लमजुङमा देखियो सलह किरा
बेंसीसहर : लमजुङको विभिन्न स्थानमा सलह किरा देखिएको किसानले बताएका छन् । कृषि ज्ञान केन्द्र लमजुङका अनुसार जिल्लाको सुन्दरबजार, क्व्होँलासोँथरको सिङ्दी क्षेत्रका किसानहरुले सलह किरा देखिएको जानकारी दिएका हुन् ।
सुन्दरबजार नगरपालिका ६ फेदीकुनामा सलह किरा देखिएको कृषि ज्ञान केन्द्र लमजुङका बाली संरक्षण अधिकृत विजय पौडेलले जानकारी दिए । 'यहाँ देखिएका किरा हेर्दा र अनुसन्धान गर्दा सलह नै भएको पुष्टि भएको छ, पौडेलले भने, 'ठूलो संख्यामा छैन, थोरै मात्र देखिएको हो।'
यात्राको क्रममा हावाको गति र पानीका कारण थोरै मात्रामा झरेको हुनसक्ने कृषि प्राविधिकहरुको अनुमान छ । सहलबाट खेतीबाली बचाउन सबै कृषि शाखाहरुमा उच्च सर्तकता अपनाउन निर्देशन दिइएको कृषि प्रसार अधिकृत मदन रेग्मीले जानकारी दिए ।
'अहिले थोरै देखिएपनि सतर्कता अपनाउनुपर्छ, रेग्मीले भने, 'तत्कालका लागि धानको बीउ, कोदोको बीउ जोगाउन किसानलाई भनेका छौं ।'
सलह रातिमा निस्क्रिय र पानी परेका कारण कम सक्रिय हुने भएकाले पनि अहिले नदेखिएको हुन सक्ने कृषि प्राविधिकहरुको अनुमान छ । 'हामी फिल्ड मै पुगेर अनुसन्धान गर्दैछौं, कृषि ज्ञान केन्द्र लमजुङका प्रमुख रोहिणीराज घिमिरेले भने, 'यसको संख्या कति छ, कस्तो अबस्थामा छन भन्ने बारे बल्ल भन्न सकिन्छ ।'