चार बुँदे सहमतिपछि दाना सबस्टेसनको काम सूचारु
बेनी : प्रवेशद्वारमा ताला लगाएर आन्दोलनमा उत्रिएका म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ का बासिन्दासँग चार बुँदे सहमति पछि २२० केभी क्षमताको दाना सब स्टेसन निर्माणको काम पाँच दिनपछि सूचारु भएको छ ।
जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा स्थानीयले उठाएका सामाजिक उत्तरदायित्वसँग सम्बन्धित केही माग पूरा गर्ने विषयमा आयोजना र दानाबासीबीच सहमति भएपछि ताला खोलेर सोमबारदेखि सबस्टेसन निर्माण सूचारु भएको हो ।
दानामा सामाजिक उत्तरदायित्व अन्तरगतका काम गर्न बेवास्ता र बजेट बिनियोजनमा विभेद गरेको भन्दै असार १० गते ताला लगाएर सब स्टेसन निर्माण रोकेका थिए । ज्ञानप्रकाश मावि जोड्ने सडकको स्तरोन्नति, आमा समूहको भवन र युवा क्लबको खेलमैदान निर्माणका लागि सामाजिक उत्तरदायित्वका कार्यक्रमअन्तरगत सघाउने सहमति भएको सिडिओ ज्ञाननाथ ढकालले बताए ।
'यसअघि दानाका लागि १२ लाख बिनियोजन गरेको कालीगण्डकी कोरीडोर प्रशारण लाइन आयोजनाले सामाजिक उत्तरदायित्वका कार्यक्रमका लागि थप बीस लाख उपलब्ध गराउने सहमति भएको छ, उनले भने,'सामाजिक उत्तरदायित्वका कामलाई तीब्रता दिने र आयोजनाको काममा अवरोध नगर्ने सहमति भएको छ ।'
आयोजनाले प्रशारण लाइनको टावर बनाउने क्रममा दानाकै फगाममा निर्माण गरेको ५ किलोमिटर सडक मर्मत गर्ने, दानामा नियमित विद्युत आपूर्तिको व्यवस्था मिलाउने लिखित सहमति गरेका छन्।
तालाबन्दी गरेर मजदुरलाई छिर्न नदिएपछि सबस्टेसनमा उपकरण जडान र अन्य निर्माणको काम रोकिएको थियो । जनप्रतिनिधि, युवा क्लब, आमा समूह र अगुवाले सुरत केसीको नेतृत्वमा ७ सदस्यीय संघर्ष समिति गठन गरेर आन्दोलनमा उत्रिएका थिए ।
एशीयाली विकास बैंकको सहयोगमा दाना र पर्वतको खुर्कोटमा सब स्टेसनका साथै ३९ दशमलब ६ किलोमिटर दुरीको प्रशारण लाइन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । असार महिनाभित्र २२० केभी क्षमताको सबस्टेसन चार्ज गर्ने आयोजनाको तयारी छ ।
म्याग्दीको उत्तरी क्षेत्र भएर बग्ने कालीगण्डकी तथा सहायक नदी र मुस्ताङमा निर्माण हुने जलविद्युत आयोजनाबाट उत्पादीत बिजुली केन्द्रिय ग्रिडमा जोड्न एशियाली विकास बैंकको सहयोगमा प्रशारण लाइनका साथै दाना र खुर्कोटमा सब स्टेसन बनाउन लागिएको हो ।
प्रशारण लाइन र सबस्टेसन बनाउन सन् २०१६ मा दुई अर्ब ९० करोडमा टाटा प्रोजेक्ट्स र चिन्ट इलेक्ट्रिक जेभीसँग नेपाल विद्युत प्राधिकरणले ठेक्का सम्झौता गरेको थियो । २०१८ को नोभेम्बरमा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना करिब दुई वर्ष ढिला गरी सकिन लागेको हो ।
पोखरेबगर क्षेत्रमा जग्गाधनीसंगको विवाद र वन क्षेत्रको जग्गा प्राप्तिमा भएको ढिलाइले आयोजना निर्माण प्रभावित बनेको थियो । पोखरेबगर क्षेत्रमा करिब दुई वर्षदेखि रोकिएको प्रशारण लाइन निर्माणको काम स्थानीय प्रशासनको सहजिकरणमा गत पुष देखि सूचारु भएको थियो । आयोजना निर्माणमा भएको ढिलाइका कारण घलेम्दीखोला जलविद्युत आयोजनाको ५ मेगावाट विद्युत खेर गएको छ ।
१३ मेगावाट क्षमताको थापाखोला जलविद्युत आयोजना पनि पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन् । ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत आयोजनाले प्रशारण लाइन र सबस्टेसनसँगै उत्पादन सुरु गर्ने तयारी गरेको छ ।