मनाङमा कोरोना संक्रमित निको भए, आइसोलेसन र क्वारेन्टाइन खाली
बेंसीसहर : हिमाली जिल्ला मनाङमा कोरोना संक्रमित ५७ वर्षीय पुरुष डिस्चार्ज भएका छन्।उनी आइसुलेसनबाट डिस्चार्ज भएसँगै मनाङ कोरोना संक्रमण मुक्त भएको छ। मनाङमा भेटिएका एक मात्र संक्रमित सोमबार निको भएका हुन् । जिल्लामा अन्य संक्रमित फेला परेका छैनन् । कोरोना भाइरस संक्रमण पुष्टि भएको ११ औं दिनमा उनी घर फर्किएका हुन् ।
जिल्ला अस्पताल मनाङको आइसोलेसनमा उपचाररत उनी निको भएर घर फर्किएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले बताए । ११ दिनको उपचारपछि पीसीआर परीक्षण गर्दा कोरोना नेगेटिभ आएसँगै उनलाई डिस्चार्ज गरिएको आचार्यले बताए ।
कपिलवस्तुको वाणगंगा स्थायी घर भई मनाङमा कार्यरत ५७ वर्षीय पुरुषमा मात्र कोरोना भाइरस देखिएको थियो । अहिलेसम्म मनाङमा अन्य मानिसमा कोरोना संक्रमण पुष्टि भएको छैन । यद्यपि उनलाई दुई हप्ता होम क्वारेन्टाइनमा बस्न अनुरोध गरिएको छ । मनाङमा ३० जनाको पीसीआर परीक्षण गरिएकोमा एकजनाको रिपोर्ट पोजिटिभ र २९ जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख आचार्यले बताए ।
हालसम्म मनाङमा एक सय ६७ जनाको आरडिटी परीक्षण गरिएको छ । मनाङमा निर्माण गरिएको ९३ बेड क्षमताको क्वारेन्टाइन र ७ बेडको आइसोलेसनमा हाल खाली रहेको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ ।