कोरोना कहर : एकादशीमा छाङछाङदीमा नुहाउन र पूजामा रोक
स्याङ्जा : भीरकोट नगरपालिकास्थित छायाँक्षेत्र छाङछाङदी मन्दिरमा बुधबार परेको हरिशयनी एकादशी नुहाउन तथा पूजा गर्न आउने भक्तजनलाई मन्दिर प्रवेशमा रोक लगाइएको छ । मन्दिर सम्झेर पुग्ने भक्तजन प्रवेशद्वारमा पुगेर मन्दिरको स्मरण एवं दर्शन गर्दै घर फर्केका छन् ।
यहाँ आउने भक्तजनलाई स्थानीयले मन्दिरको जल ल्याएर उपलब्ध गराएका छन् । कोरोना भाइरस संक्रमण बढेसँगै ऐतिहासिक कालदेखि पूजाआजा गर्दै आएको मन्दिर प्रवेशमा रोक लगाइएको हो ।
पराम्परादेखि स्नान तथा पूजाआजा गरिने सो मन्दिरमा एकादशीका दिन यहाँ हजारौं भक्तजनको उपस्थिति रहन्छ । मन्दिरको उत्तरतर्फ रहेको पहाडको छहराबाट झरेको झरनामा नुहाएर पूजाआजा गर्दै भजनकीर्तनमा रमाउने भक्तजन यस पटक मन्दिरमा जान नपाउँदा दु:खी छन् ।
प्रवेशद्वारमा भक्तजनलाई मन्दिरको जल दिँदै एक स्थानीय युवा । तस्बिर : भवानी अधिकारी
गतवर्ष पनि आजका दिन २० हजार भन्दा बढी भक्तजनले पूजाआजा गरेका थिए । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका अवसरमा विगतका वर्षहरुमा ठूलो मेला लाग्ने गरेकोमा यस वर्ष भने कोरोनाका कारण मानिसको जमघटले थप जोखिम बढाउन सक्ने भन्दै भक्तजनलाई प्रवेशमा रोक लगाइएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर श्रेष्ठले जानकारी दिए ।
'लकडाउन सुरु भएसँगै यहाँ भीडभाड हुनेगरी पूजाआजा गरिएको छैन। नियमित पूजापाठ मात्र हुन्छ,' अध्यक्ष श्रेष्ठले भने ,एकादशी स्नानका लागि आउने भक्तजनलाई प्रवेशद्वारमा बसेर मन्दिरको जल दिने गरिएको छ, उनीहरु सोही जलले स्नान गरेर हात जोडेर फर्कने गरेका छन् ।'
समयअनुरुप चल्नु र चलाउनु पर्दा श्रद्धालु भक्तजनको इच्छा पूरा गर्न नपाउँदा दु:खी बनाएको उनले बताए । असार शुक्ल एकादशीका दिन अर्थात् आज घरमा तुलसीको बिरुवा रोपी पूजा शुभारम्भ गरेर चतुर्मास व्रत सुरु हुन्छ । असार शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्म चतुर्मासभरी यहाँ नियमित पूजाआजासहित भक्तजनको उल्लेख्य सहभागिता हुन्छ ।
कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीको दिन तुलसीको दामोदरसँग विवाह गरेपछि चतुर्मास सम्पन्न हुने भनाइ छ । यो ४ महिनाको समयमा आफ्नो शारीरिक र मानसिक अवस्थाले साथ दिएसम्म व्रत बस्नु शुभ फलदायी हुने मान्यता परापुर्वकालदेखि रहिआएकाले पनि यस मन्दिरका दर्शनका लागि भक्तजन आउने गर्दछन् ।
सनातन धर्मावलम्बी यस एकादशीका अवसरमा घरका आँगनमा तुलसी रोपी भगवान् विष्णुको पूजाआराधना गरी मनाउने गर्दछन् । वर्षमा पर्ने २४ एकादशीमध्ये हरिशयनी र हरिबोधिनी एकादशीलाई विशेष महत्त्वका साथ मनाइन्छ । आयुर्वेद दवाइमा पनि तुलसीको अत्यधिक महत्व छ ।
धेरै अक्सिजन दिने वनस्पतिका रूपमा तुलसीलाई मानिन्छ । छायाँक्षेत्र छाङछाङ्दी मन्दिरको महिमा स्वस्थानी ब्रत कथासँग जेडिएको छ । 'माघ महात्मे श्रीस्वस्थानी ब्रतको पौणारिक कथा अनुसार दक्षप्रजापतीले आफ्ना पति शिवलाई गरेको अपमान सहन नसकेर बलिरहेको यज्ञकुण्डमा हामफालेर देहत्याग गरेकी सतीदेवीलाई बोकेर हिँड्दा छाङ्छाङ्दीमा सतीका अन्तिम भाग पतन भएको किबंदन्ती छ । पत्नीको आत्मदाहबाट बियोग बनेका शिवले सतीदेवीलाई बोकेर पृथ्वी परिक्रमा गर्दा उनका अंगहरु जहाँ जहाँ झरे त्यँही त्यही स्थानमा धार्मिक प्रवित्र स्थल बनेको भन्दै पूजा गर्ने चलन रहिआएको छ ।
'सतीलाई बोकेर हिँडेका शिवले भित्तामा प्रहार गर्दा छहरा बनेर पानी छङ्छङ गर्दै पानी बगेको हुँदा सो स्थललाई छाङछाङदी भनिएको हो भन्ने विश्वास छ । सो छहराबाट छङछङ गर्दै बाह्रै महिना छहरा बग्दछ । हेर्दा पनि अचम्मै लाग्ने पथ्थरै पत्थर भित्रबाट पानीको छहरा निरन्तरत बगिरहेको हुन्छ। छाङ्छाङ्दीको उत्पतीदेखि हालसम्म मन्दिरमा स्वस्थानी ब्रतकथा अवधिभर (माघ महिना), शिव व्रत (साउन महिनाभर), महाशिवरात्री, हरिशयनी एकादशी, हरिबोधनी एकादशी, कृष्णजन्माष्टमीका दिन दर्शनार्थीको बाक्लो भीड लाग्ने गर्दछ ।
यी समयमा दिनमै २० देखि २५ हजारसम्मका दर्शनार्थीले दर्शन गर्छन्। चाडपर्वमा लाखौं रुपैयाँ आम्दानी हुने गर्छ। सिद्धार्थ राजमागअन्र्तगत स्याङजा खण्डमा पर्ने छाङछाङदी मन्दिर राजमार्ग छेवैमा रहेकाले जेष्ठ र अपांग नागरिक समेत पुग्ने गर्दछन् । अत्यन्त सुन्दर, शान्त मनोरम स्थलमा रहेको मन्दिर वृहत गुरुयोजनासहित निर्माणका काम पनि भइरहेका छन् ।