दाना सबस्टेसनको काम सुचारु
बेनी : प्रवेशद्धारमा ताला लगाएर आन्दोलनमा उत्रिएका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ का बासिन्दासँग चार बुदे सहमति पछि २२० केभी क्षमताको दाना सबस्टेसन निर्माणको काम पाँच दिनपछि सुचारु भएको छ।
जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा स्थानीयले उठाएका सामाजिक उत्तरदायित्वसँग सम्बन्धित केही माग पूरा गर्ने विषयमा आयोजना र दानाबासीबीच सहमति भएपछि ताला खोलेर सोमबार देखि सबस्टेसन निर्माण सुचारु भएको हो।
दानामा सामाजिक उत्तरदायित्वअन्तर्गत काम गर्न बेवास्ता र बजेट बिनियोजनमा विभेद गरेको भन्दै असार १० गते ताला लगाएर सबस्टेसन निर्माण रोकेका थिए।
ज्ञानप्रकाश मावि जोड्ने सडकको स्तरोन्नति, आमा समूहको भवन र युवा क्लबको खेलमैदान निर्माणका लागि सामाजिक उत्तरदायित्वका कार्यक्रमअन्तर्गत सघाउने सहमति भएको सीडीओ ज्ञाननाथ ढकालले बताए।
‘यसअघि दानाका लागि १२ लाख बिनियोजन गरेको कालीगण्डकी कोरिडोर प्रशारण लाइन आयोजनाले सामाजिक उत्तरदायित्वका कार्यक्रमका लागि थप २० लाख उपलब्ध गराउने सहमति भएको छ’, उनले भने, ‘सामाजिक उत्तरदायित्वका कामलाई तीव्रता दिने र आयोजनाको काममा अवरोध नगर्ने सहमति भएको छ।’
आयोजनाले प्रशारण लाइनको टावर बनाउने क्रममा दानाकै फगाममा निर्माण गरेको ५ किलोमिटर सडक मर्मत गर्ने, दानामा नियमित विद्युत् आपूर्तिको व्यवस्था मिलाउने लिखित सहमति गरेका छन्।
तालाबन्दी गरेर मजदुरलाई छिर्न नदिएपछि सबस्टेसनमा उपकरण जडान र अन्य निर्माणको काम रोकिएको थियो। जनप्रतिनिधि, युवा क्लब, आमा समूह र अगुवाले सुरत केसीको नेतृत्वमा ७ सदस्यीय संघर्ष समिति गठन गरेर आन्दोलनमा उत्रिएका थिए।
एसियाली विकास बैंकको सहयोगमा दाना र पर्वतको खुर्कोटमा सबस्टेसनका साथै ३९ दशमलब ६ किलोमिटर दूरीको प्रशारण लाइन निर्माणको काम अन्तिम चरणमा पुगेको छ। असार महिनाभित्र २२० केभी क्षमताको सबस्टेसन चार्ज गर्ने आयोजनाको तयारी छ।
म्याग्दीको उत्तरी क्षेत्र भएर बग्ने कालीगण्डकी तथा सहायक नदी र मुस्ताङमा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली केन्द्रीय ग्रिडमा जोड्न एसियाली विकास बैंकको सहयोगमा प्रशारण लाइनका साथै दाना र खुर्कोटमा सबस्टेसन बनाउन लागिएको हो।
प्रशारण लाइन र सबस्टेसन बनाउन सन् २०१६ मा दुई अर्ब ९० करोडमा टाटा प्रोजेक्ट्स र चिन्ट इलेक्ट्रिक जेभीसँग नेपाल विद्युत् प्राधिकरणले ठेक्का सम्झौता गरेको थियो। २०१८ को नोभेम्बरमा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना करिब दुई वर्ष ढिला गरी सकिन लागेको हो।
पोखरेबगर क्षेत्रमा जग्गाधनीसँगको बिबाद र वन क्षेत्रको जग्गा प्राप्तिमा भएको ढिलाइले आयोजना निर्माण प्रभावित बनेको थियो। पोखरेबगर क्षेत्रमा करिब दुई वर्षदेखि रोकिएको प्रशारण लाइन निर्माणको काम स्थानीय प्रशासनको सहजीकरणमा गत पुसदेखि सूचारु भएको थियो। आयोजना निर्माणमा भएको ढिलाइका कारण घलेम्दीखोला जलविद्युत् आयोजनाको ५ मेगावाट विद्युत् खेर गएको छ।
१३ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजना पनि पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन। ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत् आयोजनाले प्रशारण लाइन र सबस्टेशनसँगै उत्पादन सुरु गर्ने तयारी गरेको छ।