प्रादेशिक संग्रहालय बन्दै पाल्पा दरबार

प्रादेशिक संग्रहालय बन्दै पाल्पा दरबार

पाल्पा : संग्रहालय भन्नासाथ तपाईं के सोच्नुहुन्छ ? पक्कै पनि पुराना साम्रगीहरू कलात्मक तरिकाले सजाइएको, विभिन्न जातजाति र धर्मावलम्बीको इतिहास देखाउने चिजवस्तु। पुराना ऐतिहासिक गौरवका सामान, कला साहित्य र संस्कृतिलाई बुझाउने केही फरक सामान हेर्न पाइन्छ भन्ने आशा गर्नुहुन्छ। तर पाल्पा दरबार संग्रहालय सर्वसाधारणका लागि खुला भएको दुई वर्ष पुगिसक्दा पनि पूर्ण आकारमा आउन सकेको छैन।

तीन तलाको यो दरबार संग्रहालयका रूपमा खुला गरिएको छ। तर दरबारभित्र हेर्दा भने खासै सामग्री देखिँदैन। केही कलाकृति, मगर र नेवार जातिले प्रयोग गर्ने सामग्री, नेपाली सेनाको गौरव दर्शाउने चिजवस्तुमै सीमित भएको छ।

पाल्पा तानसेनको हुलाक मार्गमा रहेको यो विशाल दरबार पाल्पाको इतिहास प्रदर्शन गर्ने गतिलो प्रमाण हो। यो दरबार मिनी सिंहदरबारका रूपमा पनि चिनिन्छ। विसं १९८३ मा प्रतापशमशेर राणाले बेलायती शैलीमा यो दरबार निर्माण गरेका थिए। दरबारको डिजाइन निर्माण बेलायती इन्जिनियरले गरेका थिए। प्रतापशमसेरको मृत्युपछि यो दरबार प्रयोगविहीन भयो। २०१५ सालमा राजा महेन्द्रले प्रशासनिक कार्यालयका रूपमा यसलाई प्रयोगमा ल्याए। त्यसपछि २०६२ सालसम्म पाल्पा दरबार सरकारी कामकाजमा प्रयोग भएको थियो। यही दरबारमा जिल्ला प्रशाशन कार्यालय, नापी कार्यालय, मालपोत कार्यालय लगायतका कार्यालय सञ्चालनमा थिए।

विसं २०६२ माघमा माओवादी आक्रमण भएपछि दरबार पूर्ण रूपमा क्षतिग्रस्त भयो। आक्रमणको १५ वर्ष पुगिसक्दा पनि दरबार पूर्ण रूपमा बनिसकेको छैन। बाहिरबाट चिटिक्क देखिने दरबारमा सेतो र रातो रङ पोतिएको छ। चारैतिर कलात्मक तरिकाले बनाइएको दरबारको बीचमा प्रतापशमशेरको सालिक स्थापना गरिनेछ। यसलाई पुरानै शैलीमा निर्माण गर्न केही पहल गरिएको देखिन्छ।

सुरुमा पुरातत्व विभागले आफ्नो कार्यक्षेत्रमा लिएको यो दरबार केही समय नगरपालिकाको जिम्मामा समेत आयो। तर कसैले पनि दरबारलाई पूर्ण आकारमा ल्याउन सकेनन्। गत वर्षदेखि प्रदेश संग्रहालयका रूपमा प्रदेश सरकारले नै बजेट छुट्ट्याएर यसको निर्माण भइरहेको छ।

दरबार परिसरमा एकातिर भेटिन्छन्, सार्वजनिक पार्किङमा रहेका सवारी साधनहरू। अर्कोतिर प्रहरी कार्यालय, पछिल्लो साइडमा रङरोगन गर्दै गरेका कामदार, दरबारभित्रका कोठाहरू पनि रित्ता छन्। दरबारको सुरक्षामा सदैव तम्तयार भएर अडिग रहने कलात्मक मूलढोका आडभरोसा र सहाराको आशामा ढलिरहेको छ। प्रदेश सरकारको जिम्मामा परेको संग्रहालयको योजनामै पर्न सकेको छैन मूलढोका निर्माणको काम।

संग्रहालयभित्र छिर्दै गर्दा विशाल आकारको फलामे कराही देख्न सकिन्छ। यो कराही अंग्रेज र गोर्खा सैनिकबीच बुटवलको जितगढीमा भएको युद्धमा गोर्खाली सेनाका लागि घिउ तताउन प्रयोग गरिन्थ्यो। यसका साथै भोटेताल्चा, खुर्पेटो, मुंग्रो, चिम्टा, मगर समुदायको पुरानौ शैलीको भान्छा, युद्धमा प्रयोग गरिएको तोप र यसका गोलीहरू, टिछु, बाँसुरी, काठका भाँडाकँडा, परम्परागत हलो लगायतका सामग्री छन्। दरबारलाई पुरानै शैलीमा निर्माण गर्न भक्तपुरबाट इँटा ल्याइएको हो भने ढलानमा पनि चुना, सुर्की र गिट्टी मिसाइएको थियो।

पाल्पा दरबार संग्रहालय सञ्चालनका लागि प्रदेश सरकारले जिल्ला वन कार्यालयका प्रमुखलाई नै जिम्मेवारी सुम्पिएको छ। जिल्ला वन कार्यालयका प्रमुख मोहन पौडेलका अनुसार दरबारको पुनर्निर्माण र संग्रहालयको निर्माण लगभग अन्तिम चरणमा पुगेको छ। भवन निर्माणको काम सकिएको र संग्रहालयको सेटिङ, गार्डेन व्यवस्थापन, दरबारको जग्गा बारबन्देज गर्ने लगायतका काम बाँकी छन्। भवनभित्रका कार्यहरू धमाधम सम्पन्न भइरहेका छन्। चारैतिर फैलिएको दरबारको बीचमा खुला गार्डेन निर्माण गरिने भएको छ। बीचमा प्रतापशमशेरको सालिक स्थापना गरिनेछ।

संग्रहालय बनाउन संस्कृतिविद्, पुरातत्व विज्ञ र सम्पदा संरक्षकहरूको टोलीले ‘मास्टर प्लान’ बनाएको थियो। योजनाअनुसार प्रदेशस्तरको यो संग्रहालय तेस्रो तलासम्मको हुनेछ। यसको भुइँ तलामा पाल्पाको चिनारी, प्रदेश चिनारी लगायतका सामग्री राखिनेछ। पहिलो तलामा पाल्पाली संस्कृति र गौरवका महत्वपूर्ण वस्तुहरू संकलन हुनेछ। तेस्रो तलामा नेपाली सेनासँग जोडिएका गौरवका सामग्री र पुराना हातहतियार प्रदर्शन गरिनेछ। सम्भव भएसम्म पाल्पाली उजिर सिंहको जीवनी, सेनवंशीय राजाहरूको चिनारी पनि समावेश गर्ने योजना छ।

पुरातत्व विभागको निर्देशनअनुसार बनेको संग्रहालयमा सांस्कृतिक पुरातात्िवक सामग्री प्रयोग गरिएको छ। इतिहासको महत्वपूर्ण विषयका रूपमा रहेको पाल्पा दरबार संग्रहालयको जग्गा कति हो भनेर अहिलेसम्म निक्र्योल भइसकेको छैन। यसैकारण पनि वरिपरि तारजाली लगाउन र मूल ढोकाको काम गर्न नसकिएको जानकारी पौडेलले दिए। उनका अनुसार प्रदेश सरकारले भवनभित्रको काम सकाउन निर्देशन दिएकाले भवनबाहिरको काम अगाडि नबढेको हो। दरबार जलेको लामो समय भइसक्दा पनि पूर्णतया नबन्नुमा प्रशासनिक तथा व्यवस्थापकीय कमजोरी रहेको उनले स्वीकार गरे। कहिले बजेटको अभाव, कहिले संघसंस्था परिवर्तन भइरहने हुनाले पनि केही ढिलो भएको बताए।

संग्रहालय पूर्ण रूपमा तयार नभए पनि दुई वर्षअगाडि नै सर्वसाधारणलाई खुला गरिएको छ। पौडेलका अनुसार पाल्पा घुम्न आउनेलाई दरबारमा जे छ त्यही भए पनि देखाउने मनशायले खुला गरिएको हो। पौराणिक महत्वका कतिपय सामान पुनर्निमाण गरिएको र कतिपय स्थानीय व्यक्तिहरूबाट संकलन गरिएको जानकारी उनले दिए।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.