आत्महत्याको समाजशास्त्र
हरेक दिन आत्महत्याका समाचार बाक्लै रूपमा सार्वजनिक हुन्छन् वा भनौँ आत्महत्याका यस्ता समाचारहरूप्रति ध्यान आकृष्ट हुन थालेको छ । यतिबेला आत्महत्याको ग्राफमा अभूतपूर्व विस्तार भएको देखिन्छ । भारतीय अभिनेता सुशान्तसिंह राजपुतको आत्महत्यापश्चात् आत्महत्याको बहसले सामाजिक सञ्जालमा बाक्लो उपस्थिति जनायो । यहीबेला ‘मानिसको शरीरका हरेक अंगलाई मस्तिष्कले सञ्चालन गर्छ तर मस्तिष्कको सञ्चालन अझै रहस्यमय छ’ भन्ने एक न्युरो सर्जनको अभिव्यक्तिले सामाजिक सञ्जालमा राम्रै स्पेस पायोे । सधैँ काम गरिरहेको कार्यालयमै आफैँलाई आगो लगाई गरेको आत्महत्याको प्रयास होस् वा गरिरहेको काम अचानक छोडेर गरेको आत्महत्या होस् । यिनलाई समाचार मात्रै मान्न कठिन छ ।
आत्महत्यालाई मानिसको निजी स्वभाव र उसको मस्तिष्कको एक विशिष्ट अवस्थाबाट सिर्जित कार्यका रूपमा बुझ्ने गरिन्छ । आजसम्म पनि कतिपयले आत्महत्यालाई मानिसको मस्तिष्कको एक अवस्थाका रूपमा व्याख्या गर्ने गरिएको छ । ‘मानिसका सामाजिक अवस्थालाई अझै पनि समाजविज्ञानका हाँगाले उचित व्याख्या गर्न सकेका छैनन्।
मानिस किन एउटा निश्चित रूपमा जन्मन्छ ? किन कोही गहिरो पीडा वा बिमारीमा बाँच्छ ? कोही मानिस वा घटना जुन अवस्थामा देखिन्छ, ठीक त्यस्तै किन छ ? समाजविज्ञानमा विकसित अनेकौँ वादहरूका बाबजुद यस्ता कैयौँ अनुत्तरित प्रश्नहरूले अझै हाम्रो ज्ञानलाई चुनौती दिइरहेका छन् । अँध्यारा औँसीका रातहरूमा संवेदनशील मानिसले बढी आत्महत्या गर्छन् भन्ने मान्यता रहेको छ । यसको सम्बन्ध पनि मानिसका दुःखसँग हुनुपर्छ । यिनै दुःखको हाँगा समातेका कारण समाजमा व्याप्त रोग, भोक, शोक, दमन, मृत्युका बाबजुद धर्मको अस्तित्व कायम छ’ भन्ने तर्क गर्छन् विद्वान् बेनेडिक्ट एन्डरसन ‘इम्याजिन्ड कम्युनिटी’मा । सन् १८९७ मा फ्रान्सेली दार्शनिक (समाजशास्त्री) इमाइल दुर्खाइमले आत्महत्या व्यक्तिको मानसिक वा हर्मोनिक कारणको उपज नभई उसका सामाजिक सम्बन्धहरूको उपज भएको निष्कर्ष निकालेका छन्, आफ्नो किताब ‘ले सुइसाइडे (सुसाइड)’मा ।
समाजशास्त्रीय अध्ययनको एक मानक किताबका रूपमा विश्वविख्यात सुसाइड लेखिएपछिको १२३ वर्षमा समाज र समाजविज्ञानमा उथलपुथलकारी परिवर्तन भएको छ । तर, आत्महत्याको बहसमा उक्त किताबको सन्दर्भ अझै उस्तै छ । किताबमा दुर्खाइमले चार प्रकारका आत्महत्याको व्याख्या गरेका छन् । पहिलो समाजमा एकीकृत हुन नसकेका मानिसको आत्महत्या, दोस्रो समाजका लागि मर्ने–मार्ने अवस्थाको आत्महत्या (समाज, देश र विचारका लागि लड्ने र मर्ने सम्भावना जसलाई आत्महत्याभन्दा बढी क्रान्ति वा राष्ट्रवादी आन्दोलन भन्न सकिन्छ), तेस्रो समाजमा आफ्नो स्थानलाई नै धराशयी पार्ने सामाजिक आर्थिक उतारचढावको अवस्थामा मानिसले गर्ने आत्महत्या र चौथो भाग्यवादी आत्महत्या । समाजमा आत्महत्याका घटनाहरूलाई विश्लेषण गर्दा पहिलो र तेस्रो कारण अधिक देखिन्छ । दुर्खाइमका अनुसार समाजमा एकीकृत हुन नसकेका अविवाहित पुरुषले अधिक आत्महत्या गर्छन् ।
भनिन्छ, ‘मानिस बलेको आगो ताप्छन् ।’ यसरी बलेको आगो ताप्नेहरू टाढाका मान्छे मात्रै हुँदैनन्, आफ्नै घरपरिवारका सदस्य, बाआमा, छोराछोरी र जीवनसाथी पनि हुन्छन् ।
त्यस्तै समाजशास्त्री टिम क्युरीलगायतले ‘सोसियलोजी फर द ट्वेन्टी फस्ट सेन्चुरी’मा संसारभरिमा एक महिलाले आत्महत्याको प्रयास गर्दा तीन पुरुषले आत्महत्याको प्रयास गर्छन् भन्ने निष्कर्ष अघि सार्छन् । त्यसरी आत्महत्या गर्नुमा समाजले निर्धारण गरेका लैंगिक भूमिका जस्तै ः पुरुषहरू रिसाहा, दमनकारी, बलियो हुनुपर्ने, भावुक हुन नहुने, आर्थिक रूपमा बलियो हुनुपर्ने आदि हुन् भन्ने उनीहरूको तर्क छ । उल्लिखित अध्ययनका निष्कर्षलाई नेपाल प्रहरीको तथ्यांकले पनि प्रमाणित गर्छ, जसमा २०७६ चैत ११ देखि २०७७ जेठ ३१ को अवधिमा ७१० जना पुरुष र ५०४ जना महिलाले आत्महत्या गरेको देखिन्छ । जसमध्ये कतिपय महिलाका आत्महत्यालाई घरेलु हिंसाको उपज भएको अधिकारकर्मीले भन्दै आएका छन् ।
प्रस्तुत आलेख तयार पार्दा १५ वर्षदेखि मनोविमर्शको काम गरिरहनुभएकी साथी बेबी शाहसँग महिला किन कम आत्महत्या गर्छन् भन्ने जिज्ञासा राखेकी थिएँ । उहाँका तर्क उल्लिखित अध्ययनका निष्कर्षसँग मेल खाने खालका थिए । छोराछोरीको भविष्यको चिन्ताका कारण आत्महत्या गर्न नसकेका उहाँका क्लाइन्टको अनुभव सुन्दै गर्दा म त्यस्ता केही व्यक्ति सम्झन्छु, जसले छोराछोरी र वृद्ध बुवाआमाको चिन्ताका कारण आत्महत्या गर्नबाट आपूmलाई बचाएका थिए । कहिलेकाहीँ सोच्छु, आत्महत्या गर्नका लागि मानिसले शून्यताको अनुभव गर्न जरुरी हुन्छ । सारा कुराबाट जब मोहभंग हुन्छ वा सबैतिरबाट परित्यक्त हुन्छ सायद त्यतिबेला मानिसले शून्य अनुभव गर्छ ।
‘घरपरिवार, साथीभाइ, समाजसँग एकीकृत हुन नसकेर वा परिवार, साथीहरूबाट अस्वीकृत भएको अवस्थामा सायद मानिसले शून्यताको अनुभव गर्छ जुन कार्ल माक्र्सको अलाइनेसन, म्याक्स वेबरको प्रोटेस्टेन इथिक्सका कारण पुँजीवादको विकास र दुर्खाइमको एकीकृत हुन नसक्ने कुराको सार एकै त रहेछ’ भन्ने भाव मनमा आउँछ ।
सुशान्तसिंह राजपुतको आत्महत्यापश्चात् अभिनेत्री कंगना रणावतले भारतीय फिल्म उद्योगले कसरी बाहिरबाट गएर संघर्ष गरिरहेका मानिसलाई परचक्रीजस्तो हेयको दृष्टिले हेर्ने र सञ्चार माध्यमले हीन भावना निर्माण गर्न कसरी सघाउँछन् भनेर उठाएको सवालले धेरै हदसम्म आत्महत्याका लागि जिम्मेवार समाजको पक्षलाई उजागर गर्छ ।
मानसिक रोगका विभिन्न प्रकारका उपचार हुन्छन् । तर, उपचारबाहेक पनि घरपरिवार र समाजले उनीहरूलाई उचित उपचार गराउन सक्छन् । आत्महत्या गर्ने सबै व्यक्ति मानसिक बिरामी नै हुनु जरुरी पनि हुँदैन र मानसिक रोगी हुँदैमा मानिसले आत्महत्या गरिहाल्दैन । ‘डिप्रेसनबाट गुज्रिरहेका २० प्रतिशत बिरामीले मात्रै आत्महत्या गर्ने’ तर्क मनोचिकित्सक डा. विश्वबन्धु शर्माले आफ्नो किताब ‘मान्छेको मन’मा उल्लेख गरेका छन् ।
‘समाजले मानिसलाई स्वीकार्नु पर्छ’ भनेर नै कतिपय मानिसले सामाजिक सञ्जालमा, ‘कसैलाई मनमा पीडा भए म सुन्न तयार छु, मेरो फोन जतिबेलै अन हुनेछ’ भन्ने कुरा पोस्ट गरिरहेका छन् । यस्ता पोस्ट हेरिरहँदा म आफ्नो मनभित्रको छटपटी सुनाउन सकिने साथीबारे सोच्छु । सोच्दा हातका औँलामा गन्न पनि नपुग्ने साथी भेट्छु । भएकामध्ये महिलासँग मात्रै पीडा बाँड्ने अनुमति समाजले दिन्छ । गुरु, साथी र सहकर्मी पुरुषलाई मैले मनको छटपटी सुनाउन मिल्छ कि मिल्दैन भन्ने प्रश्न सधैँझैँ अनुत्तरित छ । आत्महत्याका समाचार पढेपछि आफ्ना नजिकका साथीलाई के कसो छ भनेर सोधिरहन्छु । तर, तिनै साथीहरूसँग पनि भन्न नसकेका कति कुरा मनको कुनामै छन् । बा, आमा वा आफन्तले खबर सोध्दा ‘सबै ठीक छ’ भनिदिन्छु ।
मलाई लाग्छ यस्तो धेरैले गर्छन् । ठीक नभएर बोल्नै नसकेका दिनमा पनि बरु फोन उठाउँदैनौँ, तर ठीक भएको बहाना बनाएर टारिदिन्छौँ । आफ्नो तहबाट उठेर सोच्छु । महिला वा मानव अधिकारकर्मीसँग काम गर्दा म ती दिदीहरूका अनुभव सुन्थेँ जो अरूको अधिकारबारे बोल्दाबोल्दै बोल्नै नसक्ने अवस्थामा पुगेका थिए । कतिले गरिरहेको जागिर छोडेका थिए । पीडितका दुःख सुन्दासुन्दा आफैँलाई पनि दिक्दारी लाग्दै जाने हुँदा, मनोविमर्शकर्तालाई पनि बेलाबेलामा परामर्श आवश्यक मानिन्छ ।
पीडितका कुरा सुनिदिएर उनीहरूको दुःख घट्ने त होइन बरु उल्टै सुनिदिने मानिसमै डिप्रेसन हुने सम्भावना हुन्छ । हामी कथा, उपन्यास वा किताबका पात्रका दुःखबाट स्तब्ध हुन्छौँ । अक्सर अर्को व्यक्तिको दुःखबाट स्तब्ध हुन्छौँ । कसैका दुःखबाट स्तब्ध भइदिनाले मात्रै समस्याको समाधान हुँदैन । मानिसका दुःख नै मानिसलाई आत्महत्याको डिलसम्म पु¥याउने जब्बर शत्रु हुन्छन् । जति दुःख बाँडौँ भने पनि मानिसले अरूको दुःख बाँडेर लिन सक्दैन । जबसम्म आर्थिक–सामाजिक समस्या समाधान हुँदैनन् । समाजको पिँधमा रहेका वर्गका मानिसबारे बोल्नका लागि ठूलो जोखिम मोल्नुपर्छ भन्ने भाष्य स्थापित छ, नेपालमा । शोषणका आधारमा खाइपाई आएको ‘प्रिभिलेज’को अन्त्य हुने डरका कारण यस्ता भाष्य निर्माताहरू सीमान्तीकृतबारे बोल्नेहरूलाई ‘डलरवादी’ भन्ने लान्छना लगाउँछन् ।
मानिस किन गर्छ त आत्महत्या ? सामाजिक सम्बन्धका आलोकमा उसले आफू मर्नु र बाँच्नुको अर्थ देख्दैन । आफ्नो मृत्यमा रुने मान्छे देख्दैन । कतिपय अवस्थामा मानिसका उच्च महत्वाकांक्षा र ठूला सपनाले पनि मानिसलाई आफैँबाट पर धकेलिरहेका हुन्छन् । ती झुटा सपनालाई ‘हिरोइजम’ भन्न सकिन्छ । रातारात सफल हुनैपर्ने, अरूभन्दा फरक देखिनैपर्ने, महान् बन्नैपर्नेजस्ता बोझिला सपनाका भारी बोकाउन समाजमा विभिन्न भाष्य चल्तीमा रहेका छन् ।
नर्सरीको कक्षामा ‘पढ्नलाई अल्छी गरे साहूले भारी बोकाउला भन्नु, परीक्षालाई फलामे ढोका देखाउनु, चन्द्रमा छुने उद्देश्य बोक्नुपर्छ’ भन्नु यस्तै बोझिला सपनाका भाष्य हुन् । जीवनमा सयौँ फलामे ढोका उघारेर हिँडेका मानिस पनि तीन घण्टाको परीक्षालाई फलामे ढोका भनिदिन्छन् । थोरै मानिसले मात्रै शौक्षिक योग्यता रोजगारी पाउनका लागि आवश्यक धेरै योग्यतामध्ये एउटा हो भनेर स्वीकार्छन् । निश्चित विषय वा पेसालाई समाजले दिएको अति महत्वको बोझले थिचिएर जीवन निरन्तर प्रक्रिया हो भनेर स्वीकार गर्न डराउँछ मानिस ।
हिरोइजमकै कारण समाजमा मानिसले आफूलाई अरूभन्दा फरक देखाउन धेरै मिहिनेत गरिरहेको हुन्छ । जस्तो कि मानिसहरू दिनको १८ घण्टा निरन्तर काम गरेको वा दुई घण्टा मात्रै सुतेर काम गरेको वा एक वर्षको पाठ्यक्रम एक हप्ता वा दुई रात पढेर पहिलो श्रेणीमा पास गरेको दाबी गर्छन् । यस्ता दाबी केही हदसम्म सत्य भए पनि र यस्ता मानिसले जीवनको एउटा पाटोमा सफलता प्राप्त गरे पनि सामाजिक सम्बन्ध वा स्वास्थ्यमा नकारात्मक प्रभाव परिरहेको हुन्छ । यही पृष्ठभूमिमा आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आरामको अवधारणा आएको हो ।
परिवार, साथीभाइ र समाजको सामीप्य वा आत्मीयता सबैले पाएका हुँदैनन् । भनिन्छ, ‘मानिस बलेको आगो ताप्छन् ।’ यसरी बलेको आगो ताप्नेहरू टाढाका मान्छे मात्रै हुँदैनन्, आफ्नै घरपरिवारका सदस्य, बाआमा, छोराछोरी र जीवनसाथी पनि हुन्छन् । वर्षौंदेखिकोे प्रेमिल सम्बन्ध विभिन्न बहानामा अन्त्य भएका कथा धेरैको जीवनका हिस्सा हुन् । मानिसको जीवनमा धेरै चोट दिने घटना घटेका हुन्छन् । सानै उमेरमा बाआमा वा नजिकको आफन्त गुमाएको हुनसक्छ । अत्यधिक सम्मान गरेको मानिसले दुव्र्यवहार गरेको हुनसक्छ । शारीरिक अशक्तता हुनसक्छ । चरम गरिबीमा जीवन गुज्रिरहेको हुनसक्छ । आत्मीय साथीबाट धोका पाएको हुनसक्छ ।
कार्यालय वा कार्य क्षेत्रमा विभिन्न प्रकारका शक्ति र स्वार्थको खेलले चोट पारिरहेको हुनसक्छ । सतहबाट यी समस्या कमै देखिन्छन् तर मानिसको अन्तर्मनको तहमा यस्ता कुराले मानिसको जीवनप्रतिको धारणाको निर्माण, पुनर्निर्माण भइरहेको हुन्छ । यस्ता कैयौँ घटना र दुर्घटनाको बीचमा फुलेको हुन्छ मानिसको जीवनरूपी फूल । यो पूmल समाजमा कसैको मुस्कान, कसैको स्पर्श, कसैको घुर्की, कसैको सम्मान र कसैको आडभरोसामा फक्रिरहेको हुन्छ । मानवीय सम्बन्धको सम्मान नगर्ने समाजमा मानव जीवनको सम्मान पनि हुँदैन । यिनै सामाजिक सम्बन्ध र मानवीय गुणको आलोकमा मानिसले आफ्नो जीवनको निरन्तरता वा समाप्तिको निर्णय गर्छ । सायद यतिबेलाको उथलपुथलकारी समयमा मानवीय सम्बन्ध कमजोर हुँदै गएको छ ।
@NaraNepal