नृत्यमा नयाँपनको खोजी

नृत्यमा नयाँपनको खोजी

काठमाडौं : नृत्य निर्देशनमा व्यस्त रहने अजय स्याङ्तान एक दिन तीनवटासम्म भिडियो निर्देशन गरेको स्मरण सुनाउँछन्। ‘भोजपुरी तथा अन्य भाषाका तीनवटासम्म भिडियो एक दिनमा निर्देशन गरेको छु। झन्डै तीन महिनाको पट्यारलाग्दो बसाइपछि सरकारले लकडाउन केही खुकुलो पारेका कारण फेरि आफ्नो कर्ममा फर्कन पाएकोमा खुसी लागेको छ’, उनले सुनाए।

कोरस डान्सर हुँदै दुई दर्जनभन्दा बढी चलचित्रमा सहायक नृत्य निर्देशन गरेका अजय २०६२ सालदेखि भने ‘फुल कोरियोग्राफर’ बने। कोरस डान्स र सहायक नृत्य निर्देशन गर्दाको अनुभव सँगालेर पहिलोपटक भोजपुरी फिल्ममा नृत्य निर्देशन थालेका उनले त्यसपछि एक सयभन्दा बढी विभिन्न भाषाका चलचित्रमा कोरियोग्राफी गरिसकेका छन्। चलचित्र क्षेत्रमा आफ्ना मान्छे नभए पनि संघर्ष गर्दै जाँदा आफैं बाटो बन्दै गएको बताउने अजयले दुई दर्जनभन्दा बढी विभिन्न भाषाका गीतको म्युजिक भिडियो र पाँच सयभन्दा बढी म्युजिक भिडियो निर्देशन गरिसकेका छन्।

अजय सिर्जनात्मक नृत्य शैली, मेहनत र इमानदारीका कारण निर्माता, निर्देशकले आफूसँग दोर्‍याएर काम गर्ने गरेको बताउँछन्। ‘म हरेक गीतमा नयाँपन दिने प्रयास गर्छु’, उनी भन्छन्, ‘त्यसैले मसँग एकचोटि काम गरेका निर्देशक, निर्माता वा गायकले फेरि पनि खोज्ने गरेका छन्।’

पछिल्लो समयका व्यस्त नृत्य निर्देशक अजयले हिरासत, भनिदेऊ न माया गर्छु, राम जाने, लुट कम्पनी, बुलेट, छल, तिमी जहाँ भए पनि, मानव, जिगलो, पहिचान, शिरफूललगायत चलचित्रमा नृत्य निर्देशन गरेका छन्। उनले बक्स अफिस तथा छायाँछवि डी सिने अवार्डमा उत्कृष्ट नृत्य निर्देशकको अवार्ड पाएका छन्। नृत्य निर्देशनमै करिअर बनाएकाले बाँकी जीवन पनि यही पेसा गरेर बिताउने अठोट उनको छ।

भारतको हैदराबादबाट नृत्यको प्रशिक्षण लिएका उनी २०५७ सालदेखि नेपाली चलचित्र क्षेत्रमा कोरस डान्सरका रूपमा प्रवेश गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.