संघीय निजामती विधेयक विरुद्ध कर्मचारीहरु आन्दोलित
बर्दिबास : प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट हालै पारित भएको संघीय निजामती विधेयक विरुद्ध महोत्तरीका सरकारी कर्मचारीहरु आन्दोलित भएका छन् ।
राज्य व्यवस्था समितिले पारित गरेको निजामती विधेयकले राष्ट्रको सेवा गर्ने राष्ट्रसेवकहरुको मनोवल खस्काएको बुँदाहरु रहेको भन्दै त्यसको विरुद्धमा उनीहरु आन्दोलित भएका छन् । महोत्तरीको बर्दिबासस्थित सरकारी कार्यालय कर्मचारीहरुले विधेयक सच्चाउन माग गर्दै इलाका प्रशासन कार्यालय बर्दिबास प्रमुख सन्देश मास्के मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।
सरुवा प्रणली स्वाचालित, चक्रिय र पूर्वानुमान योग्न हुनुपर्ने तथा निजामती कर्मचारीले खाइपाइ आएको सेवा सुविधालाई सुनिश्चित गर्नुपर्ने उनीहरुले माग अघि सारेका छन् । संघ, प्रदेश र स्थानीय तहका हाल कायम रहेको श्रेणीगत र तहगत प्रणालीमा एकरुपता ल्याउन आवश्यक व्यवस्था गरिनु पर्ने लगायत ८ बुँदे माग राख्दै कर्मचारीहरु सरकारलाई ज्ञापनपत्र बुझाएका हुन् ।
निजामती कर्मचारी युनियन संघ, निजामती कर्मचारी संगठन, राष्ट्रिय कर्मचारी निजामती संगठन र मधेसी निजामती कर्मचारी मञ्च महोत्तरीले संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका छन् । उठाएको माग सम्बोधन नभए सशक्त आन्दोलनमा उत्रिने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।