किसानले बजार पाएनन्, उपभोक्ताले तरकारी

किसानले बजार पाएनन्, उपभोक्ताले तरकारी

जनकपुरधाम : धनुषाको जनकनन्दी गाउँपालिका १ की जिलेबिया देवी सहनी खोलाले उकासेको जग्गामा लगाएको बालीले बजार नपाउँदा चिन्तित छन्। खोलाको बगर खेतमा लगाएको तरकारीले बजार नपाएपछि उनलाई चिन्ता परेको हो।

लकडाउनले खेतमा लगाएको तरकारी लौका, फर्सी, करेला, झिम्नीजस्ता कच्चा तरकारी बिक्री हुन नसक्दा खेतमै कुहिन थालेको छ। ‘गत वर्ष तरकारी र फलफूल बेचेर साढे ३ लाख आम्दानी गरेका थियौं, यसपाली अहिलेसम्म केही पनि बिक्री हुन सकेको छैन’, सहनीले भनिन्, ‘खोलाको बगरमा अन्य बाली पटक्कै हुँदैन, तरकारी बेचेरै वर्षभरि गुजारा गर्नुपर्छ। तर, लकडाउले तरकारी बिक्री नभएर वर्षभरि के गरी बस्ने चिन्ता छ।’

धनुषा कमला नगरपालिका बरेरबाका सोनदत्त मुखियाले वर्षौंदेखि बगरमा खेती गर्दै आएको छ। व्यावसायिक खेती गर्दै आएका उनले सशस्त्र माओवादी द्वन्द्वयता कहिले खेतीपातीको बजारीकरणमा समस्या भोग्नुपरेको थिएन। तर, कोरोना (कोभिड–१९) को संक्रमण नफैलियोस् भनेर सरकारले लकडाउन गरेपछि मुखियालाई तरकारी र फलफूलको समस्याले पिरोलेको छ। उनले गरेको बगर खेतीमा काक्रो, फर्सी, घिरौला पर्याप्त छ, तर बिक्री गर्ने ठाउँ छैन। बिक्री भए पनि ४–५ रुपैयाँ प्रतिकिलोमा बिक्री हुन्छ। त्यसले मजदुरी पनि उठ्दैन’, मुखियाले भने, ‘बजार त लाग्छ तर उब्जाएको लगानी समेत उठ्ने अवस्था छैन, खाने मान्छे पनि छैन।’

सोनदत्त मुखियाजस्तै कमला नपाका सनक मुखियाको झण्डै तीन बिघामा गरेको व्यावसायिक तरकारी खेती खेतमै कुहिएर जान लागेको छ। उनले भने, ‘बिक्री नभएपछि केही स्थानीयलाई सस्तोमै टिपेर दिए, गाउँमा लौका १५ प्रतिपिस फर्सी ३०, करेला २० प्रतिकिलो बिक्री गरिरहेको छु, मजदुरी जुटाउन पनि धौ–धौ छ।’ जनकपुरमा भने खुद्रा पसलमा, लौका ५०, फर्सी १५० करेला ४० रुपैयाँ भन्दा घटीमा पाइँदैन। गाउँमा पाइने १० रुपैयाँको घिरौला जनकपुरमा ४० रुपैयाँमा बिक्री भइरहेको छ। यसरी गाउँको भन्दा सहर बजारमा तेब्बर बढी मूल्यमा बिक्री भइरहेको उपभोक्ता राकेश साह बताउँछन्। उनले भने, ‘गाउँ सस्तो छ, सहरमा तरकारी भाउले आकाश छोएको छ, आपूर्ति प्रणाली बिग्रँदा बिचौलियालाई चर्को मूल्य तिर्न बाध्य छौं।’

तरकारीले बजार नपाउँदा कसैले खेतमै तरकारी कुहाउँदै छन् त कसैले प्रतिकिलो ५ रुपैयाँमा तरकारी बेच्न बाध्य छन्। महोत्तरीको बर्दिबास नगरपालिकास्थित पशुपतिनगरका किसान महेन्द्र महतो कोइरीले एक बिघा क्षेत्रफलमा लगाएको खेतमा करेला, लौका, हरियो खुर्सानी, परवल र घिरौला बिक्री गर्ने बेलामा कोभिड–१९ संक्रमणले देशमा लकडाउन भएपछि तरकारी खेतमै थन्कियो।

‘सुरु–सुरुमा घाटा खाएरै घिरौला बिक्री गरेँ, र मिहिनेत अनुसारले आम्दानी नभएपछि खेतमै तरकारी छोड्न बाध्य भएँ’, महतोले भने, ‘बिक्रीका लागि तयार पारेर राखेको तरकारी पनि बिक्री नहुँदा गाई बस्तुलाई खुवाउनु पर्‍यो।’ अहिले तरकारी बिक्री नहुने समस्या महतोको मात्रै होइन। प्राय हरेक किसानको हालत उस्तै छ। प्रदेश २ मा काक्रो, लौका, करेला, फर्सीलगायत तरकारी मौसम अनुकूलताले उत्पादन वढेर राम्रै आम्दानी हुने अनुमान गरे पनि कोरोनाका कारण व्यावसायिक उत्पादनको बजार ठप्प छ। प्रदेशमा अहिले लहरे तरकारी करेला, घिरौंला, हरियो खुर्सानी, लौका र परवलको उत्पादन हुने गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.