स्थानीय तहको एक चौथाइ बजेट सडकमा

स्थानीय तहको एक चौथाइ बजेट सडकमा

बेनी : आगामी आर्थिक वर्ष २०७७/७८ का लागि म्याग्दीका स्थानीय सडकमा कुल पूँजीगत बजेटको एक चौथाइभन्दा बढी बिनियोजन गरेका छन् ।  कोरोना भाइरस रोकथाम, सडक पूर्वाधार, कृषि, पशुपालन र रोजगारी सिर्जनालाई प्राथमिकता दिएर दुई अरब ६२ करोड ६२ लाख ४१ हजार ५९३ रुपैयाँको बजेट ल्याएका छन् ।

छ वटा पालिकाको पुजिगत तर्फको कुल बजेट ८८ करोड ६३ लाख ७५ हजार ८९ रुपैयाँ छ । सडक पूर्वाधारका लागि २५ करोड ३८ लाख एक हजार ५८० रुपैयाँ अथवा २८ प्रतिशत बजेट छुट्टाएका हुन् । 

भौगोलिक आवद्धता कायम, कृषि तथा उद्योग व्यवसायको विकास, जनजीवन सहज र उच्च आर्थिक वृद्धि हासिल गर्न सघाउ पुग्ने गरी ग्रामिण सडक निर्माण तथा स्तरोरन्नतिमा जोड दिएको मंगला गाउपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताए । 

पुजिगत तर्फ १७ करोड ९८ लाख ८५ हजार ५६० रुपैया बिनियोजन गरेको मंगलाले सडकलाई सात करोड ८९ लाख १५ हजार छुट्टाएको छ ।  'पहिले सुरु गरेका सडक, भवन, पदमार्गका योजनालाई पूर्णता दिन बजेट बिनियोजनमा निरन्तरता दिएका छौ,' रोकाले भने ,'पालिकाको केन्द्र देखि वडाको मुख्य बस्ती जोड्ने सडकलाई बाह्रै महिना नियमित यातायात सञ्चालन गर्ने लक्ष्यसहित बजेटमा प्राथमिकता दिएको हो ।' 

जिल्ला सदरमुकाम बेनीलाई स्मार्ट सिटी बनाउने महत्वाकांक्षी योजना अघि सार्दै पुँजीगततर्फ १९ करोड चालीस लाख छुट्टाएको बेनी नगरपालिकाले सडकमा पाँच करोड १५ लाख बिनियोजन गरेको छ ।

१२ करोड ६५ लाख ५२ हजार पुँजीगत बजेट बिनियोजन गरेको भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने धवलागिरी गाउँपालिकाले सडकमा तीन करोड ६४ लाख ८६ हजार ५८० राखेको छ । सात वटा वडा रहेको धवलागिरी गाउँपालिकाको मुदी र मल्कवाङ यसै महिना सडक सञ्जालमा जोडिएका छन् । 

१३ करोड ६५ लाख पाँच हजार ९४९ रुपैयाँ विकास बजेट रहेको मालिका गाउँपालिकाले दरवाङ बजारदेखि वडा कार्यालय जोड्ने सडक स्तरोन्नति र बस्तिमा सडक विस्तार गर्न तीन करोड ८३ लाख बिनियोजन गरेको छ ।

मालिकाले कुल लागतको तीन प्रतिशत मर्मत सम्भार कोषमा राख्ने नीति लिएको अध्यक्ष श्रीप्रसाद रोकाले बताए । ११ करोड ५८ लाख ३१ हजार पुजिगत बजेट बिनियोजन गरेको रघुगंगा गाउँपालिकाले सडकमा तीन करोड २० लाख छुट्टाएको छ । १३ करोड ३६ लाख पुजिगत बजेट बिनियोजन गरेको अन्नपूर्ण गाउँपालिकाले सडक आयोजनाका लागि एक करोड ६७ लाख राखेको छ ।

सडक लगायतका पूर्वाधार सम्बन्धी विकास आयोजना निर्माणमा कोरोनाका कारण रोजगारी गुमाएर विदेश र सहरबाट फर्किएकाहरुलाई परिचालन गर्ने नीति लिएको रघुगंगाका अध्यक्ष भवबहादुर भण्डारीले बताए । 

संघीय र प्रदेश सरकारसँग साझेदारीमा सञ्चालन हुने पूर्वाधार योजनाहरुका लागि समपुरक कोषमा साढे ११ करोड रुपैयाँ बिनियोजन गरेका छन् । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको जोखिम न्युनीकरण, नियन्त्रण र ब्यवस्थापन गर्नका लागि विपद् ब्यवस्थापन कोषमा सात करोड २७ लाख १३ हजार रुपैयाँ बिनियोजन गरेका छन् । 

बेनी नगरपालिकाले ९० लाख, धवलागिरीले ७५ लाख, मालिकाले एक करोड ७६ लाख १३ हजार, मंगलाले ८६ लाख, रघुगंगाले एक करोड ६० लाख र अन्नपूर्णले एक करोड ४० लाख बिनियोजन गरेका छन् । 

कृषि र पशुपालन क्षेत्रमा छ करोड २६ लाख ४० हजार अथवा सात प्रतिशत बजेट छुट्टाएका छन् । बेनीले एक करोड २५ लाख, धवलागिरीले एक करोड दुई लाख, मालिकाले ७६ लाख, मंगलाले ९२ लाख ७० हजार, रघुगंगाले एक करोड ६० लाख र अन्नपूर्णले सत्तरी लाख बिनियोजन गरेका छन् । 

कोरोनाका कारण विदेश र सहरबाट फर्किएर कृषि, पशुपालन, जडिवुटी खेति र लघुउद्यम गर्नेलाई अनुदान दिन तीस लाख रुपैयाँको युवा स्वरोजगार कोष बनाएको धवलागिरीकी अध्यक्ष थमसरा पुनले बताइन् । 'कृषि प्रर्वद्धन कोषमा थप बीस लाख राखिएको छ, उनले भनिन्,' कार्यबिधि बनाएर युवालाई ब्यवसाय सञ्चालन गर्न घुम्ति कोष परिचालन गर्छौ ।'
 
शिक्षक, कर्मचारी, स्वास्थ्यकर्मी, जनप्रतिनिधिको तलबभत्ता, कार्यालय सञ्चालन सहित चालु शिर्षकमा एक अर्ब ५६ करोड ७७ लाख ७० हजार रुपैयाँ बिनियोजन गरेका छन् । चालू आर्थिक वर्षको ११ महिनाको अवधिमा बिनियोजन भएको मध्य पचास प्रतिशतको हाराहारीमा मात्र बजेट खर्च गरेका छन् । 

आर्थिक वर्षको करिब दश महिना कर्मचारी अभावमा गुज्रिएका स्थानीय तहका योजना कार्यान्वयनको चरणमा फैलिएको कोरोना र लकडाउनबाट प्रभावित भएका छन् । राजस्व बाडफाड शिर्षकबाट बजेट बिनियोजन भएका योजनाको भुक्तानीमा समस्या देखिएको अन्नपूर्णका प्रशासकीय अधिकृत नविन सुवेदीले बताए । 

कोरोनाले स्थानीय तहको बजटेको प्राथमिकता फेरिएपनि आमा समूह, युवा क्लव र विभिन्न समूहका नाममा टुक्रे योजनामा हुने वितरणमुखी अनुत्पादक लगानी रोक्न सकेका छैनन् । प्रशासनिक खर्च घटाउदै लगेपनि आन्तरिक आम्दानीका स्रोत पहिचान र परिचालनमा ध्यान पुग्न नसकेको देखिन्छ । 

विस्तृत आयोजना प्रतिवेदन बिनै सडकमा बिनियोजन भएको बजेट परिचालन हुदाँ लगानी उपलब्धिमुलक बन्न सकेको छैन् । म्याग्दीका ४५ मध्य ४४ वटा सडक सञ्जालमा जोडिएका छन् । कच्चि अवस्थामा रहेका ग्रामिण क्षेत्रका सडकमा बर्खाको असार देखि असोज महिनासम्म गाडी चल्दैनन् ।  हिउँदमा डोजर चलाएर खनिएका सडक बर्खामा पहिराले पुरिन्छ । हिउँदमा खन्ने र बर्खामा पहिरोसँग बग्ने क्रम निरन्तर छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.