आकाश नियाल्दै, रात काट्दै

आकाश नियाल्दै, रात काट्दै

जनकपुरधाम/रौतहट : असार लाग्नेबित्तिकै खोला किनार र डुबान क्षेत्रका स्थानीय सुत्न पाउँदैनन्। आकाश रिसार कालोनिलो भएपछि यहाँका बासिन्दाको मनमा एउटै डर पस्छ— ‘अब डुब्छौं।’ असार, साउन र भदौ महिना तराइवासीका लागि संकटको महिना हो। चुरेका खोलामा बौलाएर बाढी आउँछ। त्यो बाढीले स्थानीयको जीवन त्राहिमाम मात्रै बनाउँदैन, कैयौंको ज्यान पनि लिन्छ।

गत वर्ष २३ असारदेखि ३१ असारसम्म परेको अविरल वर्षासँगै आएको भीषण बाढीले ताण्डव मच्चायो। त्यसबीच आएको भीषण बाढीले बगाउँदा प्रदेश २ का ८ जिल्लाका ३२ जनाले ज्यान गुमाए। बाढीले महोत्तरीको बर्दिबासस्थित राजमार्गको भब्सी पुल पनि बगायो, हजारौं घर डुबानमा परे। संघीय, प्रदेश, स्थानीय तीन तहको सरकार भए पनि बाढी जोखिम न्यूनीकरण योजना कार्यान्वयन फितलो रहेको असल आमा समूह बर्दिबास महोत्तरीकी विमला विश्वकर्मा बताउँछिन्। भन्छिन्, ‘वर्षा लाग्नेबित्तिकै हाम्रो जीवन त्रासमय बन्छ।

 सुतेपछि भोलि सबै परिवार सकुशल ब्युँझिन्छौं कि निद्रैमा बाढीले बगाएर लान्छ भन्ने त्रासमा रात काट्नु पर्छ।’ महोत्तरीको रातु खोला, धनुषा र सिरहाको साँधमा बग्ने कमला नदी, सिरहाको खाँडो खोला रौतहटको लालबकैया, बागमती नदीमा आउने बाढीले प्रत्येक वर्ष ताण्डव देखाउँछ।

रातु, बाँके, मरहा खोलाको बाढीले महोत्तरीको सदरमुकाम जलेश्वरसहित चालिस गाउँ प्रत्येक वर्ष डुबानमा पर्छ। सरकारी कार्यालयमै पानीमा पस्छ, बाढीले सडक बगाउँदा महिनौं दिनसम्म सम्पर्क–बिच्छेद हुन्छ। रौतहटमा बाढी तथा डुबानले वर्षेनि ठूलो क्षति गर्दै आएको छ। वर्षा हुन थालेपछि स्थानीयमा त्रास बढेको छ। जिल्लाको भारतीय सिमासँग जोडिएका पालिकाहरू बढी जोखिममा पर्दै आएका छन्।

गत वर्ष गौर, इशनाथ, राजपुर, परोहा, राजदेवी नपा र दुर्गाभगवती गाउँपालिका बाढी तथा डुबानको उच्च जोखिमा रहेको भन्दै यस वर्ष ती पालिकालाई रेडजोनमा राखिएको छ। एलोजोनमा त्यस उत्तरका पालिकाहरूलाई राखिएको छ। जिल्ला विपद् व्यवस्थापन समितिले रेडजोन, एलोजोन वर्गीकरण गरी राहत तथा उद्धारका काम अघि बढाउन लागेको जानकारी रौतहटका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले दिए। उनका अनुसार उद्धारका योजनाबारे तालिम भइरहेको, उद्धारका लागि आवश्यक सामग्री खरिद गर्ने, संकलन तथा भण्डारण गर्ने काम भइरहेको छ।

इशनाथ नपाका मेयर सन्तोष मेहताले हाल कोराना व्यवस्थापनमा लागिरहेको बताउँदै बाढी र डुबानबाट जोगिन पालिकाले सकेको काम गर्ने जनाए। कोरानाका कारण सो नगरपालिका सिल गरिएको छ। इशनाथ जिल्लामै सबैभन्दा बढी संक्रमित रहेको क्षेत्र हो। मेहताका अनुसार, पालिकाबाट करिब दुई सय थान लाइफ ज्याकेट, डोरी, सूचना दिन घण्टी, केही थान त्रिपाल र खाद्यान्न संकलन गरिएको छ। डुबानको उच्च जोखिममा रहेको दुर्गाभगवती गाउँपालिकाले पनि पालिकास्तरीय बैठक बस्ने तयारी गरिरहेको जनाएको छ। सो गाउँपालिकाका अध्यक्ष अरुण साहले बाढी तथा डुबानपीडितलाई राहतको व्यवस्था गर्न खाद्यान्न भण्डारण गर्ने काम भइरहेको जनाए। वडा नम्वर ५ को बर्डेवा टोल बाढीको बढी जोखिममा छ। सो टोलमा वर्षेनि डुबानले करिब ५ सय परिवार पीडित हुँदै आएका छन्।

जिल्लामा बसोवास गर्दै आएका दुई सयभन्दा बढी विपन्न डोम परिवार डुबानका कारण जोखिममा रहेको डोम विकास केन्द्रका पूर्वअध्यक्ष विजय मली डोमले बताए। जिल्लाका करिब दुई हजार मुसहर परिवार वर्षेनि बाढी र डुबानको चपेटामा पर्दै आएका राष्ट्रिय मुसहर उत्थान संघका जिल्ला अध्यक्ष विनोद माभली मुसहरको भनाइ छ।

सदरमुकाम गौरबजार पनि वर्षेनि डुबानमा पर्दै आएको छ। सिमानामा भारतले बनाएको बाँंध, पछिल्ला वर्षमा निर्माण भइरहेको नाला, सडक, रेलमार्ग, हुलाकी सडक निर्माण कार्यले गर्दा वर्षाको पानीको निकास नभई रौतहटको धेरै बस्ती डुबानमा पार्ने गरेको स्थानीयको गुनासो छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.