नेको असली रुप पनि दुई नम्बर इँटा जस्तै छ,’ एक स्थानीयले टिप्पणी गरे ।
परिवतर्नको पक्षमा भोट मागेर जितेका थिए, प्रदेश सभा सदस्यमा साहले । तर उनले निर्माण गरिरहेको कर्भड हलको गुणस्तरमाथि प्रश्न चिन्ह उठेको छ । सर्वदलीय निर्णय गरेर पुरानो इँटा प्रयोग गरेको प्रदेश सभा सदस्य साहले स्वीकार गरेका छन् । ‘गौशाला बजारमा पुरानो संरचना थियो । त्यो भत्काउने बेलामा यसबाट निस्किएका इँट्टा कर्भड हलमा प्रयोग गर्ने निर्णय गरेका थियौं,’ उनले भने,‘भवनको निर्माण सम्पन्न गर्न पाँच करोड लाग्छ । बजेट ९० लाख मात्र छ । त्यसैले यसै आर्थिक वर्षमा निर्माण पूरा गर्न बलियो रहेको पुरानो इँट्टा प्रयोग गरियो ।’
जेठ २१ गते गौशाला नगरपालिकाका मेयर शिवनाथ महतो र प्रदेश सभा सदस्य साहले कर्भड हलको शिल्यान्यास गरेका थिए ।