डोल्पाका दुईजना पुरुषमा कोरोना पुष्टि
डोल्पा : डोल्पाका दुईजना पुरुषमा कोरोना भाइरस पोजिटिभ देखिएको छ । चारदिन पहिला १८ जनाको पीसीआर परीक्षणको लागि स्वाब संकलन गरी नेपालगञ्ज भेरी अञ्चल अस्पतालमा पठाइएको थियो । स्वाब परीक्षणपछि सोमबार दुईजनाको पीसीआर रिपोट पोजिटिभ आएको प्रमुख जिल्ला अधिकारी सुरेस सुनारले जानकारी दिए ।
वर्ष ३१ र ३२ का दुईजनाको रिपोट पोजिटिभ आएको र उनीहरुको कन्ट्रयाक्ट ट्रेसिङ गरी आवश्यक्ता परेको खण्डमा सिल गर्न सकिने प्रजिअ सुनारले जानकारी दिए । उनले नागरिकलाई नआत्तिन र सुरक्षाका उपाय अपनाउन आग्रह गरे ।
जेठ २० गते ५८ वर्षका एक जना पुरुषको मृत्युपछि कोरोना संक्रमित देखिएको डोल्पामा पुन दुईजना पुरुषमा कोरोना पुष्टि भएको छ । सदुरमुकाम दुनैकै क्वारेन्टाइनमा बसेका पुरुषको स्वाब परीक्षणका क्रममा कोरोना पोजिटिभ आएको स्वास्थ्य सेवा कार्यालय डोल्पाका कोरोना फोकल पर्सन टेकबहादुर गूरुङले जानकारी दिए ।
गुरुङले फोनमा पोजिटिभ भएको कुरा आएको र लिखित भरेसम्म आउने बताउँदै सबैजना सुरक्षित रहन जरुरी रहेको दावी गरे । हालसम्म पीसीआर पोजिटिभ नभएको डोल्पामा पहिलो पटक दुईजना पुरुषमा देखिएपछि नागरिकहरु त्रसित भएका छन् । डोल्पामा गाडी र जहाजबाट जिल्लामा दैनिक मानिस आउने गरेका छन् । तर आएका सबै नागरिकलाई क्वारेन्टाइनमा राखिएको प्रमुख जिल्ला अधिकारी सुरेस सुनारले बताए ।
दुईजनामा कोरोना पोजिटिभ भएसँगै जिल्लाको सुरक्षा व्यवस्था थप कडाइ गरिएको प्रहरी नायव उपरीक्षक नारायण रञ्जितकारले जानकारी दिए । सोमबार मात्रै सदुरमुकाम दुनैका क्वारेन्टाइनमा रहेका ४० जनाभन्दा धेरैको पीसीआर परीक्षण गरिएको छ । कोरोना पोजिटिभ भएपछि सबै सर्तक रहन र पीसीआर परीक्षणको दायरा बढाउन जरुरी रहेको स्वास्थ्य सेवा प्रमुख डाक्टर सिजन रावलले बताए ।