वडाध्यक्षद्वारा स्थानीयलाई कुटपिट
कालिकोट : जिल्लाको पचालझरना गाउँपालिका–९ का वडाध्यक्ष जोरे तिरुवाले एक स्थानीयलाई कुटपिट गरेका छन्। बालबालिकाले ढुंगा फालेको विषयमा विवाद हुँदा वडाध्यक्ष तिरुवाले छिमेकी नयाँ तिरुवालाई कुटपिट गरेका हुन्।
त्यसै विवादमा घरबाट हसिया ल्याएर वडाध्यक्षले जोरे तिरुवाको टाउकोमा हिर्काएको र उनलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको प्रेमसिंह तिरुवाले बताए। उनले भने, 'बच्चाको सामान्य विवादमा वडाध्यक्ष जोरे तिरुवा र उनका छोरा पूर्ण तिरुवाले नयाँ तिरुवालाई कुटपिट गरे। पहिलेदेखि नै वडाध्यक्षका परिवारले विभिन्न बाहाना बनाएर गाली गर्ने, कुटपिट गर्ने गर्दै आएका थिए। यसपटक हसियाले हानेर गम्भीर घाइते बनाएकाले न्यायको लागि जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छौं।'
यता वडाध्यक्ष जोरे तिरुवाले आफूले नयाँ तिरुवालाई कुटपिट गर्ने हिसावले नहानेको बताए। उनले भने, ‘नयाँ तिरुवा मदीरा सेव गरी आएका थिए। आफ्नो बुहारीले सधैं माथिबाट तल घरमा फोहोर नफाल भन्दा उल्टै गाली गरे। आफूले गाली नगर भन्न गएपछि मलाई हान्न लागेको हसिया खोस्न खोज्दा उसैलाई लागेको हो।’ नयाँ तिरुवाले ल्याएर आएका हसिया खोस्न खोज्दा फुत्केर टाउकोमा लागेको उनको भनाइ छ।