खेतका गह्रा गह्रामा असारे भाका

खेतका गह्रा गह्रामा असारे भाका

काठमाडौं : चारैतिर हरियाली। लटरम्म फलेको फलफूल। बारीभरि हरियो सागसब्जी। रंगीविरंगी फूलले मगमगाएको फूलबारी। कलकल बग्ने झरना र खोलाहरू। सुसाउँदै दौडने नदी। यी सबैले असार महिना प्रतिविम्बित गर्छन्। ब्याडमा हुर्किएका धानका बीउ, आली टल्काएर चिटिक्क पारिएको खेत। आफ्नै धुनमा गाउँदै धान रोपिरहेका रोपाहार। हली, बाउसे र ब्याडेको जुहारीले असारमा खेतलाई संगीतमय बनाउँछ। रोपाहार अनि बाउसेले मात्र होइन प्रकृतिले पनि गीत गाउँदै किसान भाकामा संगीत भर्छ।

असार भन्नासाथ मानो रोपेर मुरी फलाउने मौसम भन्ने बुझिन्छ। धान रोप्दा रोपाहारले गाउने असारे भाकाको छुट्टै महत्व र विशेषता छ। काँधमा हलो र हातमा कोदाली बोकी खेत झर्दै गरेको किसान दाइ अनि डोकोमा बीउ बोकेर रोपाहारसँग जिस्किरहेका ब्याडे, गुन्यूचोलीमा सजिएर असारे झरीमा घुमभित्र असारे भाका हाल्दै धान रोपिरहेका रोपाहारहरू। सँगसँगै हिलो खेल्दै रमाइरहेका बाउसे। साँच्चै यो दृश्य कति मनमोहक छ। कोरोना भाइरसको सन्त्रासले अहिले धेरै मानिस गाउँमा छन्। समयमै पानी परेकाले किसानलाई धान रोप्न भ्याइनभ्याइ छ। नेपालको सबैभन्दा बढी धान फल्ने झापाको बुधबारे फाँटदेखि जुम्लाको मार्सी धानको रोपाइँ लगभग मध्यान्तरमा पुगेको छ।

धान रोप्दा गाइने असारे भाकाले नेपाली गीतसंगीतमा बेग्लै महत्व बोकेको छ। काम गर्दा पनि रमाउँदै, खुसी हुँदै , एकअर्कासँग जिस्कँदै खेल्ने दोहोरी भाकाले रोपाइँको रौनक बढाउँछ। रोपाइँलाई पर्वका रूपमा किसानले मनाउँदै आएका छन्। असार १५ लाई दहीचिउरा खाने दिनका रूपमा पनि मनाइने गरिन्छ। यति हुँदाहुँदै पनि खेतका गह्राहरूमा गुञ्जने असारे भाका पछिल्लो समय भने कम सुनिन थालेको छ।

असारे गीतले किसानको थकाइ बिर्साउँछ। खेतका गह्रा, खोलानाला, खहरेबाट झरेको पानीको छङछङ आवाजसँगै असारे भाका घन्किने गथ्र्यो। तर अचेल नयाँ पुस्ताले असारे भाका संरक्षण गर्न भने सकेको छैन। खेतमा असारे भाकाको ठाउँमा लोक, आधुनिक र पप गीतले ठाउँ लिन थाल्यो। मोबाइलमा बज्ने गीत स्पिकरबाट सुन्ने चलन विकास हँुदै गयो।

असारे भाकाले भौगोलिक विविधतालाई पनि समेट्छ। पूर्वमा गाइने असारे ठाडो भाकालाई रसिया भनिन्छ। यस्तै काठमाडौं वरिपरि गाइनेलाई काँठे भाका भनिन्छ। कर्णाली प्रदेशमा गाइने भाका र सुदूरपश्चिमको गीतको आफ्नै शैली छ। पश्चिमाञ्चलमा गाइने भाकामा लेग्रो तानेर लामो स्वरमा गीतको टुक्का सुरु गरिन्छ। बीचमा वि श्रान्ती लिँदै १६ अक्षरका फाँकी र अनुप्रास मिलाएर गीत गाइन्छ। विशेषतः हलो जोत्ने हली दाइ र बाउसेले चिटिक्क सजिएर धान रोप्दै गरेका रोपाहारलाई जिस्क्याउने, पिरती लगाउन फकाउने आशयको भाकामा असारे गीतको धुन उन्ने गरिन्छ। जस्तै :

पाकेर गयो मालभोग केरा पाकेन लोहरी

एकोहोरो माया केही अर्थ हुन्न, लाउ माया दोहरी।

गाउँघर वरपरका दृश्यलाई गीतमा उतार्दै स्थानीय ठेट शब्द र झर्राे लयमा गुनगुनाउने असारे भाका नेपाली संस्कृतिको अनुपम चिनारी हो। किसानले खेती गर्ने क्रममा बीउ राम्ररी नउम्रिएर दुःख पाएको कथादेखि कडा मेहनत गर्दा पनि वर्ष दिन खान नपुगेको गुनासो पनि असारे भाकाले समेट्छ। रोपाहारले घरमा बाबुआमाले नपढाएको कुरादेखि सासूले हेलाँ गरेका दुःखका कहानी पनि धान रोप्दै गर्दा संगीसाथी छिमेकीलाई गीतमार्फत सुनाउने गर्छन्। असारे भाका र लय विशुद्ध किसानसँग जोडिएको छ। आफ्ना दुःखसुख र रमाइला किस्सा गीतमार्फत व्यक्त गरिन्छ। मन परेकी युवती देख्दा आफूमा उत्पन्न हुने भाव गीतमार्फत सम्बन्धित व्यक्तिसम्म पु¥याउने गरिन्छ।

पानी खाने कलको, टोपी मखमलको

तिम्रै लाग्छ माया, तिम्रै भल्को।

तिम्रो माया कस्तो स्वाट्टै म्वाइँ खाउँ जस्तो।

यस्तै असारे भाकाले गाउँघरतिर प्रेम प्रदर्शन गर्ने सूचनाको काम पनि गर्छ। उमेर भएकै बेला मीठो खान र राम्रो लगाउन रहर लाग्ने हो। बेलैमा पिरती गाँसौं र प्रेमको जिन्दगी सुरु गरांै भन्ने आग्रह पनि गीतमार्फत नै गरिन्छ। ब्याडमा धानको बीउ हुँदा नै छुपुछुपु रोपेर सकौं। उमेर भएकै बेला रमाइलो गरौं भन्दै गायक मिलन लामा भन्छन्,

हे छुपुमा छुपुमा खेतमै रोपांै धानको बीउ छर्दै

मिठै र लाउँला राम्रै र लाउँला चेलीको जीउ छँदै

हा... हा... हे... हे...

बाउसे गर्नु मेला बनाउनु धानको बीउ छँदै

मीठै खाउँला राम्रै लाउँला माइतीको जीउ छँदै।

नेपालको पूर्वी भेगमा रहेको संखुवासभा, उदयपुर भेगको अरुण उपत्यकातिर गाइने भाका पनि उत्कृष्ट असारे भाका हो। माया गरेको भाव दर्शाउन बाउसेले गीतमै प्रश्न राख्छन्। रोपाहारमा रहेकी उसकी प्रेमिका अहिले मानो रोपेर मुरी उब्जाउने बेला भएकाले पिरती गाँस्न फुर्सद नभएको भन्दै गीतमार्फत नै जवाफ फर्काउँछे। विशेषतः असारे भाकामा बाउसे र रोपाहारको सवालजवाफ चल्ने गर्छ। कसले राम्रो जवाफ फर्काउने प्रतिस्पर्धा नै हुन्छ। हार्नेलाई जित्नेको टोलीले हिलोमा डुबाएर सजाय दिने प्रचलन पनि छ।

हो हो रे हो हो... हो हो...

हातको बीउ म कल्लाई दिउँ रोपार हराए

हली नि आए बाउसे आए आए नि ब्याडे

हो हो रोपार हराए...

छुपुमा छुपुमा रोपाइँमा जाऊँ यो पीपलपाते बीउ...

दसैंमा खाने खसीको मासु माघैमा खाने घिउ।

रिमी र झिमी पानी परो असारे मासैमा

हिँडेको हामी हातमा बीउ बोकी बेँसीको फाँटैमा।

कर्णाली भेगमा गाइने असारे गीतलाई अवाली भनिन्छ। स्थानीय लवजमा ठेट शब्द मिसाएर निकै लयात्मक तरिकाले कर्णाली प्रदेशमा असारे भाका सुनाइन्छ। कहीँ कतै बाजागाजासहित दिनभर खेत रोप्दै रमाइलो गरिन्छ। स्थानीय देवीदेवताको नाम जप्दै, उनीहरूलाई खुसी हुन आग्रह गर्दै किसानहरू गीत गाउँछन्। देवीदेवता खुसी भए खेती पनि मनग्गे फल्ने र वर्षभरि खान पुग्ने उनीहरूको विश्वास छ। कर्णाली प्रदेशको गीत छ,

कठै छुपु छुपु रोपी ल्याऔ सिउँती सेरा अ

कठै बडिमाईका थान चढेई मोती मेराई अ

कठै डिलबाट भित्ता काट्यो तरिस

कठै शिरसैनको मुला चोतो चिर भाइ हो खाऊँ


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.