बाँदर धपाउन 'मंकी एयर गन' वितरण
सन्धिखर्क : केहि वर्षदेखि खेतबारीमा लगाएको अन्नबाली बाँदरले सखाप पार्न थालपछि छत्रदेव गाउँपालिकाले 'मंकी एयर गन' वितरण गरेको छ। बाँदरले बाली खाने भएपछि कृषक चिन्तित बनेका थिए।
कृषकहरुको गुनासोलाई मध्यनजर गर्दै गाउँपालिका भित्रका आठ वडामा ५ वटाका दरले बाँदर धपाउने यन्त्र वितरण गरिएको गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले जानकारी दिए।
दैनिक जसो बाँदरले किसानको अन्नबाली खाइदिने र क्षति गरेकाले अन्नबाली संरक्षणको लागि कार्वन राखेर बन्दुक पड्काए जस्तो आवाज आउने र त्यो आवाज सुनेर बाँदर डराएर भाग्ने भएकाले मंकी एयर गन वितरण गरिएको गाउँपालिकाका प्रमु्ख प्रशासकीय अधिकृत खिमानन्द भुसालले बताए।
जिल्लाका विभिन्न गाउँमा बाँदरले अन्नबाली सखाप पार्दै आएको छ। अघिल्ला वर्षमा छत्रदेव गाउँपालिकाले गाउँ-गाउँमा बाँदर हेरालुको समेत व्यवस्था गरेको थियो। मकै बारीमा पसेको बाँदर लखेट्ने क्रममा गत वर्षको साउनमा मालारानी गाउँपालिकामा एक जनाको ज्यान समेत गएको थियो।
प्रतिक्रिया दिनुहोस !
५