बर्दीको आडमा अपराध
काठमाडौं :
घटना— १
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक प्रकाशसिंह कार्की र कानुन व्यवसायी हिमालयविक्रम विष्ट ५० हजार घुस रकमसहित असार १२ गते पक्राउ परे। जबर्जस्ती करणी र सार्वजनिक हितविरुद्धको अपराधका दुई मुद्दा मिलाइदिने भन्दै उनीहरूले सेवाग्राहीसँग घुस लिएका थिए।
घटना— २
महानगरीय प्रहरी परिसर ललितपुरमा कार्यरत प्रहरी निरीक्षक रुद्र शाही लागूऔषध कारोबारीसँग मिलेको आरोपमा असार ११ गते समातिए। उनका सहयोगीलाई पनि लागूऔषध नियन्त्रण ब्युरोले नियन्त्रणमा लिँदा शाही दुव्र्यसनी रहेको खुल्यो। लागूऔषध कारोबार गरेकै कारण उनी राजधानीमा घरजग्गा जोड्न सफल भएको प्रहरी अनुसन्धानले देखाएको छ।
घटना— ३
काठमाडौं न्युरोडका एक व्यापारीको १० लाख रुपैयाँ लुटपाट गरेको आरोपमा प्रहरी हबलदार धीरेन विष्ट र जवान विक्रम चन्द असार १० गते पक्राउ परे। हबलदार विष्ट महानगरीय प्रहरी परिसर टेकुमा सादा पोसाकमा खटिने प्रहरी हुन्। व्यापारी सीसीटीभी फुटेज लिएर महानगरीय प्रहरी अपराध महाशाखामा पुगेका थिए।
बर्दीधारी प्रहरी आपराधिक गतिविधिमा मुछिएका केही घटना हुन् यी। सुरक्षा फौजको ठूलो जमात कोरोना संक्रमण न्यूनीकरणसँगै अन्य दैनिकी काममा जुटेका बेला केही भने बर्दी दुरुपयोगमा सक्रिय रहेको यी घटनाक्रमले देखाउँछ।
‘एकाध घटनालाई लिएर सम्पूर्ण संगठनको मूल्यांकन गर्न मिल्दैन। अहिले जो कारबाहीमा परेका छन्, उनीहरू स्वयं कारबाहीको भागीदार भएका हुन्। ७४ हजार फौजको संगठनमा धेरै असल पनि छन्।’ - नीरजबहादुर शाही, प्रहरी प्रवक्ता
इलाका प्रहरी भीमफेदीमा कार्यरत प्रहरी निरीक्षक राम राय ठेकेदार दुर्गा लामासँग १२ हजार घुस लिँदै गर्दा असार ६ गते पक्राउ परेका थिए। प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट खटिएको टोलीले रायलाई रंगेहात नियन्त्रणमा लिएको थयो। उनी केही महिनाअघि मात्रै भीमफेदी पुगेको पाइएको छ। प्रहरी संगठनमा नेतृत्व विकासको सुरुआत प्रहरी निरीक्षकदेखि नै छाँटिएर हुने हो। तर, नेतृत्व विकासको पहिलो बिन्दुमै राय पक्राउ परे।
हुन्डी नियन्त्रण प्रहरीको कार्यक्षेत्रभित्र पर्दै आएको छ। उल्टै कारोबारीसँग मिलेर प्रहरीले नाफा आर्जन गर्न खोजेपछि यसप्रति पनि प्रश्न उब्जिने गरेको छ। कर्तव्य र मर्यादाविपरीत काम गरेको भन्दै २ नम्बर प्रदेश प्रहरी कार्यालयले दुई प्रहरी सहायक निरीक्षक र एक प्रहरी जवानलाई निलम्बन गरेको छ। हुन्डी कारोबारीको आर्थिक प्रलोभनमा परी सघाएको प्रमाणित भएपछि उनीहरू निलम्बनमा परेका हुन्।
प्रहरी कर्मचारी नै यस्ता घटनामा मुछिएपछि प्रहरी मुख्यालयले एक साताअघि मातहतका निकायलाई परिपत्र गर्दै सचेत गराएको छ। प्रहरी ऐन र नियमावलीबाहिर गएर काम गरेको पाइए विभागीय कारबाहीको भागीदार हुन सबैलाई सचेत गराइएको प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी नीरजबहादुर शाहीले दिए।
‘एकाध घटनालाई लिएर सम्पूर्ण संगठनको मूल्यांकन गर्न मिल्दैन’, उनले भने, ‘अहिले जो कारबाहीमा परेका छन्, उनीहरू स्वयं कारबाहीको भागीदार भएका हुन्। ७४ हजार फौजको संगठनमा धेरै असल पनि छन्।’
प्रवक्ता शाहीले प्रहरीको आचरण व्यवहारमा धेरै सुधार आएको दाबी गरे। गलत आचरणका प्रहरी कर्मचारीलाई संगठनले करेक्सन तालिम र आवश्यक परे विभागीय कारबाही गर्दै आएको उनको भनाइ छ।
प्रहरी मुख्यालयका अनुसार २०७६ साउनदेखि २०७७ असार पहिलो सातासम्म एक वर्षमा १ हजार ७ सय ८७ जना प्रहरी कर्मचारीलाई विभागीय कारबाही गरिएको छ। एक वर्षमा गलत आचरण गरेर कारबाहीमा परेका दुई डीएसपीसहित ३ सय ७७ जनालाई जागिरबाट हटाइएको डीआईजी शाहीले बताए। उनका अनुसार यो अवधिमा एक डीएसपीसहित २ सय ३६ जना प्रहरी निलम्बनमा छन्।
व्यक्ति विशेषको निर्भरता हट्नुपर्छ
राजेन्द्रसिंह भण्डारी, पूर्वएआईजी
आफ्नै संगठनसँग जोडिएको विषयलाई मैले गम्भीर रूपमा हेरिरहेको हुन्छु। खासगरी अहिले तल्लो दर्जाका प्रहरी कर्मचारी आर्थिक अपराधमा धेरै मुछिएका छन्। अख्तियारको स्टिङ अपरेसनमा होस् या अन्य विविध घटनामा। यो समस्याको समाधान सुरुआत राज्यबाटै गर्नुपर्ने देखिन्छ।
पहिला त प्रहरीलाई प्रविधिमैत्री बनाउनुपर्यो। अपराध न्यूनीकरणमा सूचना अपरिहार्य छ। तर, सूचना संकलनको विधि हाम्रो पुरानै ढर्राबाट चलिरहेको छ। जबसम्म घुमुवा (सादा पोसाकमा संलग्न प्रहरी)लाई व्यवस्थित गर्न सकिँदैन तबसम्म आर्थिक अपराधमा प्रहरी निषेध हुन सक्दैनन्। केही अधिकृतले घुमुवा लखेट्छन्। अर्को हाकिम आएपछि उसैले प्र श्रय पाउँछ। फेरि पनि सूचना संकलनमा पहिले लखेटिएका उही घुमुवामा निर्भर हुनुपर्छ। यो समस्याको निराकरण सम्भव छैन।
विगतमा हाकिमले घुमुवाको दुरुपयोग गरेकै हो। अब यसरी चल्दैन। प्रहरी प्रविधिमैत्री हुनुपर्छ। अनुसन्धान इन्टरसेप्सन प्रविधिमा जानुपर्छ। सादा पोसाकको अवधारणालाई संस्थागत विकास गर्नुपर्छ। सरकारले पनि प्रहरीको सेवासुविधा हालको महँगीअनुसार समायोजन गर्दै लैजानुपर्छ। व्यक्तिले गरेको अपराधलाई लिएर समग्र संगठनलाई तौलन मिल्दैन।