क्वारेन्टाइन धान्नै मुस्किल

क्वारेन्टाइन धान्नै मुस्किल

बैतडी/कञ्चनपुर/अछाम : ‘चिसो भुइँमा बसेको एक महिना हुनै लागेको छ। तर, अहिलेसम्म रिपोर्ट आएको छैन। हामीलाई कहिलेसम्म स्कुलको चिसो कोठामा थुनिने हो थाहा छैन।

बैतडी सुर्नया गाउँपालिका–१ हटैराजका वीरबहादुर चन्दको गुनासो हो यो। चन्दलगायत स्थानीय क्वारेन्टाइनमा बसेको १४ दिनपछि आरडीटी गरियो। त्यसको रिपोर्ट पोजिटिभ आएपछि स्वाब संकलन गरियो। स्वाब संकलन गरेको पनि १५ दिन पुग्नै लागेको छ। तर, रिपोर्ट आएको छैन।

सुर्नया गाउँपालिका–२ मा रहेको राष्ट्रिय मावि ग्वानी क्वारेन्टाइनमा १३ जना छन्। तीमध्ये ५ जना क्वारेन्टाइनमा बसेको महिना दिन भएको छ। वर्षात्को समयमा विद्यालयका कोठा चिसो भएर बस्न मुस्किल भएको सुर्नया–१ का कालुराम लुहारले बताए। भने, ‘हाम्रो आरडीटी पोजेटिभ आएको पनि १५ दिन भइसकेको छ। तर छुट्टी पाइएको छैन। चिसोले कम्मर दुखेर हामीलाई क्वारेन्टाइनमा निकै समस्या छ।’

बर्षा हुने बित्तिकै कोठाभित्र पानी पस्ने गरेको छ। सुर्नया गाउँपालिका–३ का कृष्णबहादुर बिष्टले भने, ‘हाम्रो रिपोर्ट समयमा नआउँदा घरपरिवार समेत आत्तिएका छन्। हामीलाई चिसोले कोरोनाभन्दा अन्य बिरामीको डर भएको छ।’

क्वारेन्टाइनमा बसेकाहरूको समयमा रिपोर्ट नआउँदा जनप्रतिनिधिहरू पनि समस्यामा छन्। आरडीटी पोजेटिभ आएकाहरूको स्वाब संकलन गरेर पठाइएकोमा समयमा रिपोर्ट नआउँदा क्वारेन्टाइनमा बसेकाहरूले जनप्रतिनिधिहरूलाई सोधेर हैरान गरेका छन्। तर उनीहरूसंग कुनै जवाफ हुँदैन। सुर्नया गाउँपालिका–२ का वडाध्यक्ष हर्कबहादुर पाण्डेयले भने, ‘हामीलाई समेत मानसिक तनाव भएको छ भने क्वारेन्टाइनमा बसेकाहरुलाई झन कति तनाव भएको होला।’

जिल्लाका अन्य ठाउँका क्वारेन्टाइनमा बसेकाहरूको पनि समयमा रिपोर्ट नआउँदा समस्या भएको छ। आरडीटी पोजेटिभ आएर स्वाब संकलन भएकाको एक महिनासम्म समेत रिपोर्ट नआउँदा उनीहरूलाई घर पठाइएको दोगडाकेदार गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले बताए। उनले भने ‘समयमा रिपोर्ट नआउँदा हामीलाई झन समस्या हुने गरेको छ। पीसीआर पोजेटिभ आएपछि पुनः घर घरबाट खोजेर आइसोलेसनमा राख्नुपर्ने बाध्यता रही आएको छ।’

जिल्लाका १० ओटै स्थानीय तहका क्वारेन्टाइनमा खासगरी भारतबाट फर्केका झण्डै सात सय जना बसेका छन्। आरडीटी पोजेटिभ आएका झण्डै ५ सय नागरिकको पीसीआर रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए।

समुदाय नै जोखिममा

अछाममा एक हजारको संख्यामा क्वारेन्टाइनमा बसेका छन्। स्थानीय तहबाट विद्यालयमा बनाइएका क्वारेन्टाइनमा भारतबाट आएकालाई राखिएको छ। उनीहरूलाई १४ दिन नभए बढीमा २१ दिन क्वारेन्टाइनमा राख्ने गरी स्थानीय तहले व्यवस्था मिलाएका छन्। चैत र बैशाखको महिना खाली रहेका यहाँका क्वारेन्टाइन लकडाउनका कारण भारतमा रोजगार गुमाएकाहरु आउन थालेपछि भरिभराउ भए। स्थानीय तहलाई क्वारेन्टाइन सम्हाल्नै मुस्किल भयो।

पीसीआर रिपोर्ट ढिलो आउन थालेपछि कतिपय क्वारेन्टाइनबाट भाग्न थालेका छन्। यसरी क्वारेन्टाइनमा थेग्न नसकेपछि कतिपय स्थानीय तहले आरडिटी परीक्षण गर्दै घर पठाएका छन्। घर पठाइएका अधिकांशको पीसीआर रिपोर्ट पोजेटिभ आउने गरेको छ। यसले सिंगो समुदाय नै संक्रमणको जोखिममा छ।

शुक्रवार क्वारेन्टाइनबाट भागेका साँफेबगर नगरपालिका–२ का १२ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको छ। उनीहरूलाई पुनः प्रहरीको सहयोगमा जबर्जस्ती क्वारेन्टाइनमा ल्याएर राखिएको वडाध्यक्ष कालु सिंह कुँवरले बताए। उनले भने, ‘क्वारेन्टाइनमा बसेको ४२ दिन पुग्यो, रिपोर्ट कहिले आउने हो अत्तोपत्तो हुदैन, क्वारेन्टाइनमा बसेकाहरूलाई सम्हाल्नै मुस्किल छ। केही बोल्यो भने कुट्न आउँछन्।’

रिपोर्ट नआउँदै घर पठाइएका संक्रमितका आफन्तले शनिबार गाउँपालिका परिसरमा प्रदर्शन गरे। समुदायमा जोखिम बढाएको भन्दै उनीहरूले गाउँपालिका घेराउ गरेर प्रदर्शन गरेका हुन्। स्वास्थ्यमा समस्या आएमा जिल्ला अस्पतालमा ल्याएर उपचार गरिने स्वास्थ कार्यालय अछामका सूचना अधिकारी देव जोशीले बताए।

शनिवार साँझसम्म अछाममा संक्रमितको संख्या ५ सय ५६ पुगेको छ। भने ४८ जना निको भएर घर फकिएका छन्। दुई जना वडाध्यक्ष र एकजना स्वास्थकर्मीमा समेत कोरोना पुष्टि भएको छ। एक जनाको कोरोनाका कारण मुत्यु भइसकेको छ।

यस्तै कञ्चनपुरमा पनि भारतबाट फर्केर क्वारेन्टाइनमा बसेकाहरूलाई घर नजिकैको विद्यालयमा राखिएको छ। उनीहरूलाई आफन्तले घरबाट खाना ल्याएर खुवाउने गरेका छन्। तर खाना खुवाउने क्रममा हुने असावधानीले समुदायमा संक्रमण फैलिन सक्ने जोखिम बढेको छ।

क्वारेन्टाइन व्यवस्थापन निर्देशिकाले क्वारेन्टाइनमा बसेकालाई कसैको सम्पर्कमा आउन नदिने र खानाको व्यवस्थापन पनि भित्रै हुनुपर्ने व्यवस्था गरेको छ। ‘घरबाटै खाना ल्याए पनि त्यही डिस्पोज गर्ने भाँडामा ल्याउनुपर्छ’ कञ्चनपुरका कोभिड–१९ सम्पर्क व्यक्ति सिद्धराज भट्टले भने, ‘तर उनीहरूलाई क्वारेन्टाइनमै खानाको व्यवस्था गर्न कठिन छ।’ कञ्चनपुर भीमदत्त नगरपालिका–१५ का पुरन पार्की घर नजिकैको लक्ष्मी मावि खैरभट्टीमा क्वारेन्टाइनमा बसेका छन्। सात महिना अघि मात्रै रोजगारीको लागि र भारतको गुँडगाँव गएका उनी एक साता अघि मात्रै स्वदेश फर्किएका हुन्। उनको बिहानको नास्तादेखि साँझको खाना पानी घरबाटै आउने गरेको छ।

क्वारेन्टाइनमै खानाको व्यवस्था नहुँदा घरबाट खाना पुगाउ आउने मान्छे समेत जोखिममा रहेको पार्कीले बताए। ‘क्वारेन्टाइनमा १७ जना बसेका छौं। सबैको घरबाट खाना लिएर आउछन्,’ उनले भने, ‘टाढाबाट खाना दिएपनि सबैले सावधानी अपनाएको हुदैन।’ उनले आफ्नो आफन्त भेटघाटका लागि आउँदा दुरी कायम गरेर बसेपनि सबैले त्यस्तो नगरेको बताए।

भीमदत्त नगरपालिका–१५ का वडाध्यक्षले भने डोरी लगाएर आवतजावत बन्द गरेको बताए। ‘खाना दिन आउनेहरूलाई पनि हामीले सम्झाएका छौ जथाभावी जान नदिन डोरी लगाएका छौ, त्यो घेराभित्र कोही जाँदैन।’ उनले भने। कञ्चनपुरका १ सय ८६ क्वारेन्टाइनमा ५ हजार बढी ब्यक्ति बसेका छन् भने ८ हजार बढी घर फर्किसकेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.