सुदूरपश्चिममा एकैदिन ३४६ जनामा संक्रमण : संक्रमतिको संख्या ३ हजार नाघ्यो
धनगढी : सुदूरपश्चिममा प्रदेशमा थप तीन सय ४६ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । जुन २४ घण्टामा थपिने संख्या अहिलेसम्मको सबैभन्दा बढी हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा तीन सय २० र धनगढी प्रयोगशालामा भएको परीक्षणमा २६ गरी बिहीबार तीन सय ४६ जनामा कोरोना पुष्टि भएको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा कैलालीका ४० महिला र एक सय २५ पुरुष गरी एक सय ६५ जना, अछामका ५ महिला र २६ पुरुष गरी ३१ जना, बझाङका ११ महिला र २४ पुरुष गरी ३५ जना, डोटीका १० महिला र ४८ पुरुष गरी ५८ जना र कञ्चनपुरका ६ महिला र २५ पुरुष गरी ३१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए ।
धनगढीमा भएको परीक्षणमा ८ महिला र १८ पुरुष गरी २६ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ । अस्पतालका अनुसार कैलालीको टीकापुरका १३ जना, कैलारी गाउँपालिकाका दुई जना र भजनी नगरपालिकाका दुई जनामा कोरोना पुष्टि भएको हो ।
यस्तै कञ्चनपुरको लालझाडी गाउँपालिकाका दुई जना र भीमदत्त नगरपालिकाका एक जना तथा अछामको साँफेवगर नगरपालिकाका ६ जनामा कोरोना पुष्टि भएको हो । बिहीबार थपिएका गरी प्रदेशमा कोरोना संक्रमतिको संख्या ३ हजार नागेको छ ।
धनगढी प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय नौ जनाको कोरोना परीक्षण भएको थियो । प्रदेशमा कोरोना पुष्टि भएका सात जनाको मृत्यु भएको छ । चार सय ९५ जना भने अस्पतालबाट डिस्चार्ज भएका छन् । सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या दैनिक २ सय बढ्ने गरेको छ । बुधबार मात्र प्रदेशमा २ सय ४१ जनामा कोरोना संक्रमण भएको थियो ।