‘मलाई हटाउन भारत सक्रिय हुन थाल्यो’

‘मलाई हटाउन भारत सक्रिय हुन थाल्यो’

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले आफूलाई हटाउने खेल सुरु गरे पनि त्यो सम्भव नहुने बताएका छन्। कालापानी, लिपुलेक र लिम्पियाधुरासम्मको भूमि समेटेर नक्सा जारी गर्ने, संविधानसमेत संशोधन गरेर त्यसलाई लिपिबद्ध गर्ने काम गरेपछि आफूलाई हटाउने खेल सुरु भएको प्रधानमन्त्री ओलीको भनाइ छ।

‘दिल्लीका सञ्चारमाध्यम सुन्नुहोस्, त्यसैले निर्देश गरिहाल्छ कि कहाँ–कहाँ के–के भइरहेको छ। यहाँका होटलहरूमा भइरहेका गतिविधिहरू हेर्नुहोस्, त्यसले पनि देखाइरहेको छ। एम्बेसीको सक्रियता, त्यसले पनि देखाइरहेको छ’, जननेता मदन भण्डारीको ६९औं जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा ओलीले भने, ‘तर, म तपार्ईंहरूलाई यति भन्छु, नेपालको राष्ट्रियता त्यति कमजोर छैन। संविधानमा नक्सा सामेल गरेबापत यस देशको प्रधानमन्त्रीलाई हटाउँछु भन्ने कसैले सपना देखेको छ भने आजको राष्ट्रियता त्यस्तो कमजोर छैन।’

ओलीले पहिलो पटक सार्वजनिक रूपमै आफूविरुद्ध भारतले चलखेल सुरु गरेको आरोप लगाएका हुन्। उनले नेपालकै नेताहरूका गतिविधि, भारतीय दूतावासको सक्रियता र होटलहरूमा भएका गतिविधिले आफूलाई हटाउने खेलको निर्देश गरेको उल्लेख गरे। उनले प्रधानमन्त्री पदमा बसिरहन मन नभएको तर अहिले आफू हट्ने हो भने भोलिदेखि नेपालको पक्षमा बोल्ने आँट कसैले गर्न नसक्ने बताए। आफ्नो पार्टी, संसदीय दल अहिलेको परिस्थिति नबुझी ‘अञ्जान खेलमा बहकाउमा लागेर नदौडने उनको भनाइ थियो।

‘मलाई प्रधानमन्त्रीको जिम्मेवारीमा बसिरहन मन छैन। तर, यतिबेला म हट्ने हो भने भोलिदेखि नेपालको पक्षमा बोल्ने आँट कसैले गर्न सक्दैन’, उनले भने, ‘मैले आजका लागि होइन, भोलिका लागि, आफ्ना लागि होइन, देशका लागि र हाम्रो पार्टी, हाम्रो संसदीय दल यस्ता बहकावमा कुद्नेवाला छैन। यति नबुझ्ने अञ्जान खेलमा खेल्नेवाला पनि छैन।’ उनले मदन भण्डारीको वैचारिक, राजनीतिक तथा सांस्कृतिक पक्षबारे चर्चा गर्दै झन्डै एक घण्टा १० मिनेट सम्बोधन गरे। राष्ट्रियताका विषयमा केन्द्रित रहेर अडान लिँदा आफूविरुद्ध विभिन्न कोणबाट आक्रमण प्रयास भए पनि त्यो सम्भव नहुने उनको भनाइ थियो। ओलीको सम्बोधनका केही अंश :

मलाई हटाउन दूतावास र होटलहरूमा चलखेल

तपाईंहरूले सुन्नु भएको होला, हप्ता–१५ दिनमा प्रधानमन्त्री परिवर्तन हुँदै छ भन्ने। बहस चलेको छ, अहिलेको अहिल्यै केपी ओलीलाई नहटाई हुँदैन। पहिले यहाँहरूलाई सम्झना होला, चीनतिरको पारवहन सम्झौता गरेर फर्किएपछि सरकार ढालिएको थियो। किनभने, हामीसँग बहुमत थिएन। अहिले त्यही सपना देखेर संविधान संशोधन भएर नक्सा सार्वजनिक भएपछि (यस्तो अपराध गर्ने केपी ओलीलाई अब भित्रभित्रको कुरा हो त्यो, बाहिर–बाहिर भन्न नसक्ने तर भित्रभित्र यस्तो अपराध गर्नेलाई) दिल्लीका सञ्चारमाध्यम सुन्नुहोस्, त्यसैले निर्देश गरिहाल्छ कि कहाँ–कहाँ के–के भइरहेको छ। यहाँको होटलहरूमा भइरहेका गतिविधिहरू हेर्नुहोस्। त्यसले पनि देखाइरहेको छ। एम्बेसीको सक्रियता त्यसले पनि देखाइरहेको छ। तर, म तपाईंहरूलाई यति भन्छु, नेपालको राष्ट्रियता त्यति कमजोर छैन। संविधानमा नक्सा सामेल गरेबापत यस देशको प्रधानमन्त्रीलाई हटाउँछु भन्ने कसैले सपना देखेको छ भने आजको राष्ट्रियता त्यस्तो कमजोर छैन। यो नसोचे पनि हुन्छ। त्यसकारण यो भ्रम कोसिस गर्नेलाई गर्न दिऊँ तर हिजोको जस्तो होइन, कसैले हतारो नगरे हुन्छ र कसैले विभिन्न आग्रहहरू नपाले पनि हुन्छ।

म हटे नेपालको पक्षमा बोल्ने आँट कसैले गर्न सक्दैन

मलाई प्रधानमन्त्रीको जिम्मेवारीमा बसिरहन मन छैन। तर, यतिबेला म हट्ने हो भने भोलिदेखि नेपालको पक्षमा बोल्ने आँट कसैले गर्न सक्दैन। मैले आजका लागि होइन, भोलिका लागि, आफ्ना लागि होइन, देशका लागि र हाम्रो पार्टी, हाम्रो संसदीय दल यस्ता बहकावमा कुद्नेवाला छैन। यति नबुझ्ने अञ्जान खेलमा खेल्नेवाला पनि छैन। यसको अगुवाइमा अहिलेका परिवर्तनहरू भएका छन्। अहिलेको संसद्का झन्डै दुईतिहाइ प्रतिनिधि जननेता मदन भण्डारीबाट शिक्षित भएर हिँडेका छन्, यो बुझे हुन्छ।

भूमि फिर्ता नलिई छाड्दैनौं

नक्सा भूलचुकले छापिएको होइन। कतिपय मान्छेले मलाई भने यो त प्वाइन्ट अफ नो रिटर्न हो। नक्सा छाप्ने कुरा र संविधान संशोधन गर्ने कुरा प्वाइन्ट अफ नो रिटर्न नै हो। यस अभियानबाट हामी फिर्ता नै हुँदैनौं। त्यहाँ प्वाइन्ट अफ रिटर्न राख्ने कुरै थिएन÷छैन। प्वाइन्ट अफ नो रिटर्न, हामीलाई हाम्रो भूमि चाहियो। फिर्ता नलिइकन छाड्दैनौं।

नागरिकता खल्तीमा नेपालीको अनि तर्क किन अर्काको ?

हामीले हाम्रो भूगोललाई समेटेर नक्सा सार्वजनिक गर्‍यौं। हामीले त्यसलाई संवैधानिक रूप दियौं। भारतीय मिडिया, भारतका बौद्धिक बहसहरू सुन्नुभएको होला, कसरी भारतको राज्य संयन्त्र अचम्मसँग सक्रिय छ। हामीले के गरायौं भन्दा लडाइँमा हामी हारेनौं, हाम्रो सीमा अलिकति खुम्चियो। हामीले १८१६ मा अन्तिम सम्झौतामा दस्तखत गर्‍यौं। र, त्यसको सिमानामा हामी खुम्चिएर बस्यौं। तपाईंहरूले सुन्नु भएको छ, कतिपय पार्टीका नेताहरू, विभिन्न पार्टीका नेताहरू उताको जनसंख्यासँग हाम्रो पहुँच कस्तो छ ? १९६२ देखि सेना राखेर उतापट्टि जानै दिइएको छैन। उताका जनतासँग सम्पर्क गर्ने दिएको छैन। उताका जनतालाई हामीले के गरेका छौं ? त्यहाँका जनताको नागरिकता कताको छ ? त्यहाँ रासनकार्ड कसको छ भन्ने प्रश्न नेपालको नागरिकताधारीहरूले उठाइरहेका छन्। नागरिकता खल्तीमा नेपालीको छ तर तर्क अर्काको पक्षबाट गरिरहेको छ।

१९६२ देखि सेना राखेर ब्लक गरेपछि कसरी उताका नागरिकसँग सम्बन्ध हामी बनाउन सक्छौं ? त्यसकारण सम्पर्क, सम्बन्ध टुटाइयो। उनीहरू भन्दै छन्, अब झन् गाह्रो हुन्छ। यो नक्सा छापेपछि झन् गाह्रो हुन्छ। गाह्रो के हुन्छ ?    जमिन गएको थियो, त्यो फिर्ता लिन खोज्दा गाह्रो भनेको के ?    १४६ वर्षसम्म हामीले उपभोग गरेको जमिन ६२ देखि हामीले उपभोग गर्न पाएनौं। ५८ वर्षदेखि खोसिएको हाम्रो जमिन हामीले फिर्ता ल्याउन खोज्यौं। हामीले अरूको जमिनमा दाबी गरेको, अतिक्रमण गरेको र हस्तक्षेप गरेका होइनौं। त्यसकारण हामीले कुनै गल्ती गरेका छैनौं।

नबनाऊ संविधानभन्दा संविधान बनायौं, नाकाबन्दी भोग्यौं

राष्ट्रियता सवालमा नाकाबन्दीको सामना गर्‍यौं। नबनाऊ संविधान भन्दाभन्दै हामीले संविधान बनायौं। नाकाबन्दीको सामना गर्‍यौं। दुईटा छिमेकीमध्ये एउटा छिमेकीमा आ िश्रत भएर हामी भारतवेष्टिक भएर खुम्चिएर बसेका थियौं। हामीले देखिसकेका थियौं, हिमालबाट पनि बाटो बनाउन सकिन्छ, हिमाल क्रस गर्न सकिन्छ। दुवै छिमेकीबाट हामी यातायात र पारवहनको सुविधा लिन सक्छौं। हामी भूपरिवेष्ठित मात्र भएर होइन, एउटा देशबाट मात्र वेष्ठित भएर छेकिएर बस्न पर्दैैन। हामीले मौका पाउनेबित्तिकै चीनसँग पारवहन सम्झौता गर्‍यौं। यो नेपाल राष्ट्रलाई एउटा नयाँ उचाइमा पुर्‍याउने कुरा थियो।

०००

ठूला देशका निरीह तरुल होइनौं

राष्ट्रको सार्वभौमसत्ता सानो या ठूलो हुँदैन। त्यसकारण एउटा सानो राष्ट्र हौं भनेर हीनग्रन्थी पालेर बोल्न नसक्ने, आफ्नो अधिकारलाई दृृढतापूर्वक लिन नसक्ने गल्ती गर्नु हँुदैन। हामीले दुई ठूला शक्तिशाली देशको एउटा केही पनि गर्न नसक्ने निरीह तरुल हौं भनेर बस्ने समय छैन। हामी तरुल होइनौं। हामी ठूलो सम्भावना, अत्यन्तै गौरवपूर्ण इतिहास बोकेको विगत र अहिलेको गतिशील वर्तमान र एउटा ठूलो उज्यालो, महान् सफलता बोकेको स्वतन्त्र, सार्वभौमसम्पन्न सम्भावना, गौरवपूर्ण राष्ट्र, जो कसैको अधीनस्थ भएर बस्न स्वीकार गरेन। ठूला बलिया देश पनि उपनिवेश हुँदा पनि यस देशले औपनिवेशतालाई स्वीकार गरेन। त्यो देश हो हाम्रो। अहिले पनि हामी सम्भावना बोकेर अगाडि बढ्छौं।

सत्य अन्तिममा जित्छ

नक्सा सार्वजनिक गर्ने बेला मैले एउटा कुरा भनेको थिएँ– सत्यमेव जयते। अन्तिममा सत्यले जित्छ। कतिपल्ट सत्यले हार्छ, १९६२ देखि अहिलेसम्म कालापानी लिपुलेक, लिम्पियाधुरामा सत्य हारिरहेको छ। तर, सत्य अन्तिममा जित्छ। हामी उहिल्यै जेलमा हुँदा गाउने गर्दथ्यौं, हामी जित्नेछौं एकदिन। आजकल हामीले यो गीत गाउन पर्दैन। दुनियाँका ठाउँमा यो गीत गाउँछन्। बुर्जुवाहरू पछारिएका छन्। त्यसैकारण सम्वेद स्वरहरूमा चिच्याइरहेका छन्। विरोध गर्दै आइरहेका छन्। तर, हामीलाई कुनै प्रवाह छैन। अन्तिममा सत्यकै जित हुन्छ।

म शासक बन्न जन्मिएको मान्छे होइन

तपाईंहरूले देखिरहनु भएको छ, मैले खुट्टामा जुत्ता लगाएको छु। केहीलाई असाध्यै पीर परेको छ। सहिनसक्नु भएको छ। यो मान्छे गाईभंैसी चराउने गोठालो हो। कहिले–कहिले चप्पल लगाउँथ्यो, कहिले खाली खुट्टा कुद्थ्यो। गाईभैंसी चराएर खाली खुट्टा हिँड्नुपर्ने मान्छे जुत्ता लगाएर प्रधानमन्त्रीको कुर्सीमा बस्न मिल्ने मान्छे हो भन्ने पीर छ। म हुँ अथवा जो केही जनताको शासन, जनताबाट उठेका व्यक्तिहरूको शासन देशका लागि केही गरिरहेका व्यक्तिहरूको शासनमा पुग्ने वास्तवमा शासनलाई जनताको सेवक हो भन्ने नबुझ्नेलाई मैले भनेको छु, उनीहरूलाई पीर परेको छ हामी शासनमा पुगेकोमा। हामी शासक होइनौं। हामीलाई शासक बन्ने इच्छा पनि छैन। म शासक बन्न जन्मिएको मान्छे पनि होइन।

देशको सेवा गर्न जन्मिएको हो। मैले राजनीति थाल्दा र राजनीतिक जीवन अगाडि बढाउँदा कहिल्यै पनि शासकको परिकल्पना गरिनँ। जेलमा हुँदा समेत यस देशको सेवा गरिरहेको छु भन्ने ठान्थें। सही मान्यतामा अडेको छु र सही मान्यताका लागि लडेको छु र त्यसै कारणले जेलमा छु भन्ने मलाई लाग्थ्यो। म आज पनि आफूलाई देश र जनताको सेवक ठान्दछु। तर, केहीलाई पीर छ। थुप्रै बुद्धिजीवीले टेलिभिजन कार्यक्रमहरूमा भनेको सुनेको छु मैले, त्यो चप्पल लगाएर हिँड्थ्यो, भूमिगत हुँदा मैले भेटेको थिएँ, चप्पल लगाएर हिँडिरहेको थियो, आज जुत्ता लगाएर हिँडिरहेको छ। त्यो काठमाडौंमा साइकलमा हिँड्थ्यो, हो म साइकलमा हिँड्थें, साँचो कुरा हो। त्यो हेर्दाहेर्दै माननीय सांसद, मन्त्री र प्रधानमन्त्री भयो। यो सुहाउने कुरा हो ?    एउटा गाउँको झुत्रे झाम्रे भैंसी गोठालो, गाई गोठालो।

०००

इमान छाडेका भौतिकवादी बहुतै खतरनाक हुन्छन् आजकल मान्छेहरू अक्सर भन्ने गर्छन्, मदन भण्डारी साइकलमा हिँड्नुहुन्थ्यो, अहिलेका नेताहरू, उहाँकी  श्रीमती १६ करोडको गाडीमा हिँड्ने ! भनेर भन्छन्। १६ करोडको गाडी नेपालमा आएको छ कि छैन, त्यो मलाई थाहा छैन। १६ करोडको होइन, राष्ट्रपति हिँड्ने गाडी बाटामा जाँदाजाँदै स्टार्ट बन्द हुने खालको गाडी हुनु भएन। यो ईष्र्याभावका कुरा नगरम्। राष्ट्रपति साइकलमा हिँड्दैनन्। हो, स्विडेनका राजा साइकलमा हिँड्छन्।

बडो चर्चा छ। मैले पनि कहिलेकाहीँ चर्चा गर्छु। तर, के गाडी नै नभएर साइकलमा हिँडेका हुन् ? उनीहरू फंक्सनहरूमा जाँदा, गाडीमा हिँड्दा स्कर्टिङ हुँदैन ? त्यस्तो होइन, स्कर्टिङ पनि हुन्छ, सबै कुरा हुन्छ। तर, दरबारनजिकैको रेलवे स्टेसनमा जाने त्यो सोखको कुरा मात्र हो। कहिलेकाहीँ उनी साइक्लिङ गर्छन्। त्यो सोखको कुरा हो। गाडी नभएको होइन। मदन भण्डारीकी धर्मपत्नी साइकल चलाउन जान्नु हुन्न। त्यो आलोचना गर्नेहरू केमा हिँड्छन् ? आम्दानी कति पारदर्शी छ, थाहा छैन मलाई। तर, हिँड्न चाहिँ राम्रै गाडीमा हिँड्छन्, ती आलोचना गर्नेहरू।

मदन भण्डारीलाई यस्तै आरोप लगाएका थिए। मदन भण्डारी साइकलमा निस्कने, कहिले अर्को साथीले गाडी ल्याएपछि हिँड्ने। चुनावमा उम्मेदवार भएर प्रचारमा जाँदा गाडी छैन। साइकलमा हिँड्नुपर्ने अवस्थामा एक जना नक्सालका थापाजीले म आफैं ड्राइभ गर्छु र तपाईंलाई चुनावभरि सघाउँछु भनेर आफंै ड्राइभ गरेर मदनलाई गाडीमा लिएर हिँड्नुभो। त्यसपछि देशव्यापी रूपमा हल्ला चल्यो, पोस्टर टाँसिए, ‘ज्ञानेन्द्रले दिएको रातो गाडीमा मदन भण्डारी हिँड्ने गरेका छन्’ भनेर। दरबारसँगको कनेक्सन जोड्यो मदन भण्डारीजस्तो व्यक्तिसँग।

भौतिकवादको एउटा खराबी छ किनभने त्यसले पाप धर्म भन्ने कुरा मान्दैन। पाप लाग्छ भन्ने ठान्दैन। सत्य निष्ठा छोड्दिएपछि जे भने पनि भयो, जे गरे पनि भयो। पापको डर छैन, नर्क जानुपर्ला भन्ने छैन। त्यसैले भौतिकवादीहरू भ्रष्ट भए भने खतरनाक हुन्छन्। इमान छाडेको भौतिकवादी बहुतै खतरनाक हुन्छ। जे पनि बोल्छ। भौतिकवादी पनि छाडा भौतिकवादी भयो भने खतरा हुन्छ। हामीले अनुसरण गर्न जरुरी छ। इमानसहितको अभियान र विचारमा हुनु जरुरी छ।

मार्क्सवाद नबुझ्ने विद्वान् !

मार्क्सवाद मान्दिनँ भन्ने विद्वान् पनि पाइन्छ। दुईटा कारण छ त्यसो भन्नुको। एउटा मार्क्सवाद बुझेको छैन, नबुझेपछि मान्दिनँ भन्यो सक्किगो। अर्काे एउटा लहैलहैको वैचारिक पूर्वाग्रह छ। त्यसकारण मान्दैनन्। माने आफ्नो र समाजको कल्याण हुन्थ्यो। तर, मान्दैनन् त्यहाँ वैचारिक आग्रह छ। ग्लोबल सर्भेले विश्वको सबैभन्दा बढी दार्शनिक विचार मार्क्सवादलाई मान्ने गरेको छ। हेर्नुभयो भने घाम नअस्ताउने साम्राज्य स्थापना भएका थिए विश्वमा। जनता अधिकारविहीन थिए, अधिकारभन्दा पनि माथि स्वेच्छाचारिता र तानाशाहीताका शासक थिए। दुनियाँमा महिला र पुरुषका बीचमा घरमै असमानता थियो, रंगभेद थियो, कालो जन्मिनु अपराधजस्तो, छुवाछूतजस्ता जातव्यवस्था थिए। यी सबै कुरा आज ध्वस्त भएर जाँदै छन्। समाज समृद्धि, आधुनिकता, समानतातिर अगाडि बढ्दै छ। त्यो समानता क्रमशः सुढृढ हँुदै छ। आज कसैले लुकेर असमान व्यवहार गर्छ, कुनाकाप्चामा गर्छ, थिचोमिचो गर्लान्, त्यो होलान्। तर, आम रूपमा विश्वको ट्रेन्ड उपनिवेशवाद समाप्त हुँदै छ। साम्राज्यवाद फिर्ता गयो, आफ्नै देशमा गएर थन्कियो। कसका विचारले गर्दा ?

मार्क्सवादको विरोध गर्दागर्दै पनि त्यही विचार मान्न विवश छ मान्छे। कोही दमित थिचोमिचोमा बस्नु पर्दैन भन्ने काल मार्क्सका सामाजिक भनाइ हुन्। ती ऐतिहासिक भौतिकवाद र द्वन्द्वात्मक भौतिकवादको दर्शनबाट आएका हुन्। तापनि यहाँ मार्क्सको त विरोध गर्छन् भने अरुको विरोध अनौठो कुरा होइन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.