पुरुष
आरोहीका पाइला नपरेको हिमालजस्तै
जो पग्लन्छ केवल प्रेमको मीठो स्पर्शले
निर्धक्क हाँसो, सधैं फुक्काफाल
मेघझैं गर्जन, बादलझैं केश
हेरिरहूँ लाग्छ, हरपल हर निमेष
मादकताको जलप लगाएको तीरजस्तै
कामातुर नयनहरू
हर पल आवेग र आक्रोश मात्र ओकल्दैनन्
आग्रह र अनुनयमा पनि पग्लन्छन्
बरु हुन्छन् नित्य नवीनको खोजीमा
न उनीहरू हेरेर थाक्छन्
न त हेरिनेहरू नै अघाउँछन्
खप्तडको निर्जन पठारजस्तै
चित्ताकर्षक छाती
भव्य, दिव्य र पवित्र
लाग्छ, त्यो छाती मात्र हैन,
हृदयको विशाल छानो पनि हो
मनको कोमल स्थल मात्र हैन,
कामदेव र रतिको क्रीडास्थल पनि हो
जहाँ निरन्तर उत्तालिन्छन् समुद्रजस्ता भावनाहरू
अनि हर्दम लहलहाउँछन् प्रेमका आँकुराहरू
कसले भन्छ काला सबै कुरूप हुन्छन् ?
न त साना नै सधैं महत्वहीन
कति सुन्दर देखिन्छन् ती स्तन
जो न कहिल्यै बढ्छन्,
न कहिल्यै बग्छन्
केवल निर्धक्क पल्टिरहन्छन्
मानौं, ती कुनै स्नायुतन्त्र होइनन्
बरु पुरुषको मस्तिष्क र हृदयबीच
मिल्न नसकेका
तमाम तानाबानाहरूका कठोर गुत्थीहरू हुन्
जति छोयो उति छोऊँ छोऊँ लाग्ने
जति सम्झ्यो उति कुत्कुती जाग्ने
चाहे भर्खरै भेटिएको किन नहोस्
वर्षौंदेखि छोइरहेझैं आत्मीय लाग्ने
विजेताको आत्मबलजस्तै
बलिष्ठ उसका पाखुराहरू
जो प्रतिकार र पराक्रमका मात्र हैनन्,
सुखद स्पर्शका पर्याय पनि हुन्
आगोको कुमारी लप्काजस्तै
उसको अंकमाल
कसिलो,
कामुक
र,कल्पनातीत
जहिल्यै त्यसैमा लपेटियूँ लाग्ने
सम्झँदा मात्र पनि कस्तो कस्तो
असहज नै सहज भइदिएजस्तो
वर्षौंदेखिका सबै दु :खहरू
एकैपटकमा बिसाइदिएजस्तो
कस्तूरीको नाभिस्थलजस्तै
सुगन्धित छ पुरुष गन्ध
नभए किन झुम्मिन्थे नवयौवनाहरू
बत्तीमा पुतली झुम्मेजस्तै
सबै ऋतुहरूको एउटै बगैँचामा
कौमार्यको पहिलो बिस्कुन फुकाएजस्तै
रातभरि शक्ति सञ्चय गरेको
प्रभाति सूर्यको आभाजस्तै
धपधपाउँदो मुहार
शान्त, सौम्य र सुकुमार
सौन्दर्यको खानी पुरुष
आफैँमा छ अपार
आधा आकाशको मात्रै के अर्थ भो र
जब पुरुषकै ‘अधीन’मा छ
जिन्दगीको सिंगै संसार
माफ गर सौन्दर्यशास्त्री
नजर नपरेर तिम्रो
किनारामा धकेलिएको
पुरुषको सौन्दर्यलाई
नारी कण्ठको मुरलीमा
म अलमस्त गाउन चाहन्छु !