पहिरोको पिरलो

पहिरोको पिरलो

बैतडी : जिल्लाको दोगडाकेदार गाउँपालिका–६ डोलका लोगसिंह भाटको घर पहिरोको जोखिममा छ। गत साल पहिरोले घरको आँगन पुरै बगाएपछि भाट परिवार अहिले कहाँ बस्ने भनेर चिन्तित छन्। भाट जस्तै डोलमा अहिले करिब २५ परिवार पहिरोकै जोखिममा बसेका छन्।

२०१८ सालदेखि आउन थालेको पहिरोले अहिले पनि गाउँलेलाई सुत्न दिएको छैन। ‘बर्षातको समयमा लगातार आइरहने पहिरोले कतिखेर घरखेत बगाउने थाहा नै हुँदैन। हरेक वर्षातमा अनिदो रात काट्नु पर्छ,’ स्थानीय भोजराज जोशीले भने, ‘हाम्रो गाउँका हरेक घर बांगा छन्। भित्रभित्रै जमिन भासिएपछि घर बांगा भएका हुन्। पहिरोको जोखिममै बाध्यता बस्नु परिरहेको छ।’

डोल पहिरोले अहिलेसम्म ९ जनाको ज्यान लिइसकेको छ भने करिब २ सय रोपनी खेतीयोग्य जमिन बगाइसकेको छ। अहिले पनि माथिबाट पहिरो आउने क्रम नरोकिएको स्थानीयबासी कासीराम लुहारले बताए। उनले भने, ‘२०१८ सालमा पहिरो आएको हो। उतिबेलादेखि हामी पहिरोको जोखिममा बसिरहेका छौं। तर हाम्रा लागि न सरकार छ न कोही। मेरो त घर पनि जोखिमपूर्ण अवस्थामा छ। पहिरोले बगाउने अवस्था छ।’

पञ्चायतकालमा डोलबस्तीलाई स्थानान्तरण गर्नुपर्ने भन्दै तत्कालीन राजा वीरेन्द्रले हुकुम प्रवांगी समेत दिएका थिए। तर राजनीतिक खिचातानी भएपछि डोलबासीको अन्यत्र जाने सपना अधुरै रह्यो। आर्थिक अवस्था सबल भएकाहरु सबैले तराईतिर जमिन किनेर उतै गइसकेका छन्। तर गरिब र दलित समुदायका नागरिक भने पहिरोको जोखिममै बस्न बाध्य भएका छन्। पछिल्लो समयमा पहिरोले विकराल रुप लिन थालेको स्थानीबासी मोहन चन्दले बताए। उनले भने, ‘अहिले त पहिरोको जोखिम नभएको कुनै ठाउँ नै छैन्। वर्षातको बेला जाग्राम बसेर रात काट्नुपर्छ।’

डोल पहिरोले प्रत्येक बर्ष खेतीयोग्य जमीन र पानीको मुहान बगाउँदै आएको छ। चाङीलपन्यार खानेपानीको मूहान प्रत्येक वर्ष पहिरोले बगाउँदा वर्षातमा खानेपानीको समस्या हुने गरेको स्थानीय देवदत्त जोशीले बताए। 
‘पहिरोका कारण पुरै गाउँ सेताम्य छ। जमिनको भित्र कमेरोयुक्त माटो भएको हुनाले समान्य वर्षा हुँदा बगेर जाने गरेको छ।’ उनले भने, ‘डोलबासीहरुलाई सधैं जस्तै यो वर्ष पनि पहिरोकै पीर छ।’

लामुनी पहिरोको सास्ती उस्तै 
जिल्लाको पुरचौंडी नगरपालिका–८ को लामुनी पहिरोले पनि प्रत्येक वर्ष स्थानीयको घर खेत बगाउने गरेको छ। पहिरोका कारण गाउँ नै जोखिममा रहेको स्थानीय गणेश साउदले बताए। उनले भने, ‘लामुनी पहिरोले सैयौं हेक्टर खेतीयोग्य जमिन बगाईसकेको छ। कतिपय नागरिक घरबारबिहीन भएका छन्।’

यो वर्ष पनि वर्षात सुरु हुने बित्तिकै पहिरोले कटान गर्न सुरु गरिसकेको छ। प्रत्येक वर्ष बग्ने पहिरो यो वर्ष पनि बग्न थालेको स्थानीय नरेन्द्र साउदले बताए। 

लामुनी पहिरो नियन्त्रणका लागि झण्डै दुई करोड खर्च भइसकेको भएपनि उपलब्धि भने शून्य छ। यता मेलौली नगरपालिकाको ८ र ९ का करिब ६ सय परिवार पनि पहिरोको जोखिममा रहेको स्थानीय सुरेश भट्टले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.