आँधीको मनोरम रचना
घिमिरे युवराज लिखित ‘आँधीको मनोरम नृत्य’ कृतिमाथिको नाट्य प्रस्तुति मेरो आँखाअगाडि छ। नेपालमा प्रदर्शन हुने नाटकको पाठ घिस्रिने र दोहोरिइरहने खालको मात्र रहेन अब। नेपाली नाटकमा कथ्यगत विविधता र संरचनागत तीव्रता आएको छ। हामीकहाँ केही प्रतिभाशाली नाटककारले त्यो प्रमाणित गरेका छन्। यो नाटक एउटा उदाहरण हो।
‘आँधीको मनोरम नृत्य’ले पारम्परिक नेपाली नाटक लेखनको परिधिलाई फराकिलो बनाएको छ। नेपाली नाटकको प्रदर्शन सामथ्र्य मात्र उन्नत भएको छैन, पाठ निर्माणमा पनि गम्भीरता आएको छ। लेखनमा निखारपन आइरहेको उदाहरण यस नाटकलाई लिन सकिन्छ ।
घिमिरे युवराजको यस नाटकलाई म फरक र असामान्य मान्दछु। नाटक लेखन निश्चित फ्रेमभित्रको दृश्यविधानको आधारमा गरिन्थ्यो। खासगरी नेपाली नाटकको लेखन संस्कृत, हिन्दी र युरोपेली नाटकहरूको दृश्य विधानबाट प्रभावित हुने गरेका थिए। नेपाली एकखाले नाटकहरूको संरचना पारसी नाटकको हुबहु अनुकरण हो। संस्कृतका नाट्याचार्यहरूले पनि पूर्णांकी र एकांकी नाटकको एउटा निश्चित ढाँचा र व्याकरण निर्माण गरेका थिए। पारसी वा केही पश्चिमेली संरचनाभन्दा फरक शैलीमा लेखिएका नाटकहरूलाई नेपालका विश्वविद्यालयका अध्यापक-प्राध्यापकहरूले विवेचना गर्नै भ्याएका छैनन्।
थोरै सही तर नेपाली र मैथिली भाषामा यहाँ उल्लेख गर्नलायक नाटक लेखिएका छन्। अभि सुवेदी, सरुभक्त, अशेष मल्ल, महेन्द्र मलंगिया, खगेन्द्र लामिछाने, शिव रिजाल, सुलक्षण भारती, आशान्त शर्मा, राज शाह, पर्वत पोर्तेललगायत धेरै लेखकका नयाँ नाटक नेपालको रंगमञ्चमा मञ्चन भइरहेको छ। नेपालमा नयाँ नाट्य प्रस्तुति र नयाँ नाट्य लेखनमा विवेचना र अध्यापनमा नयाँ दृष्टिकोण आउन बाँकी नै छ।
आँधीको मनोरम नृत्य नाटकको दृश्य विभाजन फरक छ। दृश्य एक-दुई-तीन भनेर अंकमा विभाजित छैन। नाटकको पाठ पनि औपन्यासिक ढाँचामा शीर्षकसहित छ। जस्तो कि जादुमयी बस, नो रुल एनिमोर प्लिज, हृदयभरि प्रेम छ, अपेक्षा कोसँग ?, अक्षरहरूले थिचिरहेछ, मौनताको स्वर, असल साथी, र, यो अन्त्य होइन। यसलाई चमत्कार नै मान्नुपर्छ भन्ने हैन तर यसको शीर्षक र उपशीर्षकहरूको कारणले पनि रोमाञ्चकता र उत्सुकता सिर्जना गरेको छ । यसले तत्-तत् दृश्यहरूको सारलाई अभिव्यक्त गरेको छ। अर्थात् पेज बढाउने र अनावश्यक रूपमा अरू नाटकभन्दा भिन्न देखाउने नाटककारको मनसाय देखिँदैन। दृश्यको उपशीर्षक दिनुको तार्किक आधार छ।
संरचना, भाषा, कथ्यको दृष्टिले नेपाली नाट्य साहित्यमा यसको स्थान सुरक्षित रहनेछ।
नाटकको प्रारम्भिक सर्जक र परिकल्पनाकार नाटककार नै हुन्छ। नाटकमा कथा, कथोपकथन र संवादका साथै मञ्चीय अवस्थाको निर्माण महत्वपूर्ण पाटो हो। पछिल्लो क्रममा नेपालमै पनि संसारमा प्रयोगमा आएका विभिन्न नाट्य शिल्प र शैली भित्रिएका छन्। एसिया वा भारतमा पनि नाटकमा पाठको औचित्यमाथि प्रश्न उभ्याइएको छ।
पाठमाथि प्रश्न उभ्याउनुको अर्थ हो, नाटक लेखनमाथि प्रश्न उभ्याउनु। पश्चिमबाट आएका कतिपय नाट्यशैलीले प्रदर्शनका लागि लिखित नाटकको अनिवार्यतालाई खारेज गर्छ। यस्तोमा नाट्य पाठले आफ्नो साहित्यिक मूल्यलाई कायम कसरी राख्ने भन्ने चुनौती छ। यो नेपाली भाषाको मात्रै समस्या होइन, धेरैजसो भाषाका लेखकहरू नाटक लेखनलाई प्राथमिकतामा राख्दैनन्। झन् स्थापित र बजारमा बिक्ने लेखकका लागि त नाटक लेखन घाटाको कर्म नै हो। यस्तोमा नाटक लेखनको विकास थोरै नाटकमै मोह भएकाहरूमा निर्भर छ। यस्तो बजारी संस्कारले नाटक लेखन कालजयी वा गम्भीर कर्म हुनबाट ओझेल परेर रंगमञ्चमा साहित्य घिसिपिटी तथा कामचलाउ बन्न जाने डर छ।
कहिलेकाहीँ नाटक पठन साहित्यभन्दा मञ्चन मात्रै हो कि भन्ने धारणाले पनि जितेको पाइन्छ। तर नाटकको पाठ रंगमञ्चका लागि प्राविधिक कुरा मात्रै वा साधन मात्रै हैन। नाट्य कृति आफैँमा अरू विधाजस्तै बेजोड पठन साहित्य हो। यसमा लालित्य, शिल्प, उत्सुकता, रोचकता र काव्यिक होस्। जस्तो कि अहिले हामी ‘आँधीको मनोरम नृत्य’ नाट्य पाठको सन्दर्भमा छौँ। यस नाटक पढ्दा दृश्यारम्भमै पाठक उत्सुक हुन बाध्य हुन्छन्। यस नाटकको दृश्य विवरण नै रोचक छ। नाटकलाई कविताको उत्कर्ष मानिन्छ। यो नाटक पढ्दा पाठकले आख्यानको स्वाद पनि पाउन सक्छन्। मञ्चन अर्को चरण भयो।
यस बहसकै बीचमा घिमिरे युवराजको यस नाटकको पाठ यसरी बनेको छ, नाटक प्रर्दशनका लागि निर्देशकले आफ्नो नयाँ परिभाषा खोज्न सक्छ। नाटकमा अनावश्यक अर्मूतताको जञ्जालमा फसिराख्नु पर्दैन। यस नाटकको भाषाको चर्चा पनि गर्नै पर्छ। नाटकको शैली, पात्रको अवस्था, पात्रको पृष्ठभूमि, घटना र परिवेशले नाटकको भाषा निर्माण गर्छ। भाषाले नाटकको निर्माण गर्दैन। यस नाटकमा छात्र-छात्राको भाषामा धेरै विविधता छ। बसमा, कक्षा कोठामा, शिक्षक हुँदाको अवस्थामा, शिक्षक नहुँदाको अवस्थामा वा उसको फरक परिवेशमा। कर्मचारी कार्यालयमा हुँदा वा तिनै पात्र अल्कोहल पार्टीमा भएको बेला भाषिक भिन्नता फरक हुन्छ। त्यस क्रममा अति नाटकीयताको अवस्था पनि निर्माण हुन्छ। यसलाई नाटककारको शिल्प नै मान्नुपर्ने हुन्छ।
नाटकलाई अझै फराकिलो दृष्टिकोणबाट हेरौँ। नाटक वा रंगकर्म धार्मिक अनुष्ठानबाहेक फगत मनोरञ्जनका लागि मात्र होइन। समाज र व्यक्तिको जीवनमा उत्पन्न भइरहेको विकृतिलाई संयमित गर्न, त्यसलाई उचित दिशामा लैजान महत्वपूर्ण साधन मानिएको हो। नाटकले मनुष्यको आवेग-आकांक्षा, क्षमता र दुर्बलतालाई पनि प्रतिविम्बित गर्छ। तत्कालीन अवस्थाको सामाजिक, राजनीतिक, आर्थिक र सांस्कृतिक जीवनको सूक्ष्म र बहुमुखी छायालाई सौन्दर्य चेतका साथ ल्याउने गर्दछ।
नाटक ‘आँधीको मनोरम नृत्य’ले यो दायित्व निर्वाह गरेको छ। सामाजिक विकृतिका रूपमा फैलिँदै गएको बजारवाद र उपभोक्तावादले परिवार, विद्यालय र समाजलाई कसरी प्रभाव पारिरहेको छ ? यसै कारणले निम्त्याएको पुस्तान्तरणले भयानक दुर्घटना वा पारिवारिक विघटनसम्म हामी पुगेका छौँ। बजारले नयाँ पुस्तालाई एकातिर डोर्याउने, अभिभावक र विद्यालयको अपेक्षा अर्को हुने। मूलतः किशोरावस्था र त्यसबाट गुज्रिँदाको मनोविज्ञानको चित्रण हो, यो नाटक। बाल, किशोर र युवावस्थाको मानसिक, शारीरिक परिवर्तन र त्यसबाट उन्पन्न अन्य अवरोधलाई नाटकले समेटेको छ।
नाटकले बाल कक्षाका छात्र-छात्राको अवस्थादेखि शिक्षकको आचरणसम्मलाई पनि चित्रण गरको छ। विद्यालयको गैरजिम्मेवारी पहिलो दृश्यबाटै देखिन थाल्छ। बाह्य चमक र आवरणभित्र नांगो व्यापारिक अभिप्राय देखिन्छ। विद्यालयले विद्यार्थीमाथि आफ्नो हिसाबले नैतिकता र अनुशासनको परिभाषा बनाएको छ। जहाँ विद्यार्थीको विचार र स्वभावको सम्मान छैन। पाठमा आधारित विषयवस्तु घोकाएर परीक्षामा शिक्षकले अपेक्षा गरेको उत्तर देखिदिनु विद्यार्थीको सबैभन्दा ठूलो उत्तरदायित्व बनाइएको छ ! विद्यार्थीको आफ्नो मनको संवेग, निश्चित विषय वा खेलप्रतिको रुचि, आफ्नो शरीरमाथिको उत्सुकता, यौनिक परिवर्तन दबाउनु विद्यालयले ठूलो सफलता ठान्छ। विद्यार्थीभित्र आँधी यहीँबाट सुरु हुन्छ।
जीवन भनेको रुटिन होइन। जीवन भनेको विविध रंग हो। अनुभूति हो। तर बच्चाहरूको जीवनमा आँखाले हेर्ने, कानले सुन्ने, शरीरले क्रिया गर्ने कुरामा एउटा निश्चित अनुशासन लादिएको छ। उनीहरूको स्वभावको अर्थ उत्ताउलिएको, छाडा भएको, अचेलका केटीहरूको चाला हेर, कपाल हेर, हाउभाउ हेर, बोल्ने ढंग हेर, केटीहरू अनुशासनमा बस्नुपर्छ, लभ गर्दै हिँड्ने जस्ता कुराले आरोपित छ। स्कुलबाट हतास निराश र तनावमा फर्किंदा बच्चाहरूलाई यस्ता आरोपले पीडा दिन्छ। तर ती पीडा कसलाई पोख्ने ? के घरमा कोही सुनिदिने छ ?
यो नाटकमा विद्यार्थीहरू घरबाट स्कुल बस, बस यात्रा, स्कुल, क्लास रुम र फेरि घरसम्मको यात्रा हो।
विद्यार्थीसहितको बसलाई सडक जाममा पारिएर एउटा विमर्श उभ्याइएको छ नाटकमा। राजनीतिक विसंगतिले निम्त्याएको अनेक घटनाको प्रतिक्रिया सडकमा पोखिन्छ नाराजुलुस, जाम, हल्ला, प्रदूषण र त्यसको साक्षी तिनै स्कुल बसभित्रका विद्यार्थी हुन्। विद्यार्थीको ज्ञानको स्रोत के स्कुल मात्रै हो ? समाजले उनीहरूलाई के सिकाइरहेको छ ? स्कुल बसबाट देखेका अरू गाडीमा लेखिएका अश्लील र विभेदकारी स्लोगनहरूले उनीहरूलाई के सिकाउँछ ?
यस नाटकले यस्ता बहस र विमर्शका अनेकौँ कोण निर्माण गरेको छ। यो नाटकले सम्पूर्ण रङ अर्थात् टोटल थिएटरको शैलीलाई आत्मसात् गरेको छ। नवीनता, फरासिलो र कल्पनाशील नाट्यरूपका कारण नाटककार र निर्देशक जटिल मानवीय अनुभवहरूलाई अनेकौँ स्तरमा सम्प्रेषित गर्न सक्षम देखिन्छन्। यसमा कविताका साथै गीत, संगीत, नृत्य र शरीर भाषाको उच्चतम प्रयोग गर्ने आधार पाठले तयार पारेको छ।
‘आँधीको मनोरम नृत्य’को मनोरम पक्ष डरलाग्दो अवस्थामा छ। आँधी आफैँमा सिर्जना होइन, विध्वंसको कारक हो। अहिलेका संरचनाले विध्वंसकै उत्पादन गरिरहेको छ। नाटकले आम व्यक्तिको हितको चिन्ता गरेको छ। आमसमस्यालाई सिर्जनात्मक अभिव्यक्ति दिइएको छ। नाट्य प्रर्दशनका लागि उच्च र आधुनिक चेतसहित नाटक तयार पारिएको छ। संरचनागत सुगठन, भाषा, कथ्यको दृष्टिले नेपाली नाट्य साहित्यमा यस नाटकको अत्यन्त पृथक् स्थान रहनेछ।
कमेडिया डेलार्तेका विद्यार्थी घिमिरे युवराजको यो रचना नाट्य साहित्यको दृष्टिकोणले अत्यन्त महत्वपूर्ण पाठका रूपमा आएको छ। कुनै कालखण्डमा नाटकभन्दा पनि नाट््य आलेखको आधारमा नाट्य प्रदर्शन गर्ने परम्पराको परिकल्पक देलार्तेलाई मानिन्छ। हुन त अहिले पश्चिममै पनि पूर्वलिखित नाटक वा इम्प्रोभाइजेसनमा आधार भएर गरिने नाटक बराबरजस्तै छ। पश्चिमी नाट्य शिल्पबाट प्रभावित नहुने भनेको हैन। र पश्चिमी नाट्यशैली र शिल्पलाई लिएर हामीले आफ्नो रंगमञ्च कसरी सम्पन्न बनाउने भन्ने चुनौती चाहिँ अहिलेको हो। यति खेर देशबाहिरबाट सिक्ने क्रममा हाम्रो आन्तरिक भाषिक र सांस्कृतिक अस्वीकार्यता थोरै भए पनि भत्किएको छ।
नाटकको शिल्प र कथ्यमा पनि तात्कालिकताको प्रभाव पश्चिमी रंगचेतले दिएको छ। नाटक पौराणिक प्रसंग र महापुरुषहरूको जीवन वा चमत्कारको कथा मात्र रहेन। जनसाधारणको सुखदुःख, आशा-आकांक्षा र सुमार्गका लागि संघर्ष गर्ने माध्यमका रूपमा देखा परेको छ। नाटक विगतकोे पुनर्संरचना मात्र होइन, तात्कालिक ऊहापोहलाई पनि यसले प्रतिविम्बन गर्छ। पश्चिमको नाटक र रंगकलासँगको सम्पर्कले हाम्रो रंगकार्यलाई एउटा नयाँ स्वरूपको सामाजिक दायित्व र कलाबोधसहित उन्नत बनाएको छ। घिमिरे युवराजको यो नाटकमा हाम्रो समाजको विषय र सुगन्धसहित पश्चिमका नाट्य सम्बन्धको अनुभवजन्य विशेषता देखिन्छ।
नेपाली भाषाका नाटकको सन्दर्भमा नाट्य कृति पढेपछि एउटा उच्चतम साहित्य कृतिजस्तै सन्तुष्टि दिने अनुभव मसँग एकदम थोरै छ। धेरैजना उच्चस्तरका नाट्य प्रस्तुति दिइसकेका नेपाली रंग निर्देशकहरूको अनुभव पनि मभन्दा भिन्न छैन। विदेशी नाटक गर्नुपर्ने कारणबारे स्पष्टीकरण दिनुपर्दा यस्ता अभिव्यक्ति दिने गरिएको छ। यो फरक बहस हो। नेपालीमा नाट्य आलेख केन्द्रित, काव्य, मुक्तक, कथा आदि अन्य विधाका रचनालाई आधार बनाएर नाटकको विकल्प अरू विधा हुन् भनी सोच्नु श्रेयस्कर होइन। यस्ता रचनामा आधारित नाट्यकृति स्वतन्त्र र सिर्जनात्मक कृति बन्न सक्दैन। रंगमञ्चलाई पनि उँभो लगाउन सक्दैन। अर्थात् स्वतन्त्र र पूर्वरचित नेपाली नाटकबाट नै नेपाली रंगमञ्च सार्थक र सिर्जनात्मक लक्ष्यतिर अगाडि बढ्न सक्छ।
किशोरावस्था आफैँमा आँधी हो। शारीरिक, मानसिक परिवर्तनले उद्विग्नता मच्चाउँछ। आँधीजस्तै असीमित गतिमा विचारको ओहोरदोहोर भइरहेको हुन्छ। अशान्त र अनियन्त्रित हुनु त्यति बेलाको प्राकृतिक स्वभाव हो। त्यति बेला ओत दिन सक्नुपर्छ, आँधीले विनाश मच्चाउन नसकोस् भनेर बार लगाउनुपर्छ।