भक्तपुरमा ६५ प्रतिशतमात्रै रोपाइँ
भक्तपुर : असार तेस्रो साता बित्न लाग्दा भक्तपुरमा ६५ प्रतिशतमात्रै रोपाइँ भएको छ। धान खेती हुने भक्तपुरको कूल चार हजार तीन सय ४८ हेक्टरमध्ये अझै ३५ प्रतिशत खेतमा रोपाइँ बाँकी भएको हो।
जिल्लास्थित कृषि ज्ञान केन्द्रका प्रमुख निर्मल गोडारले सिंचाइ सुविधा भएका खेतमा धान खेती भए पनि आकासे पानीको भर पर्नुपर्ने खेतमा रोपाइँ बाँकी भएको जानकारी दिए। उनले वर्षा भएर पानी परेको बेला धेरै पर्ने र धेरै दिन पानी नपर्ने गर्नाले धान रोपाइँ प्रभावित भएको सुनाए।‘वर्षा पर्याप्त भएको देखिन्छ’, प्रमुख गोडारले भने, ‘तर साता दिनको फरकमा वर्षा हुँदा रोपाइँ प्रभावित भएको छ।’
केन्द्रका अनुसार जिल्लाको उँचो ठाउँ सुडाल, नंखेल, चित्तपोल, छालिङ्ग, बालकोट र सिरुटारलगायतमा रोपाइँ बाँकी छ। मनसुन सक्रिय भए पनि पछिल्लो दिन पानी पर्न रोकिएपछि किसानहरुले रोपाइँ गर्न पाएका छैनन्। भक्तपुरमा रोपाइँ हुने कूल जमिनमध्ये दुई हजार पाँच सय ८५ हेक्टरमा सिंचाइ सुविधा रहेको छ। बाँकी क्षेत्रफलमा आकाशे पानीको भरमा रोपाइँ गर्नुपर्ने यहाँका किसानहरुको बाध्यता रहेको छ।
वर्षा नहुँदा रोपाइँ गर्न ठिक्क भएको बीउसमेत बुढो हुन थालेको छ। बुढो बीउ रोप्दा धान उत्पादन घट्ने गर्दछ। धानविज्ञहरुका अनुसार बीउ हालेको १५ देखि १९ दिनभित्रको बीउ रोप्नुपर्छ। बुढो बीउ प्रयोग गर्दा पाँचदेखि सात प्रतिशतसम्म उत्पादन घट्ने उनीहरुको दावी छ। तर भक्तपुरमा जेठको पहिलो सातामै राखिएका बीउ अहिले कम्तीमा ३० दिनको भइसकेको छ।
रोपाइँ सकेपछि खेतमा हप्तामा पाँच दिन पानी राख्ने र दुई दिन सुकाउने गर्न सकिए धानको राम्रो उत्पादन लिन सकिने कृषि प्राविधिकहरुको सुझाव छ।
भक्तपुरमा वार्षिक २५ हजार ६८ मेट्रिक टन धान उत्पादन हुने केन्द्रको तथ्यांक छ। भक्तपुर देशभरमै बढी धान उत्पादकत्व भएको जिल्ला हो। यहाँ एक हेक्टर क्षेत्रफलमा करिब ६ मेट्रिक टन धान उत्पादन हुन्छ।