निफले माग्यो फिल्म
काठमाडौं : नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ) को चौथो संस्करणका लागि फिल्म दर्ता गर्ने समय खुल्ला गरिएको छ। नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा बर्सेनि हुँदै आएको फेस्टिभलको नयाँ संस्करण फागुन १२ देखि १६ सम्म हुने र त्यसका लागि आवेदन खुल्ला गरिएको आयोजकले जनाएको छ।
फेस्टिभलमा सहभागिता जनाउन चाहने इच्छुक फिल्मकर्मीले २०२० जुलाई १ देखि नोभेम्बर ३० सम्म सहभागिताका लागि आवदेन गर्न सकिने प्रतिष्ठान अध्यक्ष पाठकले विज्ञप्तिमार्फत जनाएका छन्। ‘विश्वका कथाहरूको कथ्य उत्सव’ भन्ने नाराका साथ ‘फिल्म संस्कृति’ को विकास गर्ने उद्देश्यसहित सुरु भएको फेस्टिभलमा यो वर्ष महामारीको विषयमा बनेका फिल्मको विधा थप गरिएको विज्ञप्तिमा उल्लेख छ। ‘बेस्ट पान्डेमिक फिल्म’ नाम दिइएको यो विधामा विजेता फिल्मले पाँच सय अमेरिकी डलर पुरस्कार प्राप्त गर्ने अध्यक्ष पाठकले जानकारी गराए। राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी दुई भागमा बाँडेर प्रदान गरिने अवार्डमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलरसहित गौतमबुद्ध अवार्ड प्रदान गरिनेछ भने यो फिल्मले इन्टरनेसनल फेडरेसन अफ फिल्म सोसाइटिजको जुरीको तर्फबाट आईएफएफएस डन क्विजोट अवार्ड प्राप्त गर्नेछ। यसैगरी अन्तर्राष्ट्रिय विधातर्फ सर्वोत्कृष्ट वृत्तचित्रलाई एक हजार डलर राशिको माउन्ट एभरेस्ट अवार्ड, सर्वोत्कृष्ट एनिमेटेड चलचित्रलाई पाँच सय डलर राशिको मञ्जु श्री अवार्ड, सर्वोत्कृष्ट लघुचलचित्रलाई पाँच सय डलर राशिको बागमती अवार्ड प्रदान गरिनेछ। साथै, नेपाली प्रतिस्पर्धाअन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई एक लाख नगद, उत्कृष्ट सर्ट फिल्मलाई ५० हजार नगद र सर्ट फिल्म मध्येबाट उत्कृष्ट फिल्म निर्देशकलाई ट्रफी प्रदान गरिनेछ। योबाहेक फिचर फिल्म विधातर्फका उत्कृष्ट निर्देशक, लेखक, छायांकार, अभिनेता र अभिनेत्रीलाई पनि ट्रफी प्रदान गरिनेछ।