विद्यालयबाट क्वारेन्टाइन हटाउन दवाब

विद्यालयबाट क्वारेन्टाइन हटाउन दवाब

तानसेन : विद्यालय बन्द भएको चार महिना बित्यो। पठनपाठन ठप्प छ। घरमै बसिरहेका बालबालिकामा आलस्यता र जिद्धिपन बढ्न थालेपछि अभिभावकले विद्यालय सञ्चालन गर्न शिक्षकलाई दवाव दिन थालेका छन्।

अभिभावकको दवावपछि विद्यालयमा रहेका क्वारेन्टाइन हटाएर पठनपाठनको वातावरण बनाउन शिक्षकले स्थानीय तहको ध्यानाकर्षण गराएका छन्। सामाजिक दुरी कायम गरेर विद्यालयमा पठनपाठन सुरु गर्न सकिने निष्कर्षमा शिक्षक पुगेका छन्। कोरोना महामारीको प्रभाव तत्काल हट्ने संकेत नदेखिएपछि पाल्पाका विद्यालय सुरक्षा अपनाएर शैक्षिक गतिविधि चलाउन सकिने निष्कर्षमा पुगेका हुन्। पाल्पाका करिब दुई सय विद्यालयलाई क्वारेन्टाइन बनाइएको छ।

क्वारेन्टाइनमा रहेका अधिकाशं व्यक्ति घर फर्किसकेकाले खाली गर्नु पर्ने शिक्षक अभिभावकको तर्क छ। विद्यालय व्यवस्थापन समिति, प्राधानाध्यापक तथा शिक्षकले क्वारेन्टाइन खाली गरेर शैक्षिक गतिविधि बढाउन स्थानीय तहलाई दवाव दिएका छन्। विद्यालय बन्द भएपछि १० देखि १८ वर्षसम्मका बालबालिका मोवाइल, टिभीमा व्यस्त छन्। उनीहरुको रोजाइ नै पब्जी र भिडियो गेममा छ। तानसेन-१ का रविन तामाङको आजकलको समय मोवाइलको फ्रीफायर भिडियो गेममा बित्ने गरेको छ। अधिकांश समय मोवाइलको स्क्रिनमा हेर्दा छोराको आँखामा समस्या देखिन थालेका रविनकी आमा सुमिले बताइन्।

पाल्पा लायन्स लाकौल आँखा अस्पतालका नेत्र विशेषज्ञ अमृत बास्तोला मोवाइल, कम्प्युटर एक मिटर टाढा राखेर चलाउनु पर्ने बताउँछन्। त्यसो नगर्दा बालबालिकाको आँखा सुख्खा हुने, आँखाको पावर घटबड हुने, टाउको दुख्ने जस्ता समस्या आउने उनको भनाइ छ। विद्यालयको पठनपाठन रोकिएपछि आँखा अस्पतालमा बालबालिकाकाको चाप बढेको बास्तोलाले जानकारी दिए।

वालवालिकाको भविष्य जोगाउनका लागि विद्यालय सञ्चालनको विकल्प नभएको सरोकारवालाको भनाइ छ। दिव्यज्योती माध्यमिक विद्यालय माथागढीका प्रधानाध्यापक नारायण अधिकारी क्यारेन्टाइनको वैकल्पिक व्यवस्था गर्दै विद्यालयमा पठनपाठन सुरु गर्नुपर्ने बताउँछन्। कोरोना संक्रमणको रोकथाम अनिश्चित भएकाले पठनपाठन सुरु गर्नुको विकल्प नभएको जनता माध्यमिक विधालय तानसेनका पूर्व प्राचार्य बुद्धिप्रसाद शर्माले बताए। सरकारले असार १ गतेदेखि रेडियो, टेलिभिजन र अनलाइन माध्यमबाट पठनपाठन सुरु गरेको छ। तर, यो प्रयास बालबालिकाका लागि प्रभावकारी नदेखिएको अभिभावकको गुनासो छ।

बालबालिका विद्यालय घरमै बस्दा, अल्छी भएको, मोटोपन बढेको, अध्ययन गर्ने बानी हराइसकेको, मोवाइल र इन्टरनेटका कारण उनीहरुको ध्यान अन्यत्रै मोडिएको तानसेन भगवती टोलका अभिभावक मनोज गैरेले बताए। ‘बालबालिका मोवाइलका किरा भए, घरमै बसेर बाबा, आमालाईसमेत नटेर्ने भएका छन्, तानसेन नगरपालिका ६ का सूर्यबहादुर केसीले भन्छन्, ‘अब विद्यालय खोल्ने प्रयास गर्नुपर्छ।’ बिहान १० बजेदेखी सञ्चालन हुँदै आएका विद्यालयलाई दुई सिफ्टमा सञ्चालन गर्नुपर्ने अभिभावकको सुझाव छ। बिहान ८ देखी १ बजेसम्म पहिलो सिफ्ट र दिउँसो १ देखि साँझ ६ बजेसम्म दोस्रो सिफ्टमा विद्यालय सञ्चालन गर्न सकिने अभिभावकहरुको तर्क छ।

नेपाल राष्ट्रिय शिक्षक महासंघका केन्द्रीय सदस्य विष्णु पोखरेल भने वैकल्पिक विधिबाट पठनपाठन गरए पनि प्रभावकारी नहुने बताउँदै आवश्यक सुरक्षा र भौतिक दुरी कायम गर्दै विद्यालय सञ्चालन गर्नुको विकल्प नभएको बताउँछन्। एक वर्षे शैक्षिकसत्र लकडाउनका कारण चार महिना कारण बन्द भएकाले बाँकी रहेको आठ महिनालाई दुई दुई महिनाको पाठयक्रम निर्धारण गरेर नयाँ शैक्षिक सञ्चालन गर्न सकिने नेपाल राष्ट्रिय शिक्षक महासंघ पाल्पाका अध्यक्ष देवीप्रसाद भट्टराईको सुझाव छ।

विद्यालयका क्वारेन्टाइनलाई सामुदायिक भवनमा सार्न सकिने बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले बताए। तर सबै वडा र स्थानीय तहमा वैकल्पिक व्यवस्था नभएसम्म क्वारेन्टाइन सार्न नसकिने अन्य तहका पदाधिकारीको तर्क छ। पाल्पामा ती सय ९४ वटा सामुदायिक विद्यालय रहेकोमा दुई सयभन्दा बढी क्वारेन्टाइनको रुपमा प्रयोगमा छन्। सरकारको निर्देशन बिना तत्काल विद्यालय सञ्चालन गर्ने अवस्था नभएको जिल्ला शिक्षा तथा समन्व ईकाई प्रमुख रमेशराज पौडेलले बताए। प्रधानाध्यापक र शिक्षकले विद्यालयमा नगइ विभिन्न अनलाइन प्रविधि मार्फत विद्यार्थीलाई पठनपाठन गराउन सक्ने उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.