बजेटमा पूर्वाधारलाई निरन्तरता

बजेटमा पूर्वाधारलाई निरन्तरता

सुर्खेत : कर्णाली प्रदेशका अधिकांश स्थानीय तहले पूर्वाधार निर्माणलाई निरन्तरता दिने योजना सार्वजनिक गरेका छन्। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा पूर्वाधारलाई जोड दिइएको छ।

कोरोना महामारी नियन्त्रणसँगै स्थानीय तहले भौतिक निर्माणमा पनि उल्लेख्य बजेट विनियोजन गरेका छन्। यस पटक स्थानीय तहको प्राथमिकतामा रोजगारी सिर्जना, कृषि उत्पादन र कोरोना नियन्त्रण मात्र हुने आकलन गरिएको थियो। तर, यहाँका अधिकांश स्थानीय निकायले नयाँ आयोजना र पूर्वाधार निर्माणलाई समावेश गरेका छन्। कोरोना महामारीसँग जुध्नुपर्ने अवस्थामा पनि स्थानीय तहले केही नयाँ र नमुना कार्यक्रम ल्याएका छन्।

विवादका कारण केही स्थानीय तहका सभा रोकिएका छन्। तर सभा सम्पन्न गरेका स्थानीय तहले भने अघिल्ला वर्षका योजनालाई पनि निरन्तरता दिएका छन्। कर्णालीको राजधानी वीरेन्द्रनगर नगरपालिकाले आफ्नै अस्पताल सञ्चालन गर्न बजेट विनियोजन गरेको छ। त्यस्तै कालीकोटको नरहरिनाथ गाउँपालिकाले एक वर्षभित्र निर्माणाधीन विमानस्थल सञ्चालन गर्ने योजना बनाएको छ। हुम्लाको सिमकोट गाउँपालिकाले आगामी एक वर्षभित्रमा गाउँपालिकालाई नगरपालिकामा विस्तार गर्ने नीति लिएको छ। हुम्लामा हालसम्म नगरपालिका छैनन्।

विमानस्थल सञ्चालनको योजना

कालीकोटको नरहरिनाथ गाउँपालिकाले एक वर्षभित्र विमानस्थल सञ्चालन गर्ने नीति तथा कार्यक्रम तय गरेको छ। हालसम्म सञ्चालनमा आउन नसकेको कोटबाडामा रहेको सुनथराली विमानस्थललाई सञ्चालनमा ल्याउने गरी बजेट ल्याइएको गाउँपालिकाका सूचना अधिकारी भरतकुमार कठायतले जानकारी दिए। ‘एक वर्षभित्रै सञ्चालनमा आउने गरी विमानस्थलको धावनमार्ग कालोपत्रे भइरहेको छ’ उनले भने, ‘लामो समयदेखि चीलगाडी उडाउने कालीकोटवासीको सपना पूरा गर्ने गाउँपालिकाको नीति छ।’ यसअघि पनि परीक्षण उडान भएको कोटबाडाको सुनथराली विमानस्थललाई थप स्तरोन्नति गरिने गाउँपालिकाले जनाएको छ। कालीकोटमा हालसम्म एउटा पनि विमानस्थल सञ्चालनमा छैनन्। जिल्लाको एकमात्र सुनथराली विमानस्थल निर्माणमा धेरै समय लागेको र परीक्षण उडानपछि सञ्चालनमा नआएपछि गाउँपालिकाले यस्तो तयारी गरेको हो।

वीरेन्द्रनगरको आफ्नै अस्पताल

कर्णाली प्रदेशको राजधानी रहेको वीरेन्द्रनगर नगरपालिकाले अस्पताल सञ्चालन गर्ने भएको छ। नयाँ आर्थिक वर्षमा हालको कट्कुवा स्वास्थ्यचौकीलाई स्तरोन्नति गरेर नगर अस्पतालका रूपमा सञ्चालन गरिने भएको हो।

कोरोना नियन्त्रका लागि पाँच करोड रुपैयाँ विनियोजन गरेको नगरपालिकाले एक वर्ष भित्रमा आफैंले अस्पताल सञ्चालन गर्ने योजना बनाएको हो। कार्यवाहक मेयर मोहनमाया ढकालले अस्पताल सञ्चालनका लागि यसपटक २० लाख बजेट विनियोजन गरिएको जानकारी दिइन्।

कोरोना महामारीसँग जुध्नुपर्ने अवस्थामा पनि कर्णाली प्रदेशका स्थानीय तहले केही नयाँ र नमुना कार्यक्रम ल्याएका छन्। कालीकोटको नरहरिनाथ गाउँपालिकाले एक वर्षभित्र विमानस्थल सञ्चालन गर्ने नीति तथा कार्यक्रम तय गरेको छ।

‘नगरवासीलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन अस्पताल सञ्चालन गर्ने नीति लिएका छौं’ उनले भनिन्, ‘पूर्वाधार निर्माणलाई पनि निरन्तरता दिएका छौं, प्रदेश राजधानी भएकाले पनि वीरेन्द्रनगरमा आवश्यक पूर्वाधार निर्माण हुनेछन्।’

गाउँपालिकालाई नगर बनाइने

हुम्लाको सिमकोट गाउँपालिकालाई अबको एक वर्षभित्र नगरपालिका बनाइने भएको छ। यसका लागि आवश्यक पूर्वाधार निर्माण गर्ने योजना गाउँपालिकाले बनाएको छ। जिल्ला सदरमुकाम भएकाले गाउँपालिकालाई नगरपालिका बनाउनका लागि आवश्यक पूर्वाधार तयार गर्ने नीति लिइएको छ। आगामी एक वर्षभित्र आठवटै वडामा सडक सञ्जाल पुर्‍याउने, खानेपानी र विद्युत्को विस्तार गर्ने नीति लिएको गाउँपालिका उपाध्यक्ष बलि रावतले जानकारी दिए। नयाँ आर्थिक वर्षका लागि ४० करोड ३९ लाख ४९ हजार ८ सय रुपैयाँको बजेट ल्याएको गाउँपालिकाले पूर्वाधार विकासमा मात्रै १७ करोड ४५ लाख ८९ हजार रुपैयाँ विनियोजन गरेको छ। उपाध्यक्ष रावतका अनुसार नगरपालिकामा रूपान्तरण हुन आवश्यक भौतिक पूर्वाधार निर्माणमा बजेट केन्द्रित छ।

पर्सालाई सुर्खेतको बजेट

सुर्खेतको चौकुने गाउँपालिकाले नेपाल-भारत सिमानामा काँडेतार लगाउन बजेट विनियोजन गरेको छ। सो कार्यका लागि गाउँसभाले एक लाख रुपैयाँ बजेट उपलब्ध गराउने निर्णय गरेको गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीले जानकारी दिए। ‘राष्ट्र सुरक्षामा हाम्रो योगदान’ शीर्षकमा विनियोजन गरिएको उक्त बजेट पर्साको ठोरी गाउँपालिकालाई उपलब्ध गराइने उनले बताए। त्यस्तै सीमा सुरक्षामा खटिने सुरक्षाकर्मीलाई समेत एक लाख रुपैयाँ प्रोत्साहन दिइने उनको भनाइ छ।

डाक्टर पढाउन बजेट

जुम्लाको पातारासी गाउँपालिकाले दुई जनालाई डाक्टर पढाउने भएको छ। कोरोना महामारीपछि गाउँमा स्वास्थ्यकर्मीको अभाव भएको भन्दै गाउँपालिकाले आफैंले डाक्टर उत्पादन गर्ने उद्देश्य लिएको हो। नयाँ आर्थिक वर्षमा गाउँपालिकाका दुई जनालाई छात्रवृत्ति उपलब्ध गराउने गाउँपालिका अध्यक्ष लछिमन बोहोराले जानकारी दिए। यसका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लासँग सहकार्य गरिने उनले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.